जीवन यात्रा

‘जब मेरा सबै सपनाहरु धुजाधुजा भए’

यसरी मेरो जीवनको एउटा पाटो समाप्त भयो । अहिले यिनी सबै कुरा कहानीमा सिमित रहे, कुनै प्रमाण छैन ।

गत २०७८ असार ०१ गते ‘मेची महाकाली विवाहित महिला समूह’ले ‘महिला हिंसा र छोरीप्रति गरिने भेदभावपूर्ण व्यवहारलाई प्रतिकार स्वरुप छोरीलाई सम्मान गरौं, असल ब्यवहार ज्ञान र शिक्षा दिउ’ भन्ने विषयमा केही शब्द लेखेर छोरीसँगको फोटो राख्नुपर्ने एक प्रतियोगिता राखेको थियो र त्यसमा मैले भाग लिएकी थिए, सबैले मन पराइदिनु भएको थियो । सोही प्रतियोगिताले मभित्र मरेको प्रतिभा, कलालाई व्युँताउन मद्दत गरेको छ । त्यसपछि पुनः लेखन कार्यलाई निरन्तरता दिने निर्णय गरेकी हुँ । ‘मेची महाकाली विवाहित महिला समूह’ परिवालाई धेरै धेरै धन्यवाद ।

२०५१ सालदेखि २०५५ सालसम्म जन उच्च माध्यमिक विध्यालय, सुर्खेतमा पढ्ने अवसर पाए, त्यो मेरो लागि गर्वको कुरा थियो । सानैदेखि गीत संगीतमा एकदमै रुची राख्ने गर्दथे । रेडियो नेपाल, अल इन्डिया रेडियो, मेरो साथी बनेको थियो । एक हातमा रेडियो, अर्को हातमा किताब हुन्थ्यो । धेरैपटक रेडियोको लागि गाली पनि खाएको थिए । रेडियो धेरै सुन्ने पढाईमा ध्यान नदिने भनेर ममीले त्यो रेडियो आफ्नो फुपुलाई दिनुभएछ । म स्कुलबाट फर्किएपछि रेडियो नभेटेर धेरै दिन रोएर बिताएको थिए । त्यसपछि बुवाले अर्को रेडियो नेपालगन्जबाट ल्याइदिनु भएको थियो ।

पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि म सक्रिय थिए । मलाई पहिलो प्रेरणा मेरो कान्छो बुवा स्व.हिक्मतबहादुर सापकोटाबाट मिलेको थियो । उहाँ सारङ्गी, हार्मोनियम, बाँसुरी, तबला एकदमै मीठो बजाउनु हुन्थ्यो, दक्ष हुनुहुन्थ्यो । घरमा सबै सङ्गीतका साधन उपलब्ध थिए । अनि उहाँ बजाउनु हुन्थ्यो, मलाई गीत गाउन लगाउनु हुन्थ्यो, म त्यस्तै ५–६ कक्षामा पढ्थे त्यहाँदेखि मेरो सङ्गीतसँग नाता जुरेको थियो । २०५३ सालमा जन माविको वार्षिकोत्सब परेको थियो । मिति ठ्याक्कै याद भएन मलाई, स्कुलमा खुसीको माहोल थियो । त्यतिबेलाको प्रधानाध्यापक डा.केशरसिं राना सर हुनुहुन्थ्यो ।

सो वार्षिकोत्सवको लागि खेलकुद, नाटक, नृत्यको रिहर्सल सुरु भइरहेको थियो । सोही वार्षिकोत्सवमा आदरणीय गङ्गा केसी सरले गीत गाउन सिकाउनु भएको थियो । उहाँकै शब्द सङ्गीत र लयमा स्वागत गीत ‘हृदय भरीको’ भन्ने गाउने मौका पाएको थिए । आदरणीय कुलमान नेपाली सरले त्यसपछि बागिना समुह सुर्खेतमा जोडिन सुझाव दिनुभयो । हरेक वर्ष बाल दिवस र शिक्षा दिवसको दिन खुला मञ्च घण्टाघरमा वृहत् कार्यक्रम हुन्थ्यो । गाउँगाउँबाट पनि त्यो कार्यक्रम हेर्न हजारौं दर्शक आउनुहुन्थ्यो । अनि सुर्खेत भ्यालीभित्रका सम्पूर्ण सरकारी तथा निजी विद्यालयबाट एकैसाथ नारा जुलुससहित र्याली निकालिन्थ्यो ।

मङ्लगढी अनि बजार परिक्रमा गर्दै गणेश चोक हुँदै घण्टाघरको मञ्चसम्म हामी सबै आ–आफ्नो विद्यालयको ड्रेस लगाएर अनिवार्य उपस्थित हुन्थ्यौं, कति रमाइलो थियो । त्यो दिनहरु बीच बजार पुगेपछि लाइनबाट सर म्यामलाई छलेर साथीहरू मिलेर भाग्ने अनि छोटो बाटो गएर पुन लाइनमा मिसिन्थ्यौं, अब ती दिन कहानीमै सुहाउँछन् । सधैंको वर्षझैं त्यो वर्ष पनि बाल दिवस र शिक्षा दिवसको बेला बागिना समुह आयोजक थियो । २०५३ मै बागीना समुह सुर्खेतले सोही कार्यक्रममा एउटा गीत गाउने अवसर दिएको थियो । त्यो कार्यक्रममा मैले ममता दिपविमको ‘सुरिलो रुख सल्लै हो’ भन्ने गीत गाएको थिए ।

अनि स्कुलको तर्फबाट एउटा ‘आमा’ शीर्षकको नाट्क प्रतियोगितामा आमाको भुमिका निभाउने मौका पाएको थिए । नेपाल संस्कृत मावि इत्राम स्कुल पहिलो श्रेणी र जन मावि, सुर्खेतले दोस्रो स्थान हासिल गरेको थियो । २०५४ सालमा सोही कार्यक्रममा आदरणीय दाइ गोविन्द कोइरालाले उदघोषण गर्नुभएको थियो । मैले आफैले लेखेको आफ्नै शब्द अनि लयमा गीत गाउने अवसर पाएको थिए । ‘मनको कुरा मनमा राखे, बताउ म कसलाई’ बोलको गीत थियो । म ९ कक्षामा पढ्थे । गोविन्द कोइराला दाइले, ‘जन मावि कक्षा ९ मा पढ्ने सानी बहिनी गोमा सापकोटाले आफनै शब्द र लयमा गीत गाउन आउँदैछिन्’ भनेको स्मरण अझै ताजै छ ।

सङ्गीत चाहिँ आदरणीय सर ललित सिजालीले दिनुभएको थियो । बाँसुरीमा गोविन्द नेपाली, तबलामा आदरणीय सर यज्ञदेव गिरी, मादलमा कृष्णदेव गिरी हुनुहुन्थ्यो । त्यो गीतले उत्कृष्ट गायिकाको प्रमाणपत्र हासिल गरेको थिए । सो कार्यक्रमको अथिति आदरणीय भिम कार्की ज्युबाट त्यो प्रमाणपत्र पाएको थिए । त्यस्तै २०५४ मा रेड्क्रस दिवसको दिन विद्यालय स्तरीय लोकगीत प्रतियोगितामा मैले लेखेको रेडक्रस सम्बन्धी लोकगीतले दोस्रो स्थान पाउन सफल भएको थियो । त्यतिबेला डिस्नेरी पुरस्कार पाएको थिए । साहित्य क्षेत्र एकदमै मन पर्ने हुनाले गीत, साना फुट्कर कविता लेख्ने गर्दथे ।

अनि म्यामलाई देखाउथे मलाई नेपाली पढाउने आदरणीय गोमा गिरी म्यामले सम्पादन गरिदिनु हुन्थ्यो, अनि सुझाव सल्लाह दिनुहुन्थ्यो । लेखनमा नियम हुन्छन् भन्ने ज्ञान् थिएन मलाई तर पनि गीत र कविता गरेर झन्डै ३५–४० ओटा लेखेको थिए । बिस्तारै स्वास्थ्यमा समस्या आउन थाल्यो । टाउको दुख्ने, रुघाखोकी जस्तो लाग्यो, अनि स्वर बस्यो, स्वरनलीमा मासु पलाएको रहेछ, डाक्टरको सल्लाह अनुसार मलाई ठुलो स्वरले बोल्न अनि गाउन नदिनु भनेबमोजिम मैले गाउन छोडे स्वर पनि आउन छोड्यो । त्यसपछि खै किन लेख्ने इच्छा शक्ति पनि मर्दै गयो । पढ्न पनि मन लागेन एसएलसीपछि मेरो किताबसँगै मेरो डायरी मैले पाएका प्रमाण पत्र र मेडलहरु एउटा काठको बाकसमा कैद हुँदै स्टोरमा थन्किए ।

धेरैपछि त्यो बाकस खोल्ने हिम्मत गरे, देखे आँसु रोकिएन, मेरा सबै सपनाहरु धुजाधुजा भएका थिए । धमीराले कुनै अवशेष बाँकी राखेको थिएन । यसरी मेरो जीवनको एउटा पाटो समाप्त भयो । अहिले यिनी सबै कुरा कहानीमा सिमित रहे, कुनै प्रमाण छैन । कसैलाई सुनाउँदा गफ लगाएजस्तो होला भनेर सुनाएको पनि थिएन । आज लेख्ने हिम्मत गरे मन हल्का भयो । मैले लेखेको त्यो गीत जो पुरस्कृत भएको थियो । त्यो पनि आधा मात्र याद छ मलाई, अहिले परिमार्जन गरि पूरा गरेको छु कुनैदिन पस्किने छु । धेरै जनालाई थाहा थिएन मैले लेख्छु, गाउछु भन्ने, असार १ गतेदेखि गजल, कविता फेसबुकमा पोस्ट गर्न थाले ।

गजल लेख्न मैले पहिलो प्रयास गरेको हुँ । पहिला लेखेको थिएन । लेख्ने क्रममा नियम पालना नभएका होलान्, गल्ती धेरै भए होलान्, म स्वीकार गर्छु । बिन्ती छ, सबै प्रकारको सुखान्त, दुखान्त, प्रेमिल लेख्न मन लाग्छ । त्यसलाई मेरो व्यक्तिगत जीवनसँग नजोडिदिनु होला । अरु सल्लाह सुझावको अपेक्षा गर्दछु, जसले मलाई कलम चलाउन अझै थप उर्जा मिलोस् । अनि धेरैले जिज्ञासा पनि राख्नुभयो, ‘एक्कासी लेख्न थाल्नुभयो, कारण के होला ? अनेकन प्रश्नमा प्रेम, धोका, सम्बन्ध, जीवनमा चोट खानुभएको छ कि ? उल्का छ त आजभोलि । लेख्न रहर गर्नुभएको रहेछ, राज के हो ?’ भन्नेजस्ता तपाईंहरुको यस्ता जिज्ञासाले मेरो कलम नरोकियोस् फेरि जीवनको अर्को पाटो नबनोस् तपाईंहरुको कौतुहल्ता मेटाउन यो सबै लेख्न बाध्य भए । धन्यवाद ।।