‘स्मृति’का चार गजल

रोगीझैं गलायौं किन तिमीले ?

गजल – एक

पागल बनायौं किन तिमीले ? यसै मर्छु म ।
जिउँदै जलायौं किन तिमीले ? यसै मर्छु म ।।

लालीमय रङ्ग छर्दै, रङ्गाउँछु सिउँदो भनी ।
सपना देखायौं किन तिमीले ? यसै मर्छु म ।।

मिठा–मिठा बातसँगै, तीर नजरको मारी ।
छुरा नै चलायौं किन तिमीले ? यसै मर्छु म ।।

कुन रोगले ग्रस्त मन भो, तिम्रै झल्को अति ।
रोगीझैं गलायौं किन तिमीले ? यसै मर्छु म ।।

रित्तो गरि मन मेरो, लग्यौं सारा खुसी जति ।
विक्षिप्त गरायौं किन तिमीले ? यसै मर्छु म ।।

गजल – दुई

सारङ्गीको धुनसँगै आज, नाच्न मन लाग्यो ।
एउटै कम्मर पाँच ठाँउ भाँच्न मन लाग्यो ।।

पुनर्जन्म हुन्छ भन्छन् चाहिँदैन कत्ति पनि
यहीँ जुनी साथ देउ, सँगै बाँच्न मन लाग्यो

पिर ब्यथा नहुँदो त, सुन्दर सृष्टि हुने थियो ।
पीडा लुकाई खुसी सबै, साँच्न मन लाग्यो ।।

आँगनमा फुलबारी मनमा माया सजाउँला ।
प्रीतिको सुन्दर माला, लौ गाँस्न मन लाग्यो ।।

मायाको चाप बढ्यो, भन्छौं मापन हुन्छ हुन्न ।
कुन स्केलले नाप्दो रहेछ, जाँच्न मन लाग्यो ।।

गजल – तीन

जहर हैन हरपल, अमृत पिएर त हेर ।
मरण अवस्य छ, पहिला जिएर त हेर ।।

अथक प्रयास गर्छन् नि डुबाउन यहाँ ।
तिमी हृदयको सागरमा तैरिएर त हेर ।।

नटुट्ने हैन मन, टुट्छन् जुट्छन् पनि ।
मायारुपी सियो धागोले सिएर त हेर ।।

भोलि कस्ले देख्या छ र जीवन आज छ ।
सुखदुःख साट्न यो मन लिएर त हेर ।।

स्वार्थको भुमरीमा अल्झिएकाहरु माझ ।
प्रेमको दियो जलाऔं साथ दिएर र हेर ।।

गजल – चार

मागेर पाउने भए माग्थे तिम्रो साथ रहन मन्जुर थिए म ।
आइपरेका हर समस्यासँग, सामना गर्न मन्जुर थिए म ।।

भोक मेटाउन चौरासी व्यञ्जन, चाहिँदैन थियो मलाई ।
तिमीसँगै भोकै, एकछाक खाएर बस्न मन्जुर थिए म ।।

सुखसयलको भरिपूर्ण जिन्दगी, चाहिँदैन थियो मलाई ।
लाज छोप्नलाई, फाटेको चोली लगाउन मन्जुर थिए म ।।

तिमीसँगै हातमा हात काधमा काँध राखेर हिँड्न पाए ।
कडा परिश्रम मेहनतले, पहाड फोड्न मन्जुर थिए म ।।

सुत्नलाई बाक्लो शिरक डसना, चाहिँदैन थियो मलाई ।
परालको गुन्द्रीमा मिठो निन्द्रा पुराउन, मन्जुर थिए म ।।

तिमी बिनाको सम्पन्नता, कत्ति नि चाहिँदैन थियो मलाई ।
काँधमा कोदालो पिठ्युँमा भारी बोक्न, मन्जुर थिए म ।।