फागु पूर्णिमा

सद्भाव र रंगको पर्व होली : हराउँदै मौलिकता, जोखिममा संस्कृति

आज मुलुकको हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइरहेका छन् । फागु पूर्णिमा पनि भनिने यो पर्व मधेश प्रदेश र तराईमा भोलि मात्र मनाइन्छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व हिन्दुहरुको प्रमुख चाड हो ।

होलीलाई रंगको चाड पनि चिनिन्छ । होली पर्वका दिन मानिसले एक अर्कालाई रंग दलेर जीवनलाई रंगीन बनाउने संकल्प गर्छन् । होली नेपाल, भारतलगायत अन्य हिन्दु धर्मावलम्बीहरु भएको मुलुकमा मनाउने गरिएको छ ।

सामाजिक सद्भाव र हर्षको चाड होलीले पछिल्लो समय केही विकृति समेत ल्याएको पाइन्छ । अन्य पर्वजस्तै होलीको पनि आफ्नै र छुट्टै महत्व छ । परम्परागतदेखि नै मनाउँदै आएको यो पर्वको इतिहास थप रोचक छ ।

त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यो चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भइन् ।

तर, विष्णु भक्त प्रल्हादलाई भने केही नभएपछि त्यसकै खुशीयालीमा होली पर्व मनाउन सुरू गरिएको मानिन्छ । असत्यमाथि सत्यको विजय नै यो पर्वको सार हो । ससाना बालबालिकादेखि वृद्धवृद्धाले समेत उल्लासको साथ होली मनाउँछन् ।

युवायुवतीहरुले नाच्दै र गाउँदै होली मनाउने गरेका छन् । विशेषतः घरपरिवार, आफन्त र साथीभाइसँग मिलेर रमाइलो गर्दै खेलिने पर्व नै होली हो । हातमा रङ र रंगीन तरल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो गर्दै आपसी मनमुटावलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वको रूपमा पनि यसलाई लिइन्छ ।

तर, पछिल्लो समय होली पर्व केही फिक्का बन्दै गएको छ । होलीको नाममा विकृति फैलिँदै गएको छ । होलीको समयमा भाङको लड्डु, घोट्टा खाने गरिए पनि पछिल्लो समय मादक पदार्थको सेवन हुने गरेको पाइन्छ ।

त्यसैगरी, समाजमा शान्तिसुरक्षा खलल पार्ने खालका गतिविधि नभएका पनि होइनन् । विगत केही वर्षयता होलीका दिन अप्रिय घटनाहरु पनि उत्तिकै हुने गरेका छन् । मादक पदार्थको सेवन गरेर तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना हुने गरेको छ ।

पारस्परिक रुपमा मनाउनुपर्ने यो चाडमा पछिल्लो समय मौलिकता भने हराउँदै गएको छ । आधुनिकताको बढ्दो प्रभाव र पश्चिमा देखासिकीले होली मात्र नभई अन्य चाडपर्वको पनि मौलिकता हराएको छ । होलीमा गाउँघरमा खैंजडी, मादल बजाउँदै गीत गाएर नाच्ने चलन थियो ।

अहिले ठूला–ठूला साउण्ड सिष्टम, युट्युबको माध्यमबाट नाच्ने चलन छ । मौलिकताको जर्गेर्ना गर्न नसक्दा हाम्रो संस्कृति नै जोखिममा परेको छ । चाडपर्वमा डिजे र ठूलाठूला म्युजिक सिष्टमलाई नभई हाम्रै परम्परागत बाजागाजालाई प्रोत्साहन गर्नुपर्छ । अर्कोतर्फ चाडपर्वको अर्को नाम नै मौलिकता हो भन्ने पक्षलाई पनि कहिल्यै बिर्सन हुँदैन ।