ब्लग

फेरि उहीरुपमा पुग्दैछ, मान्छे पशुजस्तै !

आशा निराशामा रूपान्तर भइरहेको छ । सरकार सुतिरहेको छ । हामी नागरिक तमासे बनिरहेका छौं ।

अहिले सर्वत्र विरोधको आवाज बुलन्द भएपछि पौडेल पक्राउ त परेका छन् । तर, फेरि पनि उनी छुट्न सक्छन् । ‘मिलापत्र’ गराउन पार्टीका तर्फबाट सांसद र मन्त्रीहरू नै जालान् । किनकि, यिनीहरूलाई अन्यायमा परेकालाई न्याय दिलाउनुभन्दा आफ्नो भोट बैंक सुरक्षित गर्नुछ ।

ज्ञान र विज्ञानको युग अर्थात २१ औं शताब्दी । चन्द्रमामा मान्छेले पाइला टेकेको त धेरै भइसक्यो । वैज्ञानिकहरू पृथ्वी असुरक्षित भयो भन्दै सुरक्षित वासस्थानको लागि अर्कै ग्रहमा बसाईं सर्ने विकल्पको खोजी गर्दैछन् । उफ ! मेरो देशमा भने बोक्सीको आरोपमा मान्छे कुटेर मारिँदैछ । छाउपडीको नाममा छोरी–चेलीको ज्यान जाँदैछ ।

दाइजोका नाममा दिनदाहडै बुहारीहरूमाथि मट्टीतेल खन्याएर आगो लगाइँदैछ । शिक्षकद्धारा विद्यार्थी बलात्कृत हुन पुगेका छन् । मानव अधिकारकर्मीहरू कुर्लिएको कुर्लिएकै छन्, सरकार कानुन बनाएको बनाएकै छ । तर समाजमा यस्ता मानवता बिरोधी हिंस्रक घटनाहरू घटेको घटेकै छन् ।

कानुन बनाउनु ठूलो कुरा होइन । शहरका सुविधा सम्पन्न होटलदेखि सडक पेटीसम्म सेमिनार, गोष्टी र बिरोधसभा गर्नु पनि ठूलो कुरा होइन । मुख्य कुरा त कानुनको प्रभावकारी कार्यान्वयन र समस्याग्रस्त समाजमा गएर चेतना सिर्जना गर्नु हो । ज्ञान विज्ञानले मान्छेलाई उन्नत बनाउँछ । मानवताले ओतप्रोत गराउँछ । समाज समृद्ध र विकसित हुन्छ ।

अन्धविश्वासले मान्छेलाई मानवताहीन हिंस्रक पशु बनाउँछ । समाज संकीर्ण र विघटन हुँदै जान थाल्छ । आजको विकसित देशहरू पनि अन्धविश्वासको चक्रहरू तोट्दै त्यहाँ पुगेका हुन् । देश विकासका लागि खासगरी राज्य, राजनीतिक पार्टी, नागरिक समाज र नीजि क्षेत्रले आ–आफ्नो दायित्व पुरा गर्नुपर्दछ । यी चार पक्षहरूमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष राज्य हो । बिडम्बना हाम्रो देशमा सबैभन्दा कमजोर राज्य नै देखिएको छ ।

राज्य समयानुकूल कानुन बनाउन सक्दैन । बनाएको कानुन पनि कडाइपूर्वक कार्यान्वयन गर्न सक्दैन । जब राज्य निरिह र कमजोर बन्छ, तब त्यो देशको नागरिक छाडा बन्दै जान्छ । अन्याय गर्नेहरूले देशलाई बन्धक बनाउँदै लैजान्छ अनि अन्यायमा पर्नेहरू समाजको पीँधमा पुरिँदै जान्छ । शिक्षक, समाजको ज्योति हो । उसले प्रज्वलन गर्ने हरेक दीपले समाजमा प्रकाशमय सूर्य उदाउन सक्नुपर्छ । सूर्य उदाउनुअघि धर्तीमा अन्धकारकै साम्राज्य हुन्छ ।

उफ ! मेरो देशको शिक्षक के हो ? प्रकाश हो कि अन्धकार ? देवता हो कि राक्षस ? कोही शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गर्दै हिँड्छन् । कोही शिक्षक प्रश्नपत्र बेच्दै हिँड्छन् । कोही शिक्षक चिट चोराउँदै हिँड्छन् । हुँदाहुँदा अब त बोक्सीको आरोपमा दिसा खुवाएर पिटीपिटी मान्छे नै पो मार्न थालेछन् । रिसानी माफ गर्नुस् आदरणीय गुरू वर्ग ! मैले हजुरहरूलाई होच्याउन र बदनाम गर्न खोजेकी होइन ।

तर ज्ञान बाँड्ने र विज्ञान सिकाउने कतिपय गुरूहरू नै हिंस्रक पशु बनेपछि आक्रोश त जन्मने नै रहेछ । मैले यहाँ राजनीतिको कुरा गर्न लागेकी होइन । कुरा गर्न लागेको ‘मोरड– लेटाड’को घटना हो । मनोज पौडेल शिक्षक नभएर शिक्षकको नाममा कलंक हो । मनोज पौडेल सामाजिक शिक्षा पढाउने शिक्षक रहेछन् । यस्ता सामाजिक शिक्षकले के पढाए होलान्, भविश्यका कर्णधार बालबालिकाहरूलाई ? के संस्कार सिकाए होलान् यिनले ?

आदरणीय गुरू वर्ग र सरकारप्रति मेरो विनम्रतापूर्वक आग्रह छ, पौडेलजस्ता शिक्षकहरूलाई साविकको कानुनी कार्बाहीमात्र नभएर थप कार्बाही हुनुपर्छ । र, कानुनी कार्बाहीको अतिरिक्त तुरून्तै पेशाबाट अयोग्य घोषित गर्दै, यस्ता शिक्षकहरूले सेवाबापत प्राप्त गर्ने पेन्सन, उपादान सबै खारेज गर्नुपर्छ । समाजले पनि सामाजिकरूपमा बहिस्कार गर्ने आँट गर्नुपर्छ । अहिले सर्वत्र विरोधको आवाज बुलन्द भएपछि पौडेल पक्राउ त परेका छन् । तर, फेरि पनि उनी छुट्न सक्छन् ।

‘मिलापत्र’ गराउन पार्टीका तर्फबाट सांसद र मन्त्रीहरू नै जालान् । किनकि, यिनीहरूलाई अन्यायमा परेकालाई न्याय दिलाउनुभन्दा आफ्नो भोट बैंक सुरक्षित गर्नुछ । जस्तोसुकै दवाब, जोसुकैबाट आए पनि अपराधीले उन्मुक्ति नपाओस् । अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्बाही होस् । म सरकारलाई खबरदारी गर्न चाहान्छु । अपराधीको संरक्षण गर्ने पनि अपराधी नै हो । तसर्थ, उनीहरूलाई पनि कानुनको दायरामा ल्याई कार्बाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछु ।

धन्य हाम्रो समाज !

गत फागुन ११ गते लेटाङमा एक बालिकाको बलात्कारपछि बिभत्स हत्या भयो । त्यसको १६ दिन नबित्दै फेरि सुन्दरहरैचा १८ महिनाकी शिशुको अपहरण गरी बलात्कार र हत्या गरियो । अर्कोतर्फ एउटा चेलिलाई न्याय दिलाउन आफ्नो कर्तब्य पुरा गर्ने क्रममा अर्कों चेलिले ज्यान गुमाउनुपरेको छ । हे भगवान ! सुन्दामात्र पनि आंग सिरिङ्ग भएर आउँछ । दिनदिनै समाजमा घट्ने यस्ता अमानवीय, अक्षम्य र क्रुर अपराधहरुका घटनाले चटक्कै मुटु चुँडिने खबर सुन्दा आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने गर्दछ ।

आफ्नो घर–परिवारबाट टाढा रहेर दिनरात आफ्नो स्वाथ्यको ख्याल नगरी धुलोमैलो, घामपानी, जाडोगर्मीको प्रवह नगरी गाली र हेलत्व सहँदै राष्ट्रप्रति ज्यान हत्केलामा राखेर योगदान दिनु हुने सदैव जनताप्रति समर्पित राष्ट्र सेवक प्रहरीमाथि क्रुर घटना भएको छ । हाय मेरो समाज ! यसरी समाजमा कसरी मानवीय मूल्य स्थापित होला ? कतै यो समाज पाषाण युगतिरै त फर्कँदै छैन ? भावी पुस्तालाई कस्तो संस्कृति छाडेर जाँदैछौं ? मान्छेमा नैतिकता स्खलित भइरहेको छ । मानवता मरिरहेको छ ।

आशा निराशामा रूपान्तर भइरहेको छ । सरकार सुतिरहेको छ । हामी नागरिक तमासे बनिरहेका छौं । अझ यसो भनौं, हामी सबै आ–आफ्नो स्वार्थमा ब्यस्त छौं । आ–आफ्नै खुसीमा मस्त छौं । आजकल आफूजस्तै अरू मान्छेको दुःखले हाम्रो मुटु दुख्दैन । पीडा र वेदनाले हाम्रो मन रूँदैन । मानौं हामी मान्छे होइनौं, चौरास्ताको शालिक हौं । पहिल्यै जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । फेरी उही रुपमा पुग्दैछ मान्छे ! सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन सवै तोडेर साँच्चै नै आजको मान्छे निर्बस्त्र हुन लाग्यो । पशुजस्तै !! (फेसबुकबाट)