ब्लग

डेभिड क्यामरून र हाम्रा पूर्वप्रधानमन्त्रीहरू

हामी कहाँ बाँचेका जति पूर्वप्रधानमन्त्री सबै भीआइपी, सबै नेता, सबै विज्ञ, सबै खानका काल र सबै क्षुद्र गालीगलौजका खानी जस्ता देखिन्छन् ।

सबैलाई कुर्सी चाहिएको छ, मानसम्मान चाहिएको छ, भागबण्डा चाहिएको छ । आफूचाहिँ जिउँदै व्यक्तिलाई श्रद्धाञ्जलि दिन्छन्, विपक्षी व्यक्तिलाई गिद्ध भन्छन् तर मिडियाले तिमी भनेर सम्बोधन गर्दा तिनलाई रीस उठ्छ ।

यो तस्बीरमा, बेलायतका पूर्व प्रधानमन्त्री डेभिड़ क्यामरून युक्रेनका लागि रेडक्रसको राहत सामग्री बोकेको ठूलो ट्रक चलाएर बेलायतबाट पोल्याण्ड जाँदैछन् । यतिबेला बेलायत र युरोपमा ट्रक–ड्राइभरको ठूलो अभाव छ । हाल ५६ वर्षका क्यामरून ६ वर्षअघिसम्म बेलायतका शक्तिशाली प्रधानमन्त्री थिए ।

उनकै नेतृत्वमा १३ वर्ष शासन गरेको लेबरलाई पराजित गर्दै कन्जरभेटिभ पार्टी सत्तामा आएको थियो । अक्सफोर्ड विश्वविद्यालयका छात्र रहेका क्यामरूनको व्यक्तित्व र बोल्ने शैली गज्जबको थियो । पार्टी कन्जरभेटिभ भए पनि उदारवादी धारका क्यामरूनकै पालामा दुईवटा मुख्य जनमत सङ्ग्रह भए ।

१. युकेभित्र रहेका ४ वटा देशमध्ये एक स्कटल्याण्डमा स्वतन्त्र बन्ने राजनैतिक मागहरू थिए । २०१४ मा उनले स्कटल्याण्ड बेलायतमैं रहने कि स्वतन्त्र देश बन्ने भन्नेमा जनमत सङ्ग्रह गर्ने घोषणा गरे । यो ‘एक–देश’को नीति लिनेहरूका लागि ठूलो आश्चर्य थियो । जनमत सङ्ग्रहमा बेलायतभित्रै रहने भन्नेमा बहुमत आयो । उनले एक–देशकै पक्षमा क्याम्पेन गरेका थिए ।

२. बेलायतले युरोपियन युनियनको सदस्यता छोडेर स्वतन्त्र बन्नुपर्ने माग थियो । उनले त्यसमा पनि जनमत संग्रहको घोषणा गरे । उनी व्यक्तिगत रूपमा ईयुको पक्षमा थिए । तर पार्टीलाई यही पक्षमा भोट हाल्नुपर्छ भन्ने बाध्यता थिएन । जनमत संग्रहको परिणाम बाहिरिने (ब्रेग्जिट)का पक्षमा आयो । यो दलको निर्वाचन थिएन ।

उनको दल बहुमतको सरकार चलाउँदै थियो र उनलाई कसैले राजीनामा मागेको थिएन । तर उनले आफ्नो विचारभन्दा फरक जनमत आएकाले त्यस्तो जनमतलाई शासन गर्न आफ्नै पार्टीभित्र अरू बढ़ी योग्य रहेको भन्दै आफै राजीनामा दिए । बेलायतमा अहिले उनकै पार्टीको सरकार छ ।

तर सन् २०१६ मा करिब ५० वर्षको उमेरमैं राजीनामा दिएका उनले त्यसयता कुनै राजनैतिक टिप्पणी गरेको सुनिएको छैन । कुनै दिन झण्डा बोकेर कसैको समर्थन र विरोधमा बोलेको सुनिएको छैन । आफ्नै या विपक्षी दलका नेतालाई कुकुर, गिद्ध, स्याल, दलाल या कुर्सीवादी भनेर गाली गरेको सुनिएको छैन ।

कुनै निर्वाचन नै नलड्ने भएपछि पार्टीभित्र गुट चलाउने त कुरो नै भएन । उनले प्रधानमन्त्री निवास छोड्दै गर्दा आफै सामान प्याक गरेर गाड़ीमा लोड गरेको तस्बीर बाहिर आएको थियो । उनी आम बेलायतीले जस्तै सामान्य जीवन बिताउँछन् । युक्रेनमाथिको रसियन आक्रमणमा उनले राजनैतिक भाषण र टिप्पणी गर्दै हिँडेका छैनन् ।

त्यो बेलायती सरकारको काम हो र उनी सरकार होइनन् । हातहतियार त सेनाका ट्रक र जहाजले बोकिहाल्छन् । तर अत्यावश्यक राहत र मानवीय सामान बोक्ने ट्रक र खासगरी ड्राइभरको सङ्कट रहेको बेला उनले रेडक्रसका लागि ड्राइभरको काम गर्न तैयार भए । आश्चर्यजनक के छ भने यत्रो शक्तिशाली देशका पूर्वप्रधानमन्त्री भए पनि उनको ट्रकको अघिपछि सुरक्षाकर्मी साइरन बजाउँदै हिँड्दैनन् ।

आम ड्राइभरले जस्तै उनी एक्लै सीमा पार गर्नेछन् । र उनलाई सय किलोको फूलमाला बोकेर स्वागत गर्ने बेरोजगार कार्यकर्ता पनि त्यहाँ हुने छैनन् । कसैले देख्यो र चिन्यो भने ‘हेलो डेभिड़’ भन्नु अलग भयो । हामी कहाँ बाँचेका जति पूर्वप्रधानमन्त्री सबै भीआइपी, सबै नेता, सबै विज्ञ, सबै खानका काल र सबै क्षुद्र गालीगलौजका खानी जस्ता देखिन्छन् ।

सबैलाई कुर्सी चाहिएको छ, मानसम्मान चाहिएको छ, भागबण्डा चाहिएको छ । आफूचाहिँ जिउँदै व्यक्तिलाई श्रद्धाञ्जलि दिन्छन्, विपक्षी व्यक्तिलाई गिद्ध भन्छन् तर मिडियाले तिमी भनेर सम्बोधन गर्दा तिनलाई रीस उठ्छ । अनि उदेक लाग्दो त तिनकै पाउमा लड्ड़ू चढ़ाएर प्रसाद खाने युवापुस्ता छ । यसो सोच्नुस् त, हाम्रा पूर्वप्रधानमन्त्रीहरू मात्रै डिलिट हुने हो भने हाम्रो राजनीतिको आधा फोहोर यसै डिलिट हुन्नथ्यो र ? (फेसबुकबाट)