‘वेष्टन ट्राभल मार्ट’

देशभरका पर्यटन व्यवसायी नेपालगन्जमा

आजदेखि पश्चिम नेपालको पहिलो ट्राभल मार्ट

नेपालगन्जको मूख्य बजार क्षेत्र ।

बाँके । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म देशभरका पर्यटन व्यवसायी बाँकेको नेपालगन्जमा जम्मा भएका छन् । आजदेखि सुरु हुने ‘वेष्टन ट्राभल मार्ट’को लागि देशभरका पर्यटन व्यवसायी नेपालगन्जमा जम्मा भएका हुन् ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी नाट्टा बाँकेको पहलमा आयोजना हुन लागेको टुरिजम मार्ट नेपाल पर्यटन बोर्ड, नाट्टा, नेपालगन्ज उपमहानगरपालिका, हान, टिबान लगायत संस्थाले आयोजना गरेका हुन् ।

नेपालगन्जमा आजदेखि सुरु भई तीन दिनसम्म चल्ने मार्टको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी राउटे समुदायका मुखिया सुर्यनारायण शाही छन् । आज ११ बजेदेखि सुरु हुने मार्टको औपचारिक कार्यक्रम राउटे मुखिया सुर्यनारायणले उद्घाटन गर्नेछन् ।

मार्टका लागि पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मी, नाट्टाका अध्यक्ष अच्युत गुरागाँई, टिबानका अध्यक्ष कृष्ण आचार्य लगायतका डेढ सय व्यक्ति नेपालगन्ज आइपुगेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनका अनुसार कार्यक्रमका लागि प्रदेश १, मधेस, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि पनि नेपालगन्ज पुगेका छन् । सातै प्रदेश सरकारले पर्यटन प्रचार प्रसारका लागि भन्दै मार्टमा स्टलसमेत राखेका छन् । मार्टमा नेपाल र भारतका गरि ४२ स्टल छन् ।

मार्टका क्रममा बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज सफारी, कर्णाली नदीमा ¥याफ्टिङ लगायतका पर्यटन गतिविधि पनि हुनेछन् । मार्टले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रचारप्रसार र नयाँ नयाँ गन्तव्यबारे जानकारी दिने उद्धेश्य राखेको छ । टुरिजम मार्ट पश्चिम नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।