संस्कृति/परम्परा

थारू समुदायमा हराउँदै झाँगा विवाह

विवाहका लागि दुलहा वा दुलही पाउन अप्ठ्यारो परे के गर्ने ? नवलपुरका थारू समुदायमा एउटा गज्जबको चलन थियो, झाँगा विवाहको । यो खासमा सट्टापट्टा विवाह हो । कुनै घरबाट बुहारी ल्याउदा त्यही घरका योग्य वरलाई आफ्नो छोरी दिने परम्परा । झाँगा विवाह पनि मागी विवाह अनुसार नै गरिन्छ ।

एक जोडीबीच सम्बन्धमा खराब हुँदा अर्को जोडीको सम्बन्धमा पनि पनि असर गर्ने भएकोले यो विवाहको चलन हराउँदै गएको छ । थारूहरूमा प्रायःजसो मागी विवाह प्रचलनमा छ । त्यस्तै झाँगा, घरवैठी, उह्ररी, विधवा विवाहलगायतका विवाह पनि प्रचलनमा रहेको छ । थारू समाजमा महिलाको स्थान उच्च मानिने हुनाले दुलही पाउनलाई दुलहीको घरमा दुलहा पक्षका मानिसहरूले फकाउने फुलाउने गर्दछन् ।

त्यसैले थारूमा उखान छ, ‘जेकर दुलहीक चाह बा, उ लडिया पौंह्रके जैबे करी’ (जसलाई दुलही चाहिन्छ उनै गाडा चढेर जान पर्छ ।) तर अहिले आएर केटी दिन जाने चलन बढेको छ । उमेर पुगेपछि केटापक्षबाट केटी पक्षका अभिभावक कहाँ विवाहको कुरा चलाइन्छ । कुरो मिलेमा दुवै पक्षका आमा बुबाको राजीखुशीमा गरिने विवाह नै मागी विवाह हो । केटा पक्षबाट केटीपक्षमा कुरो मिलाउने लमी व्यक्तिलाई अगुवा भनिन्छ ।

विवाहको कुरो मिलेपछि टीकाटालो गरिने बिधिलाई ‘ठोकठाक खाने’ भनिन्छ । विवाहको निम्तो गर्दा हुने खाने परिवारका थारूहरूबाट सुपारी र गरिब घरपरिवारका थारूहरूबाट हरदीक् गाँठ (हलेदो) बाँड्ने प्रचलन थियो । तर हाल आएर यो प्रचलन हराई कार्ड बाँड्ने प्रचलन बढ्दै गएको छ । विवाहको पहिलो दिनलाई ‘दिउली दरना’ भनिन्छ भने दोश्रो दिनलाई बरात जैना र अइना दिन (जन्ती जाने र आउने) भनिन्छ ।

त्यो दिन बेलुकी दुलहा, दुलही दुबै घरका महिलाहरु जाँतोमा दाल पिस्छन् । झलारीहरू माँगर(विवाहमा गाइने मंगल गीत) गाउँछन् । दिउली दरनाको रातभरी घरमूलीले देहुरार कुलदेवताकहाँ कलशमा दीयो बाल्छन् । अर्को दिन विहान दिउली धुनको लागि नदी घाटमा लगिन्छ । त्यसैगरी दुलहातर्फ जन्तीको लागि केही झलारीहरू डोली तयार पार्दछन् । दुलहा र शैभलवा (दुलहाको भाई) कपाल कटाएर केही साथीहरूलाई लिई नदीमा नुहाउन जान्छ ।

नदीमा नुहाउनुको साथै बर्छी (भाला) मा झुन्ड्याउनको लागि माछा मारेर ल्याउने प्रचलन रहेको छ । खाना खाइसकेपछि दुलहालाई पोशाक लगाउनु पूर्व गुरूवाबाट डेलवा (ढकिया) मा राखेको कपडा साज्ने (मन्त्र जप्ने) कार्य गरिन्छ । दुलहालाई पोशाक लगाउदा पनि झलारीहरू माँगर गाउने प्रचलन रहेको छ ।

‘हाँसी हाँसी दुलहा बुकुवा लगाई लेउ दुल्हु भैया बुकुवा लगाई हमहुँ चलबी बरियाते’ (हाँसी हाँसी फेटा लगाउ भाई म पनि फेटा लगाएर जान्छु जन्ती ।) यसरी हरेक कपडा वा वस्तु लगाउने क्रममा गीत गाएर दुलहालाई तयार पारिन्छ । कपडा लगाईसकेपछि कुलदेवतालई छाँकी र कचरीको वरिया चढाएर दुलहा र शैभलवा(दुलहाको भाई)लाई दुनामा रक्सी र कचरीको बरिया प्रसादको रूपमा खान दिईन्छ ।

घरबाट जन्तीको लागि निस्कदा देहुरारबाट दुलहाले सिकवा वरही सहितको वर्छी बोकेर घरको केही टाढा पुग्दा शैभलवा र दुलहालाई अरनी खुवाउन दुनामा रक्सी र कचरीको बरिया (रोटीजस्तै परिकार) खान दिई बाँकी रहेको कचरीको वरियालाई गाउँका साना बच्चा एवं जन्ती टोलीलाई बाँड्ने प्रचलन छ । जब जन्ती दुलहीको गाउँको सिमानामा पुग्दछन् तब जन्तीहरूलाई लिन दुलही पक्षबाट केही मानिसहरू जान्छन् ।

जन्ती गाउँमा प्रवेश गर्दा पनि दुलहा पक्षका मानिसहरू माँगर गाउनुपर्छ । माँगर गाउदै जन्ती दुलहीको घर पुग्दा जन्तीलाई सत्कारसाथ बस्न दिइन्छ । यसपछि दुलहाका सालीहरू दुलहा र सैभलवा लगायतको गोडा धुने गर्दछन् । दुलहा र भोजवालाई देहुरार कूल देवताकहाँ वर्छी गाड्न लगिन्छ । सम्धीबीच घनिष्टता बढोस् भनेर सम्धी सम्धा क्रियाकलाप गरिन्छ ।

एउटा भाँडामा चामल राखी त्यसमा पैसा लुकाई जुन सम्धीले बढी पैसा फेला पार्छ उसले जितेको मानिन्छ । तर गीतमा भने दुलहाको बालाई नै जितेको देखाइन्छ । यो क्रियाकलाप गर्दा दुबै सम्धीलाई लहङ्गा, हेल्का ओढाई डोरीले बाँध्ने, कहिले फुकाउने गरी हाँसो समेत गरिन्छ । सम्धी सम्धा गरिसकेपछि जन्तिलाई खाना ख्वाइन्छ । दुलहाले शुरूवात नगरेसम्म अरूले खान नहुने भनाइ छ ।

दुलहीको बुबा आएर एउटा काँसको थालमा काँसको लोटामा भएको पानीले हात धोइदिनुको साथै फेँटामा आफ्नो गच्छे अनुसारको पैसा राख्ने प्रचलन छ । यही समयमा दुलहाले केही चीज माग्छ, कुरो मिलेपछि मात्र खानाको शुरूवात हुन्छ । जन्तीहरू क्याम्पा (जन्ती बस्नको लागि खर वा स्याउलाले घेरेर बनाएको टहरा) मा बसेर जाँड रक्सी खाएर रातभरी नाचगान गरी रमाइलो गर्छन् ।

विहान जन्तीलाई नास्ता खुवाएर बर्छी लिनलाई दुलहा लगायत दुलहा पक्षका केही मानिसहरू देहुरार जान्छन् । आफ्नो मागअनुसार पैसा नदिए बर्छी उखेल्न नदिने भनेर दुलहाको साली बर्छी समातेकी हुन्छे । यति जन्तीहरू दुलहीलाई निकाल्नु पर्यो भनेर माँगर गाउँछन् । माँगरको शब्दले दुलहीका आमा, दिदी बहिनीहरू रून थाल्छन् ।

रोएकै अवस्थामा दुलहीको दाजुले उनलाई आफ्नो पिठ्युमा राखेर बाहिर निकाल्छन् र डोली भित्र चढाई दिन्छन् । दुलहीलाई पठाउनको लागि दुलहीको भाइले साजेको लोटाको पानी बोकेर जाने प्रचलन रहेको छ । यो लोटाको पानीलाई भुँईमा राख्नुहुदैन । त्यस्तै लकोँदी लकोँदा (दुलहीको दिदी भिनाजु) र उनका साथीसंगीहरू पठलहरी (दुलहीसँगै जाने महिलाहरू)हरू दुलहीलाई छोड्नसँगै जाने गर्छन् ।

फिर्ता जन्ती दुलहाको गाउँमा पुगेपछि सिधै घरमा नगई मरूवा (गाउँको सामुहिक देवताको थान)मा गएर डोला डोलीलाई तीन पटक घुमाउदै देवताको घरको छाप्रोको प्रत्येक कुनामा लाठीले हानेर छोराछोरी मिलाएर देवतासँग सन्तानको आशिर्वाद माग्ने प्रचलन छ । दुलहाको घरमा पुगेपछि डोलीबाट दुलहीलाई दुलहाको दिदी वा भाउजुले बाहिर निकाली घरको पूर्व ढोकामा दुलहालाई बायाँ र दुलहीलाई दायाँ राखेर कपडाले एक आपसमा गाँठो पारेर भोजहीबाट सतबीचले पाँच पटक पर्छने काम हुन्छ ।

त्यसपछि ढोका सामुन्ने राखिएको आगो सहित माटोको पालालाई दुलहाले खुट्टाले घोप्टो पारी बर्छीले फोर्छ । यदि पहिलो पटकमा नै त्यस पालालाई फुटाउन सकेमा पहिलो सन्तान छोरा हुने विश्वास छ । त्यसपछि भोजहीले दुवैलाई डोर्याएर लैजादा घरभित्रको ढोकामा दुलहाको दिदी बहिनीहरू दुवार छेकेर (बाटो छेक्नु) केही वस्तु माग्छन् र दुलहाले दिने वाचा गरेपछि छोड्छन् । देहुरारमा दुलहा र दुलहीको टाउको एकापसमा भोजहीले तीन पटक ठोकाउछिन् ।

एकछिनपछि पठलेहरीलाई विभिन्न परिकारका खानेकुरा खान दिइन्छ । दुलहीलाई बैठक कोठामा खाइरहेका जन्ती कहाँ पाँइ लगाउन (ढोगभेट परिचय) लगिन्छ । पाँई लागे वापत त्यहाँ जन्तीहरूले आफ्नो गच्छे अनुसार रकम दिन्छन् । पठलहरीहरू नजिकै घर भए सोही रात फर्किन्छन् । दुलही पनि पठलहरीसँग जान खोज्दा नन्दले समात्दा दुलही रून्छिन् । उसका साथी संगीहरू सम्झाई बुझाई गरेर ढोगभेट गरी विदा हुन्छन् ।

थारू समाजमा महिलालाई स्वतन्त्रता छ, पहिलो लोग्नेलाई छाडेर अर्को पुरूषसँग विवाह गर्न पनि रोकटोक छैन । त्यस्तो अवस्थामा हुनेवाला लोग्नेले पहिलो लोग्नेलाई जारी रकम तिरेर जारी विवाह गरिन्छ । पहिलाको लोग्नेलाई छाडेर अर्को पुरूषसँग जाँदा केटाका इष्टमित्र लगायत केही नातेदारहरू मरूवा (जार) भएको ठाँउमा केराको खम्बा गाडेर नयाँ लोग्नेले केटीलाई सोध्छ की ‘यो तिम्रो को हो ?’ उसले उत्तर दिन्छे, ‘यो वैरी दुश्मन हो’, पुन सोध्छ की यसलाई काटुँ की बचाउँ ?

केटीले काटिदेउ भनी उत्तर दिन्छे तब केराको खम्बालाई नयाँ लोग्नेले काटिदिन्छ । केटीले लगाएको पुराना चुरा फोरिन्छन् । नयाँ लोग्नेले चुरा लगाई दिएर आफ्नो घरमा लगि पर्छेर सवैजनालाई खानपिन गराई विवाह सम्पन्न हुन्छ । त्यस्तै कुनै केटी कुनै केटाको सम्पर्कमा गर्भवती भएमा सोही केटा वा अन्य केटासँग पर्छेर घर भित्रयाइन्छ भने त्यस्तो विवाहलाई घरवैठी विवाह भनिन्छ ।

घर भित्र्याउन केटी पक्षका केही नातेदारहरू केटीलाई लिएर केटाको घरमा केटासँग पर्छेर गाउँका मान्यजनहरूलाई खानपिन गराई सम्पन्न गर्छन् । नवलपरासीका थारू समुदायमा दाजुको मृत्यु भएमा भाउजुलाई देवरले स्याहार्ने चलन पनि छ । खासगरी भाउजुका स–साना छोरा छोरी भएको अवस्थामा यस्तो विवाह गर्नु उचित मानेर यो विवाह गरिन्छ । अर्को प्रचलित विवाह भनेको प्रेम विवाह हो ।

बुबाआमाको सहमति वा जानकारी बिना केटा र केटी भागेर गर्ने विवाहलाई उरहरी विवाह (प्रेम विवाह) भनिन्छ । केटा र केटीको मन मिलि केटाले आफ्नो नातेदारको घरमा केटीलाई भगाएर लैजान्छ । केटाको नातेदारले केटाको घरमा जानकारी दिएपश्चात घरमा खानपिनको व्यवस्था मिलाई केटाकेटीलाई लिन कुनै व्यक्तिलाई पठाइन्छ । केटाकेटी घरमा आएपछि छोरा बुहारीलाई पर्छेर घरमा भित्रयाउने प्रचलन छ । घरमा भित्रयाइसके पश्चात गाउँका नातेदार, इष्टमित्र आदिलाई भोज खुवाई यो विवाह सम्पन्न गरिन्छ ।

 

श्रोत : आइएनएस–स्वतन्त्र समाचार