परिचरको तलब खाएका डिआइजीको जागिर धरापमा

काठमाडौं । नेपाल प्रहरीका एक डिआइजीको जागिर धरापमा परेको छ । केही महिनाअघि मात्र बढुवा भएका शौरभ राणामाथि प्रहरी किताबखानाले छानबिन गरिरहेको छ ।

उनी हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रका ब्याची हुन् । २०४९ सालमा इन्सपेक्टरमा भर्ना हुनुअघि उनी प्रहरी परिचरका रुपमा भर्ना भएको खुलेपछि विभागले छानबिन थालेको हो ।

यद्यपि, उनले राजीनामा दिएर इन्सपेक्टरमा भर्ना भएका थिए । त्यतिबेला उच्च पदस्थ प्रहरी अधिकारीहरुले आफु निकटलाई परिचरमा भर्ना गर्ने र कामै नगराई तलब मात्र दिने समेत प्रचलन थियो ।

सम्पन्न परिवारमा जन्मिएका राणा परिचरमा भर्ना हुनुपर्ने अवस्था थिएन । तर, कामै नगरी उनले तीन वर्ष तलब भने बुझे । त्यही कारण अहिले समस्या आएको हो । यसअघि यस्तै घटनामा महेशविक्रम शाहलाई किताबखानाले डेढ महिना पहिला नै अवकाश दिएको थियो ।

उनी केही समय प्रहरी जवानमा जागिर खाई भगौडा भएर पछि इन्सपेक्टरमा भर्ना भएका थिए । जवानसम्मको अवधि जोडेर ३० वर्ष पुर्याई उनलाई अवकाश दिइएको थियो । यही प्रावधान लागू हुनसक्ने डर राणालाई छ ।

तर, अहिलेको शक्ति केन्द्रसँग राम्रो सम्बन्ध बनाएकाले उनले आफू अनुकुल निर्णय गराउने सम्भावना पनि छ । राणाले आगामी वैशाखमा अनिवार्य अवकाश पाउँदैछन् । प्रहरीमा ३० वर्षे सेवाहद भएकाले अवकाशमा यस्तो विवाद आएको हो ।