संगीत क्रान्ति

माओवादीभित्रै कम्पन ल्याउने प्रकाशको सांगीतिक कथा ‘पीर’

माओवादी नेतृत्वका लागि प्रकाश सपुत र सुरक्षा पन्तको जोडीले व्याख्या गरेको दृश्य प्रितकर नहुने निश्चित छ ।

चुनावको मुखमा माओवादीको दशवर्षे ‘जनयुद्ध’को लेखाजोखामाथिका बहस समान्य नै भइसक्यो । संघीयता र गणतन्त्र माओवादीकै बलमा स्थापित भएकाले पक्ष र विपक्षमा तर्कको बाढी नै लाग्छ । राजनीतिको कोर्स नै परिवर्तन गराउने माओवादी ‘जनयुद्ध’ चाहिँ जनजीवनसँग जोडिएका महत्वपूर्ण मुद्दा उठाएर अघि बढेको थियो । तर, राजनीतिक परिवर्तनपछि त्यसको व्यवस्थापनमा भने लगातार चुकिरह्यो माओवादी ।

ओरालो बाटोतिर लागिरह्यो उसको वैचारिक यात्रा । धेरै सहयात्री त्यही यात्रामा छुट्दै पनि गए । यस्तै, तीता सन्दर्भलाई उनेर म्युजिक भिडियो ल्याएका छन् प्रकाश सपुतले । जनस्तरमात्र होइन नेकपा माओवादी केन्द्रभित्रै कम्पन ल्याउन सक्छ । यसले किनकि म्युजिक भिडियो भने पनि यो शुद्ध माओवादीमाथिको कठोर समीक्षा हो । माओवादीको हिंसात्मक युद्ध र त्यसको परिणाम भोग्ने एउटा ठूलो वर्ग अटाउँछ १६ मिनेट लामो सांगीतिक कथामा ।

‘परिवर्तन मासु पसल’का सञ्चालक कमरेड बावु । मासु बेचेर लेनिनको पुस्तक ‘राज्य र क्रान्ति’ किनेर अध्ययन गरिरहेका हुन्छन् परिवर्तनपछि पनि । बावुको र उनको पत्नी ऊर्जाको दैनिकीबाट सुरु हुन्छ कथा, ‘पीर’ । डेरा पस्दै गर्दा बावुको र ऊर्जाको कष्टकर शहरी दैनिकीलाई पृष्ठभूमिका संवादबाट स्थापित गरेका छन् प्रकाशले । ‘कमरेड’ दम्पतीले तीन महिनादेखि भाडा दिन सकेका छैनन् ।

शहरमा टिक्नेगरी आम्दानी गर्न नसकेका बावुको सोच परिवर्तनशील छ । पेशा फेरिरहन्छन् उनी । ऊर्जा चाहन्छिन् बावु विदेश जावस् । अरुलेजस्तै गरी कमावस् । ‘म विदेशमा जान्नँ । भोकै मर्नुपरे पनि यही देशमा मर्छु,’ बावुको अडान कायम रहन्छ । क्रान्तिका लागि जति बावु भिडेका थिए उर्जाको योगदान कम थिएन । ‘हामीलाई छैन देशको माया ?’ ऊर्जा झोक्किनुको अर्थ कथामा पछि खुल्छ ।

ज्यानको बाजी मार्दा पनि केही नपाएको झोक देखिन्छ उनमा । युद्धमा लागेको गोलीको चिनो छातीमै गढेको छ । ऊर्जाको खत छोपिन्छ लुगाले । तर बावु खुट्टा लतार्दै पसलदेखि डेरा गरेको दृश्यले उनको हाल बयान गर्छ । के पायौं त ? भन्ने प्रश्नमा बावुसँग बनिबनाउ उत्तर छ, गणतन्त्र । विदेशिन नचाहने बावुको ढिपीलाई उछिन्दै आफैँ विदेशित तम्सिन्छिन् ऊर्जा ।

तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती, ओइ चिर दियो, चिर दियो…

पासपोर्ट बनाउँदाका सकसदेखि काखे छोरीलाई छाडेर विमानस्थलबाट उड्नुको पीडा पोखिन्छ कथामा । विमानस्थलमा विदेशिनेहरु मन कति कठोर बनाउन बाध्य छन्, बेजोडको दृश्य देखिन्छ । यता झोलामा कम्युनिस्ट किताब छुटाउँदैनन् बावु । श्रीमती रोजगारीमा हिँडेको तीन महिनासम्म अत्तोपत्तो नहुनुले बावु बहकिन्छन् ।

भट्टीबाट यौनकर्मीको दैलोसम्म पुग्छन् उनी । त्यहाँ उनले जे देख्छन्, त्यसले सबैलाई तरङ्गित बनाइदिन्छ । एकतारे झन्डा शिरमा बाँधेर बावु र ऊर्जाको बिहेकै दिन सुरक्षाकर्मीबाट आक्रमण हुन्छ । प्रमुख अतिथि रहेका नेतालाई जोगाउने क्रममा ऊर्जाको छाती र बावुको खुट्टामा गोली लाग्छ । घाइते अलपत्र हुँदा नेता पलायन हुन्छन् ।

एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानी
कतै मर्यो आत्मसम्मान, कतै स्वाभिमानी

लामो समयदेखि सम्पर्कविहीन ऊर्जा सोसल मिडियामार्फत टेलिभिजनको पर्दमा देखिन्छिन्, विदेशमा बन्धक परेको अवस्थामा । त्यसपछि उनको उद्धारका लागि पहल गर्दा बावुले जे भोग्छन्, त्यो अपेक्षाभन्दा फरक हुन्छ उनका लागि । अनि गीतका शब्दले त्यसमाथि व्याख्या गर्छ –

आफ्नै विचार वैरी भयो, कहाँ जाम् कता भागम्
ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम्

सांगीतिक भिडियोका शब्द र दृश्यले स्तव्ध बनाउँछ सबैलाई । माओवादी जनयुद्धको एउटा पक्षमाथि कठोर रुपमा प्रस्तुत भएका छन् प्रकाश सपुत । गीत, निर्देशन र अभिनय सबैतिर छाएका छन् प्रकाश । अभिनयमा उनलाई बलियो गरी साथ दिएकी छिन् ऊर्जा अर्थात् सुरक्षा पन्तले । माओवादी जनयुद्धमा सक्रिय एउटा लडाकु कसरी देश छोड्ने अवस्थामा पुग्छन् ? प्रकाशले त्यसको उत्तर दिएका छन् । त्यही उठाएका छन् ’देश’को परिभाषा ।

देश भन्नु त के रहेछ र, चार किल्लाको माटो
त्यही माटो नि उनको मात्र, जो छन् टाठोबाठो

माओवादी राजनीतिको वैचारिक क्षयीकरण, दलको नेतृत्वसँग तस्कर र माफियाको साँठगाँठलाई विभिन्न विम्बमार्फत् प्रस्तुत गरेका छन् उनले । यो म्युजिक भिडियो त्यतिखेर आएको छ जतिखेर नेकपा माओवादी सत्तामा छ, पार्टीको सांगठिनक क्षयीकरण जोगाउन हम्मेहम्मेको अवस्थाबाट गुज्रिरहेको छ ।

त्यसैले माओवादी नेतृत्वका लागि प्रकाश सपुत र सुरक्षा पन्तको जोडीले व्याख्या गरेको दृश्य प्रितकर नहुने निश्चित छ । विवादमा पक्कै तानिने छ यो म्युजिक भिडियो । त्यसो त राजनीतिक विषयवस्तुलाई लिएर यस्तै कटाक्ष पहिलो पटक भएको भने होइन । गायक पशुपति शर्माको ‘लुट्न सके लुट…’ बोलको गीतले बालुवाटारमा खैलाबैला नै मच्चाएको थियो कुनै बेला ।

त्यसैगरी प्रकाश सपुतको गीतले सिंगो माओवादी केन्द्रमा कम्पन ल्याउने निश्चित छ । २०७५ सालमा सत्तारुढ नेकपा एमालेले ‘लुट्नसम्म लुट…’ बोलको गीत बन्द गराएरै छाडेको थियो । पशुपति शर्माको उक्त गीत सत्ता लक्षित थियो, सत्तामा चाहिँ एमाले । नेकपा एमालेको नाम गीतमा कतै थिएन ।

राष्ट्रपतिले चढ्ने हेलिकप्टर, ३३ किलो सुनकाण्ड, वाइड बडी विमानका सन्दर्भलाई लिएर गीतमा व्यङ्ग्य थियो । त्यसबाहेक पार्टीविरुद्ध कुनै अभिव्यक्ति गीतमा नआए पनि एमालेले गीत बन्द गराएरै छोडेको थियो । प्रकाश सुपुतको ‘पिर’मा भने नेकपा माओवादीको जनयुद्धको एउटा संवेदनशील पाटोलाई उदाङ्गो पारिएको छ ।

के नेकपा माओवादी केन्द्रले पनि एमालेको सिको गर्दै प्रकाश सपुतको यो गीत बन्द गराउन बल गर्छ ? यदि गर्यो भने माओवादीलाई सत्ता साझेदार बनाउँदै नेतृत्व हाँकिरहेको नेपाली कांग्रेस नेतृत्वले वाक स्वतन्त्रताको सुरक्षा गर्न सक्ला? हाललाई प्रश्न अनुत्तरित नै छ ।

हेर्नुस् गीत :