कन्स्ट्रक्सन होलिडे

देशभरका पाँच हजार निर्माण परियोजनाको काम ठप्प

माग पूरा नभएसम्म काममा नफर्किने नेपाल निर्माण व्यवसायी महासंघको चेतावनी

निर्माण व्यवसायीहरूले आजबाट निर्माण परियोजना ठप्प पारेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले कन्स्ट्रक्सन होलिडे गर्दै निर्माणको काम बन्द गरेका हुन् ।

निर्माण सामग्रीमा बढेको मूल्यानुसार परियोजनाको बजेट समायोजन गर्नुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका हुन् । मूल्यवृद्धि सम्बोधन, बिमा निर्देशिका खारेजी र सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग गर्दै व्यवसायीहरू आन्दोलित छन् ।

महासंघको नेतृत्वमा उनीहरूले बिमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् । आजदेखि निर्माण कार्य बन्द गरिएको र माग पूरा नभएसम्म काममा नफर्किने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । मूल्यवृद्धि स्थिर नभएसम्म वा सरकारले भएको मूल्यवृद्धि सम्बोधन नगरेसम्म कन्स्ट्रक्सन होलिडे जारी रहने उनको भनाइ छ ।

‘यसअघि समय दिएर संवाद गरेका पनि थियौँ, सम्बोधन हुन्छ भनियो । तर, अलमल्याउने काम मात्रै भयो । हामी आन्दोलनमा जान बाध्य भयौँ,’ उनले भने । परियोजना सुरु गरेको बेलामा र अहिले निर्माण सामग्रीको मूल्य निकै बढेकाले बढेको मूल्यमा समायोजन गरिनुपर्ने उनीहरूको माग छ ।

‘असोजमा प्रतिकिलो ८० रुपैयाँ परेको डण्डीको मूल्य बढेर १३५ रुपैयाँ पुगिसक्यो,’ उनले भने, ‘अहिले हामीले निर्माण सामग्री खरिद गरेको मूल्य र तत्कालीन हामीले सम्झौता गरेको बेलाको मूल्यमा १० प्रतिशत छोडेर मूल्य समायोजन गरिनुपर्ने हाम्रो माग हो ।’

यस्तो किसिमको समस्या ०६५ सालमा पनि भएको र त्यो बेला मूल्यवृद्धि निर्देशिका जारी गरेर बढेको मूल्यको समायोजन गरेको उनले बताए । यस्तै, बिमा समिति बिमा कम्पनीहरूको प्रलोभनमा परेर बिमा निर्देशिका जारी गरेको आरोप पनि महासंघको छ । जारी भएको निर्देशिका खारेजीमा माग पनि उनीहरूको छ ।

‘खुला बजार अर्थनीतिविपरीत अधिकतम खुद्रा मूल्यमा क्याप राख्नुपर्नेमा न्यूनतम खुद्रा मूल्यमा क्याप लगाइएको छ । यतिभन्दा कम मूल्यमा आयोजनाको बिमा गर्न नपाउने भन्ने छ,’ उनले भने, ‘सबै बिमा कम्पनीहरूको मूल्य एउटै छ । यसले प्रतिस्पर्धा गर्नबाट वञ्चित गरेको छ । त्यो मूल्य प्रतिस्पर्धाको मूल्यभन्दा ८ गुणा बढी छ ।’

यसैगरी, सार्वजनिक खरिद विनियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग पनि उनीहरूको छ । ‘यी तीनवटा हाम्रा प्रमुख मागहरू हुन् । यी माग सम्बोधन नभएसम्म आजदेखि कन्स्ट्रक्सन होलिडे सुरु चएको छ,’ सिंहले भने ।