लेकै फूल्यो लालीगुराँस

म्याग्दीको अन्नपूर्ण क्षेत्रमा ढकमक्क फुलेको लाली गुराँस र गुराँससँगै आन्तरिक पर्यटक । तस्वीर : ध्रुवसागर शर्मा/रासस

गलेश्वर । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ ।

म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर बन पाखा नै राताम्यै देखिन थालेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए ।

यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरणविद्ले बताएका छन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । ‘लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ,’ बेनी नगरपालिका–२ ज्यामरुककोटका बृद्ध वेदप्रसाद उपाध्यायले बताए ।

लागीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विकले उल्लेख गरे । अहिले बेमौसममा नै काफल, तिजुलगायत जङ्गली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको उनले बताए । वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।

‘विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्,’ उनले भने । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् ।

उच्च हिमाली बस्तीमा पनि लामखुट्टे

गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भागमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुने भइरहेको छ ।

यसैगरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गल नै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँनयाँ रोग देखिएका छन् । यसले विश्वकै लागि एक प्रमुख चुनौतीको विषय बनाएको र असर बढ्दै जाँदा नेपालका हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको छ ।

वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षात्मा हुने घटबढका कारण पृथ्वीको कुनै पनि भागको मौसममा हुने परिवर्त नै जलवायु परिवर्तन हो । पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइडजस्ता ग्यास घटबढ भएमा जलवायु परिवर्तन हुने मौसमविज्ञ बताउँछन् ।

हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन र मिथेनजस्ता ग्यासको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भएर र हतिरगृहको ग्यास बढ्न पुग्दा पनि जलवायु परिवर्तन हुन्छ । जलवायुमा भएको परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत नराम्रो असर देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञले बताएका छन् ।