महिला संघको सातौं राष्ट्रिय सम्मेलन

कम्तिमा ६० प्रतिशत स्थानीय तहमा एमालेले जित्छ : ओली

चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्नेमा पनि जोड

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले एमालेलाई निर्वाचन जित्नका लागि कसैको वैशाखी टेक्नु नपर्ने बताउँदै आफूहरू प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

‘हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन, हामी हिड्न, अगाडी बढ्न, चुनाव लड्न र मज्जाले जित्न सक्छौं, हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौं, त्यस अनुसारको तयारी गरौं ।’

अध्यक्ष ओलीले आफूहरू केही ठाउँमा हार्न पनि तयार रहेको बताउनुभयो ।

‘हामीले रोजेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो,’ उहाँले भन्नुभयो, ‘केही केही ठाउँमा त हामी हार्न पनि त तयार हुनुपर्छ नि त !’

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको बताउनुभयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो ।

आफुहरू भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उहाँले जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरू पतित भएको संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अगाडी अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पु¥याउनुपर्ने बताउनुभयो । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले नेकपा(एमाले)मा पार्टी प्रवेशको लहर चलेको पनि बताउनुभयो ।