साहित्य

कथा : खै समानता ?

उनीजस्तै म पनि दिनभरिको अफिसको काममा व्यस्त भएर थाकेर आएकी छु । उनीभन्दा पनि म धेरै कमाउँछु । के यो घरधन्दा मेरो मात्र प्यावा हो ?

हामी दुबैको योग्यता पनि एकै र जागिरको लेबल अर्थात् तह पनि एकै । श्रीमानश्रीमती एक रथका दुई पाङ्ग्रा भनिन्छ । हामी एकै जीवनसाथी । तर भिन्नता उनी पुरुष म महिला । उनी बिहान ढिलो उठ्छन् । ब्रस गरेर फ्रेस हुन्छन् र मैले पकाएको चिया पिउँछन् । एकछिन टिभीमा समाचार हेरेर चोकतिर लाग्छन् । अफिस जाने बेला भएपछि पत्रपत्रिका लिएर घर फर्किन्छन् ।

म बिहान छिटो झिसमिसेमै उठ्छु । घरको व्यवस्थापनतिर लाग्छु । घरको सरसफाई गर्ने । नुहाईधुवाई सकेर पाठपूजा गर्ने । चौरासी वर्षका सासुससुरालाई चिया र तातो पानी चिसो पानी दिन्छु । परको दुध डेरीमा गएर दुध किनेर ल्याउँछु । दुध तताएर दुध र कन्लेम क्स दिन्छु बच्चाहरुलाई । यतिकैमा बिहानको सात बजिहाल्छ ।

बच्चाहरु पढ्न बस्छन् । म भान्सामा खान पकाउँदै बच्चाको पढाइमा सहयोग गरिरहेकी हुन्छु । पालैपालो बच्चाहरु मम्मी भनी बोलाउँछन् । म खाना पकाउँदै हजुर भन्छु । छोरीले होमवर्क सिकाइदिनु न भन्छिन् । म्याथ निक्कै गारो छ मम्मी । भ्याई नभ्याई म उनीहरुको होमवर्कतिर नजर पुर्याउन बाध्य हुन्छु । हिजोआजको पढाइ हाम्रो भन्दा भिन्नै छ कति कुरा ।

कति ठाउँमा त आफूलाई पनि निकै गारो हुन्छ । तरकारी चलाउँदै छोरीलाई हिसाब सिकाइदिन्छु । सिकाएको छोरीले मजाले लेख्छिन् । फेरि छोराले मम्मी मम्मी भन्दै इङ्ग्लिस बुक लिएर आउँछ भान्सामा । दाल चलाउँदै उसलाई अङ्ग्रेजी सिकाइदिन्छु । वृद्ध सासुससुरा पहिलेको आफ्नो नियम खोज्नुहुन्छ । टाइम टाइममा उहाहरुलाई तातोचिसो दिनुपर्छ ।

पहिले आफूले भोगेको बुहार्तन जस्तै सासु खोज्नुहुन्छ । उहाँले चाहेको जस्तो हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । भुरालाई भन्दा बुढा बुढीलाई चित्त बुझाउन झनै गारो । उहाँहरुले चाहेको नभए बलिन्द्रधारा आँसु बग्छन् । अरु काम छोडेर पनि पहिलो प्राथमिकता उहाँहरुलाई दिनुपर्छ । हतार हातर गर्दा गर्दै खाना पाक्दा समयले बिहानको नौ बजायो ।

बच्चाहरुको स्कुलको गाडी आउने बेला भयो । छिटो छिटो बच्चाहरुलाई स्कुलड्रेस लगाइदिएँ । खाना दुवैलाई खुवाएँ । अहिलेका बच्चाहरु आफैँ खाना खाँदा राम्रोसँग नखाने । भोक्कै हुने । चम्चाले फकाई फुलाई खुवाउनुपर्ने । छिटो छिटो गर्दा गर्दै नौ तीस भयो । बच्चाहरुको स्कुलबस घर अगाडि अडियो । हतार हातर टिफिन झोलामा हालेर उनीहरुलाई बसमा लगेर राखिदिएँ ।

स्कुलबस आफ्नै गतिमा अगाडि बढ्यो । आफूलाई दस बजे अफिस भेट्नुछ । हतार भइसक्यो । छिटोछिटो सासुससुरा र श्रीमानलाई खाना पस्केर खाना खान बोलाएँ । तीनै जाना डाइनिङमा खाना खान बस्नुभयो ! श्रीमानले भन्नुभयो लक्ष्मी ! मैले हजुर भनेँ । आज तरकारीको स्वाद हराएछ खोज्न जानुपर्छ कि क्या हो भन्दै व्यङ्ग्य गर्नुभयो । म मौन रहेँ । आफूलाई अफिस ढिला हुन्छ भन्ने टेन्सले सताइरहेछ ।

फेरि सासुले भन्नुभयो दालमा नुन चर्को भयो । आज प्रेसर बढ्ने भयो । फेरि ससुराको कम्प्लेन आयो । आज बुहारीले अचार नै बनाउन बिर्सेछिन् । तर बिर्सेको त कहाँ हो र बुवा हतारले अचार बनाउने समय नै भएन भनेँ । उहाँहरु खाना खाएर उठ्नुभयो । दस बज्न लागिसक्यो । हतार हतार गरेर दुई गाँस भात खाएँ । छिटोछिटो गरेर अफिसको ड्रेस सारी ब्लाउज लगाउँदै थिएँ ।

श्रीमानले फेरि व्यङ्ग्य गर्नुभयो मेरी बुढी मसिनभन्दा पनि छिटी छिन् । त्यो थियो उहाँको व्यङ्ग्यात्मक ढिलो भयो भन्ने भनाइ । मलाई बोल्ने पनि समय थिएन । कपाल अलिकति सम्याएँ । उहाँ बाइक लिएर आफ्नो अफिसतिर लाग्नुभयो । घरधन्दा जुठोभाँडो छोडेर म पनि ट्याम्पू चढेर आफ्नो अफिसतिर लागेँ ! अफिस पुग्दा दस मिनेट ढिलो भयो ।

बैंकको जागिर क्यास काउन्टरको वरिपरि मानिसहरुको भिड । म नपुगेकाले काम अवरुद्ध भइरहेको । पुग्दा पुग्दै मेनेजर साबले बोलाउनुभाको छ लक्ष्मी म्याम गार्डले भन्यो । म म्यानेजरको अफिस कोठामा गएँ । म्यानेजरले भने लक्ष्मी जी किन ढिला आउनुभएको ? मेनेजरको प्रश्नको उत्तर नदिएरै मौन बसिरहेँ । उत्तर दिऊँ पनि कसरी ! घरको कामले ढिला भयो कसरी भनूँ !

मेनेजरले हाम्रो बैंकले ग्राहकहरुलाई राम्रो सेवासुविधा दिन सक्नुपर्छ । यसरी ढिला आएर काम चल्दैन लक्ष्मी जी ! भन्नुभयो । हुन पनि सही हो मेनेजरको कुरा । अफिस समयमा ठिक दस बजे पुग्नुपर्थ्यो । सरी सर भनेँ । ठिकै छ भोलिदेखि समयमै आउनुहोला म्यानेजरले भने । हवस् भन्दै म काउन्टरतिर लागेँ । दिनभरि बैंकको जागिर भिडभाड । क्यासमा बस्नुपर्ने ।

सानु मिस्टेक भयो भने आफैँले त्यसको घाटा बेहोर्नुपर्ने । कैयौँ पटक त मिस्टेकको सामना गर्नुपरेको थियो । जागिर खानु पनि सजिलो त कहाँ छ र ? काउन्टरमा बसेर पैसाको बिटोमा दुवै हातहरु चल्दै थिए । काउन्टर बाहिर मानिसहरुको लाइन निक्कै लामो थियो । कोही बैंकमा पैसा राख्ने । कोही बैंकबाट पैसा निकाल्ने । हरेक दिन यस्तै व्यस्ततामै बित्थ्यो ।

चिया पिउने पनि फुर्सद नहुने । कहिले त कामको चापले टाउको दुख्थ्यो । दिनभरिको व्यस्तताले पाँच बजेको पत्तै भएन । अफिसटाइम सकियो । घर फर्किंदा जुठोभाँडो घरभरि बिहान खाना खाएको । स्कुलबाट आएका बच्चाहरु स्कुलको किताबको झोलाहरु एकातिर फालेका । बच्चाहरु स्कुलको ड्रेस लगाएरै लाबारिस जस्तो खेलिरहेका । बुढा भएका सासुससुरा छरछिमेकीसँग कुरा गर्नुहुँदोरहेछ ।

आफ्ना हातखुट्टा बसे गारो छ । दिनभरि खाजा छैन । भोक्कै अहिलेका छोराबुहारी यस्तै हुन् । बरु देवघाटतिर जानुपर्छ कि जस्तो लाग्छ भन्नुहुँदो रहेछ । आफिसबाट फर्केर एकाएक गरेर मसिन जसरी घरधन्दा गर्न लागेँ । बच्चाहरुको ड्रेस फेरिदिएँ । फालिएका पुस्तकका झोलाहरु समेटेर राखेँ । जुठोभाँडा माझिसकेँ । भान्सा सफा गरेँ । सासुससुरालाई चियाखाजा बनाएर खान दिएँ । बेलुकाको सन्ध्या भयो ।

सन्ध्याको दियो बाल्दै थिएँ । बल्ल श्रीमानको सवारी भयो । उहाँ आफिसको कपडा खोलेर टिभी हेर्न बस्नुभयो । भान्सामा खाना पकाउन थालेँ । श्रीमान बैठकमा टिभी हेर्दै भन्नुभयो । लक्ष्मी बिहानको जस्तो खानामा स्वाद हराउला है अलि होसियार हुनू । कता कता मेरो दिल दुखेर आयो । उनीजस्तै म पनि दिनभरिको अफिसको काममा व्यस्त भएर थाकेर आएकी छु । उनीभन्दा पनि म धेरै कमाउँछु । के यो घरधन्दा मेरो मात्र प्यावा हो ?

निक्कै चित्त दुख्यो । हरे छोरीको जिन्दगी । जागिर नगरौँ पनि यो महँगीमा एक जनाको कमाइले खान पुग्दैन । जागिर गरौँ यो हाल छ । हे भगवान के गरौँ ? सानुमा माइत छँदा पनि आमाले मलाई मात्र काममा लागाउनुहुन्थ्यो । सँगैका दाजुभाइहरु स्कुलबाट घर फर्केपछि खेलेर बस्थे । म बिहानबेलुका घरधन्दा भ्याएर स्कुल जान्थेँ । स्कुलको होमवर्क राती गर्नुपर्थ्यो । अहिले पनि श्रीमानको अफिसको मात्र काम छ ।

छोरा मान्छेले घरको काम गर्यो भने जोइटिङ्ग्रे भनिन्छ । मेरो अफिससँगै सबैको चित्त बुझाउनै पर्ने । सुत्ने समय पनि आफ्नो इच्छा अनुसार चल्दैन । थकित मुडमा पनि श्रीमानको यौनइच्छा तृप्त पार्नुपर्ने बाध्यता । के छोरी मानिसको शरीर होइन ? अन्तर्राष्ट्रिय महिला दिवसको अहिले नारीपुरुष समानताको बहस चलिरहेछ । पाँचतारे होटलहरुमा । तर हरेक घरहरुमा अहिलेका म जस्ता कैयौँ कामकाजी महिलाहरु च्यापुवामा छन् । कहाँ छ नारीपुरुष समानता ?