साहित्य

‘हुरीको मौसम चलेछ रे’

गजल – एक

मिल्ने भए फलामको जन्जिर बनाई कस्थे प्रिय ।
‘जोगन’ म तिम्रो नामको, उपमा बनाइ बस्थे प्रिय ।।

मिरा मगन् भइन् किन ? कृष्णलीला अपार रैछ ।
सत्य बक्ने ठाउँ छ भने मठमन्दिरमा पस्थे प्रिय ।।

कुन् शब्दले मेटिएला ? उर्लिएका प्रेमका भावहरु ।
उनेर छन्दमा, स्वर्णिम् अक्षांशले रचना रच्थे प्रिय ।।

हिरामोती जुहारले परमानन्द मिल्थ्यो भने, म त ।
खोजीखोजी ब्रह्माण्डको अमुल्य रत्न किन्थे प्रिय ।।

मिल्ने भए फलामको जन्जिर बनाई कस्थे प्रिय ।
‘जोगन’ म तिम्रो नामको, उपमा बनाई बस्थे प्रिय ।।

गजल – दुई

इज्जत सम्हाल, हुरीको मौसम चलेछ रे ।
उन्मत्त जवानी साँच्चै उमेरसँग ढलेछ रे ।।

मौसम प्रतिकुल नै छ भन्छन् हिजोआज ।
भ्रामक समाचारले नै दुनियाँ छलेछ रे ।।

मैमत्त अहंकार नगर भो अमर हुन्छु झैं ।
खोक्रो आडम्बर पनि चितासँगै जलेछ रे ।।

मनस्थितिसँगै परिस्थिति बदलिँदा यहाँ ।
चन्द्र झैं मुहार उनको धपक्क बलेछ रे ।।

मुस्कानसहित पोखेका ती झुठा शब्दमा ।
झल्कियो प्रष्ट आतदेखि जरा नै गलेछ रे ।।

गजल – तीन

सत्य ढाकछोप् गरि पलमै छल गर्नेहरु पनि छन् ।
छुरा धस्छन् र के भो भनी, अघि सर्नेहरु पनि छन् ।।

प्रयोग गर्छन जाली शब्द, मुस्कान छरीछरी हेर्नुस् ।
चोट दिन्छन् अनि घाउमा मलम भर्नेहरु पनि छन् ।।

पलपलमा बाचा तोड्दै, बाटो मोड्दै हिँड्छन् कति ।
विश्वासको गला रेट्दा, नजरबाट झर्नेहरु पनि छन् ।।

महत्वाकांक्षा गगन चुम्ने, नियतिले छल गर्दा खेरी ।
सपनाको सागर तर्दा तर्द, बीचमै मर्नेहरु पनि छन् ।।

मन मुटु साट्छन् एक भई, बाचा कसम कति कति ।
झुटो पिरतीको खेलमै डुब्दा, चीर हर्नेहरु पनि छन् ।।