चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौं । सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो ।

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो ।

आउने चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिसकेपछि  बालबालिकालाई लगाइँदै आइएको नियमित खोप कार्यक्रममा नै यसलाई समेट्ने उहाँले बताउनुभयो ।

खोपको उपलब्धताका साथै अरू विभिन्न खालको जटिलताका कारण नेपालमा यो खोप यस अगाडि प्रयोग गर्न सकिएको थिएन ।

केही समय अगाडि नेपालमा टाइफाइडविरुद्धको नयाँ खोपको क्लिनिकल ट्रायल सफल भएको थियो । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । अब त्यही खोप बालबालिकालाई लगाइने भएको हो ।

नेपालमा ट्रायल गरिएकाले भर्खरै विकसित भएको खोप भनेर नबुझ्न र आफ्ना १५ वर्षमुनिका बालबालिकालाई ढुक्क भएर खोप लगाउन  डा. अधिकारीले आग्रह गर्नुभयो । खोप अभियान सञ्चालनका लागि अहिले विभिन्न पालिकाहरूले विद्यार्थीको विवरण माग गरेका छन् ।