विद्युत् आपूर्तिमा गैरजिम्मेवारी

बाँकेमा अघोषित लोडसेडिङ, नागरिकलाई सास्ती, जनजीवन कष्टकर

बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् ।

केही समययता बढेको अत्याधिक गर्मीका बीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको स्थानीयहरु बताउँछन् ।

सरकारले देशलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगन्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ अन्त्य नभएको नेपालगन्जबासीको गुनासो छ ।

विद्युतमा भैरहेको अघोषित लोडसेडिङका बारेमा पटक पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत विद्युत अनियमिततमा सुधार नभएको स्थानीयहरु बताउँछन् ।

बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवि ओलीले बताए ।

उनले विद्युत अनियमित हुँदा एकातिर गर्मीको बेला स्थानीयलाई समस्या भएको र अर्कोतिर उद्योग व्यवसायमा पनि अत्याधिक नराम्रो प्रभाव परेको बताए ।

विद्युत समस्याकै कारण अधिकांश उद्योगले आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य भएको गुनासाहरु दैनिजसो संघको कार्यालयमा आइरहेको उनले बताए ।

यस्तै, नेपालगन्जबासी विवेककुमार श्रेष्ठले दिनदिनै जतिबेला मन लाग्यो त्यतिबेला विद्युत कटौती गरिने गर्दा नेपालगन्जवासी हैरान बनेको बताए ।

उता, विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले नेपालको लाइनबाट विद्युत आपूर्तिमा लोडका कारण समस्या भैरहेकाले विद्युत अनियमित हुने गरेको वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले बताए ।

उनले सो आपूर्ति सिस्टमबाट हुने गरेकाले अलिकति लोड बढ्ने वित्तिकै सिस्टमबाटै विद्युत आपूर्ति बन्द हुने गरेको जनाउँदै त्यसका लागि कोहलपुरमा थप उपकरण जडान गरिएकोले समस्या समाधान हुने बताए ।

प्रमुख प्याकुरेलका अनुसार नेपालगन्जमा भारतीय क्षेत्रबाट १० मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट २० मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको भए पनि राष्ट्रिय प्रसारण लाइनबाट हुने आपूर्तिमा सिस्टमबाटै समस्या भैरहेको छ ।

गर्मीका बेला हरेक वर्ष नेपालगन्जको विद्युत आपूर्तिमा यस्तै समस्या हुँदै आए पनि यसको दीर्घकालीन निकासका लागि ठोस काम हुन सकेको छैन ।