विचार

अमेरिका र जेलेन्स्कीले टार्न सक्थे युक्रेनको त्रासदी

– मुन चुङ इन

रुसको राजनीतिक व्यवस्थाले पुटिनमाथि लोकतान्त्रिक लगाम लगाउन नसक्नु अर्को कारण हो । तर, युक्रेनको बर्बादीका लागि के अमेरिका र पश्चिमा विश्व चाहिँ जिम्मेवार छँदै छैनन् त ?

अन्ततः फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गर्यो । त्यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले सीमाक्षेत्रमा सैन्य अभ्यास मात्र गरिरहेको दाबी गरेका थिए । उनले ढाँटेको पुष्टि भयो । रुसको यो जंगली व्यवहारले अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाएको छ भने विश्व व्यवस्थामाथि खतरा पैदा गरेको छ । रुसले युक्रेनको भूमि र सार्वभौमसत्ता कुल्चिएको छ, युरोपको शान्ति खल्बल्याएको छ ।

युक्रेनले दह्रो प्रतिरोध गरेसँगै अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दी लगाउन थालेपछि त्यसको प्रतिकारमा पुटिनले आणविक हतियारलाई तम्तयार राख्न आदेश दिएका छन् । युक्रेनको यो त्रासदीले के देखाएको छ भने भूराजनीति भनेको वास्तवमा त्यस्तो अराजकताको अवस्था हो, जहाँ बलियाले कमजोरको सिकार गर्छन् । यो युद्धको प्राथमिक कारण भनेको एक तानाशाहको सैन्य दुस्साहस र आफू पीडित भएँ भन्ने मानसिकता नै हो ।

रुसको राजनीतिक व्यवस्थाले पुटिनमाथि लोकतान्त्रिक लगाम लगाउन नसक्नु अर्को कारण हो । तर, युक्रेनको बर्बादीका लागि के अमेरिका र पश्चिमा विश्व चाहिँ जिम्मेवार छँदै छैनन् त ? हेनरी किसिन्जरदेखि सोभियत संघलाई नियन्त्रण गर्ने अमेरिकी रणनीतिका ‘आर्किटेक्ट’ जर्ज केननसम्मका प्रमुख अमेरिकी यथार्थवादीहरुले रुसको प्रभावक्षेत्रलाई स्वीकार्दा मात्रै सो क्षेत्रमा शान्ति र स्थायित्व कायम हुने तर्क गरेका छन् ।

२००८ मा बुखारेस्टमा भएको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले आधिकारिक रुपमै जर्जिया र युक्रेनलाई नेटोको सदस्य बनाउने घोषणा गरे । सोलगत्तै जर्जिया र युक्रेनलाई नेटोमा सहभागी गराउन नहुने, बरु तिनलाई तटस्थ रहन दिनुपर्ने तर्क किसिन्जरले गरेका थिए । पूर्वतर्फ नेटोको विस्तारलाई यथास्थितिमा परिवर्तनको प्रयासका रुपमा रुसले लिने चिन्ता उनलाई थियो ।

युक्रेनमा रुसले आक्रमण गर्नुभन्दा एक महिनाअघि जनवरी १९ का दिन हार्वर्ड युनिभर्सिटीका प्राध्यापक स्टिफन वाल्टले अमेरिकी म्यागेजिन फरेन पोलिसीमा एक लेख लेखेका थिए, जसको शीर्षक थियो, ‘उदारवादी भ्रमले युक्रेन संकट सिर्जना गर्यो ।’ सो लेखमा वाल्टले अमेरिका र पश्चिमको सिद्धान्तमा आधारित आक्रामक विदेश नीतले युक्रेनमाथि हमला गर्न रुसलाई उत्तेजित तुल्याउने अनुमान गरेका थिए ।

उनको अनुमान सही साबित हुनपुग्यो । वाल्टका अनुसार सुरक्षाका लागि भन्दै नेटो पूर्वतर्फ विस्तार गरिए पनि यथार्थमा त्यो स्वतन्त्रता, लोकतन्त्रजस्ता उदार मान्यताहरुलाई अन्यत्र फैल्याउने नियतले गरिएको थियो । यस्ता गतिविधिलाई पुटिनले रुसलाई एक्ल्याउने खेल र आफ्नो शासनमाथिको संकट ठान्ने र त्यसको जवाफ सैन्य हिसाबले दिने उनको अनुमान थियो । यो संकट आउनुमा ‘प्रभाव क्षेत्र’को राजनीति आवश्यक सर्त थियो ।

दोस्रो ठूलो सहर खार्कोवमा रुसी गोलाबारीबाट तहसनहस बनेको एउटा भवन ।

तर, त्यसका लागि युक्रेनको घरेलु राजनीति नै पर्याप्त भयो । आजको युक्रेन महाशक्तिहरुको फुटाऊ र शासन गर नीतिको परिणति हो । १९२२ मा युक्रेन सोभियत संघमा समाहित भएको थियो । त्यसयता दुई अमिल्दा समूह युक्रेनको सीमाभित्र रहँदै आएका छन् । पश्चिमतर्फ बहुमत क्याथोलिकहरु छन्, जो युक्रेनी भाषा बोल्छन् र आफूलाई युरोपेली भनेर चिनाउँछन् । पूर्वतर्फ अल्पसंख्यक रुसी अर्थोडक्सहरु छन्, जो रुसी भाषा बोल्छन् र आफ्नो स्लाभिक पहिचानमा जोड दिन्छन् ।

यी दुई अलग समूहबीचको विभाजन र द्वन्द्वले युक्रेनमा विदेशी शक्तिको हस्तक्षेपलाई बहाना दिएको छ । अहिलेको आक्रमण पनि २०१४ को संकटकै निरन्तरता हो । त्यतिबेला युक्रेनीहरुले युरोपसँगको एकतामा जोड दिए र रुससमर्थित राष्ट्रपति भिक्टर यानकोभिचलाई सत्ताच्यूत गरिदिए । जवाफमा रुसले क्रिमिया टुक्र्याइदियो । अहिलेको आक्रमण पनि उसैगरी अघि बढेको देखिन्छ ।

युक्रेन सरकार दोनबास क्षेत्रबाट रुससमर्थित विद्रोहीहरुलाई लखेट्न आक्रामक रुपमा अघि बढिरहेको थियो । ताकि नेटोमा प्रवेशको सर्त पुरा गर्न सकियोस् । त्यही मौकामा रुसले विद्रोहीहरुको रक्षाका लागि भन्दै सैन्य हस्तक्षेप गर्ने कठोर कदम चाल्यो । त्यही कारणले गर्दा आक्रमण सुरु गर्नुभन्दा ठिक अघि रुसले दोनेस्क र लुहान्स्कका पृथकतावादी सरकारहरुलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो ।

तथापि, आगो झोस्ने काम चाहिँ नेताहरुको गलत हिसाबकिताबले नै गर्यो । म यहाँनेर आक्रमण गर्ने पुटिनको अनर्गल निर्णयको मात्र होइन, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको सुरुवाती कदमको समेत कुरा गरिरहेको छु । २०१९ मा जेलेन्स्की शान्तिदूत र भ्रष्टाचारविरोधी लडाकुका रुपमा युक्रेनको राष्ट्रपति निर्वाचित भएका थिए । रुसको आक्रमणपछि त्यसको प्रतिरोध गर्न जेलेन्स्की आफ्ना सैनिक र जनतासँगै उभिए ।

जसका कारण स्वदेश र विदेश दुवैतर्फ जेलेन्स्कीले ठूलो समर्थन प्राप्त गरे । अन्तर्राष्ट्रिय समुदायसँग उनको सक्रिय कूटनीतिको ज्यादै प्रशंसा भयो । तर, यी भावनाका कुरालाई छेउमा राखेर हेर्ने हो भने यो संकटको व्यवस्थापन गर्न र युद्ध रोक्न जेलेन्स्की असफल भए । उनले विरोधाभाषपूर्ण सन्देश दिएर संकटलाई झनै गहिर्याए । आफ्ना समर्थकमाझ नेटो सदस्यता लिने बताए, रुससँग तटस्थताको बाचा गरे र पश्चिमसँग आणविक हतियार उपलब्ध गराउन माग गरे ।

अर्कातिर, रुसले आक्रमण गर्न लाग्यो भनेर बाहिरी विश्वलाई चेतावनी दिए र सैन्य सहयोग मागे । तर, युक्रेनी जनतालाई भने आक्रमणको सम्भावना छैन भनेर शान्त रहन आग्रह गरे । यसरी उनले दोहोरो कुरा गरेर संकटलाई झनै जटिल बनाए । जेलेन्स्कीको अर्को गल्ती थियो– पश्चिमबाट सैन्य सहयोग आउँछ भनेर अपेक्षा गर्नु । किनभने ती शक्तिहरु युद्धमा अल्झिने जोखिमका कारण चिन्तित थिए ।

युक्रेनमाथि रुसको आक्रमणलाई लिएर मानिसहरुका अनेक विचार हुनसक्छन् । तर, रुसको प्रभाव क्षेत्रको यथास्थितिलाई बदल्ने सवालमा अमेरिका र पश्चिमा मुलुकहरु अलि बढी बुद्धिमान भइदिएको भए, युक्रेनको घरेलु राजनीति अलि बढी एकीकृत भइदिएको भए र युक्रेनी राष्ट्रपति संकट समाधानमा अलि बढी निपुण भइदिएको भए यो त्रासदी टार्न सकिने थियो । (द ह्यान्क्युरेबाट । मुन चुङ इन दक्षिण कोरियाली थिंक ट्यांक सेजोङ इन्स्टिच्युटका अध्यक्ष हुन् ।)