भन्सारमै माफियातन्त्र 

भन्सारमा डरलाग्दो सेटिङ, देशभर १७० जनाको सिन्डिकेट

भन्सार विभागले गत वर्ष चैतमा ६६० जना भन्सार एजेन्टको विज्ञापन गरेको थियो । जसको परीक्षा चलखेलकै कारण अहिलेसम्म हुन सकेको छैन । 

नेपालमा माफियातन्त्र कति बलियो र डरलाग्दो छ भन्ने कुरा भन्सारबाट थाहा हुन्छ । नेपालमा जम्मा १७० जना भन्सार एजेन्ट छन्, तर उनीहरुले राज्यका हरेक निकायमा आफ्नो सेटिङ चलाएका छन् ।

भन्सारमा आफ्नो राज चलाउन नयाँ भन्सार एजेन्टको परीक्षा पटक पटक रोक्दै आएका उनीहरुले यसपटक अदालतमार्फत चलखेल गरेका छन् । भन्सार विभागले गत वर्ष चैतमा ६६० जना भन्सार एजेन्टको विज्ञापन गरेको थियो । जसको परीक्षा चलखेलकै कारण अहिलेसम्म हुन सकेको छैन ।

गत शनिबारका लागि परीक्षा तय भएको थियो, तर अदालतको आदेशमा फेरि रोकिएको छ । परीक्षा समाबेशी नभएको भन्दै दायर गरिएकोमा रिटमा उच्च अदालत पाटनले परीक्षा रोकेको हो । जसकारण परीक्षा दिने तयारीमा रहेका नौ हजार जना प्रभावित बनेका छन् ।

महत्वपूर्ण के छ भने नेपालमा वार्षिक करिब १७ अर्बको आयात–निर्यात हुन्छ । त्यति ठूलो कारोबारमा १७० जनाको सिन्डिकेट छ । एउटा भन्सार एजेन्टमा वर्षमा करिब करोड कमाउने अवस्था छ । थोरै भन्सार एजेन्ट हुँदा व्यापारीहरुले समेत महंगो शुल्क तिर्नुपरेको छ ।

भन्सार एजेन्टबिना भन्सारमा आयात निर्यातको काममा समस्या छ । नेपालमा भन्सार एजेन्टको लागि २९० वर्षदेखि परीक्षा भएको छैन । उनीहरुले नै सरकारलाई आर्थिक प्रभावमा पारी परीक्षा हुन नदिएका हुन् । अहिले पनि उनीहरुले अदालतमार्फत रोकाएका छन् ।

भन्सार एजेन्ट सरकारी जागिरे हो । यो त लाइसेन्सको परीक्षाजस्तो हो । यसमा पनि समाबेशीको कुरा उठाएर अदालतले अन्तिम समयमा रोकेकामा धेरै आश्चर्य मानेका छन् । यो खेलमा भन्सार विभागका केही कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ ।