एक दिनको लागि ‘ब्वाईफ्रेन्ड’ भाडामा !

एजेन्सी । हाल चिनियाँ नयाँ वर्षले पूर्वी एसियाको माहोल नै भिन्दै छ । कोरोना महामारीका वावजुद परिवारहरु सुरक्षित तरिकामा टाढा टाढाबाट भेला भइ भेट हुने गरिरहेका छन् । तर यही रमाइलो पर्वको समय ‘सिंगल’ या अविवाहितहरुका लागि चाहिँ दिक्क लाग्दो क्षण पनि बन्ने गरेको पाइन्छ ।

आफन्तहरु सबै भेला हुँदा उनीहरुलाई सबैले ‘कहिले विहे गर्ने, कहिले परिवार सुरु गर्ने, को छ तिम्रो जीवनमा’ जस्ता एकैखाले प्रश्न गर्ने, जिस्क्याउने लगायत वाक्क लाग्दा अन्र्तक्रियाको सामना गर्नुपर्ने हुन्छ । त्यसैले यसबाट बच्ने एउटा अनौठो उपाय भनेको केही दिनका लागि ‘ब्वाइफ्रेन्ड’ भाडामा लिनु हो ।

यसो गर्दा आफू पनि परिवारको किचकिचबाट बचियो र यो धेरै झन्झटिलो पनि हुँदैन । जस्तै एक दिनको ५० सिंगापुर डलरमा वेन छिआले तपाईँलाई घरसम्मै ड्राइभ गरेर पुर्याउने, आफन्तहरुसँग गफगाफ गरिदिनेदेखि तपाईँको आमालाई खाना पकाउन समेत सघाउन सक्ने बताउँछन् ।

यसमा उनले सबैका सामु तपाईँको प्रेमी या ‘फेक ब्वाइफ्रेन्ड’ बनेर परिवारलाई रिझाउनेछन् । २१ वर्षीय वेनले आफूलाई नयाँ वर्षका लागि एक उत्तम ‘डेट’ का रुपमा टिकटकमा विज्ञापन गरेका छन् । उनको सो भिडियाले २ लाखभन्दा बढी भ्युज पाएको छ । यसमा वेनले ग्राहकसँग सबै किसिमका सम्झौता गर्न सक्ने भनेका छन् ।

जस्तै कोसँग कस्तो व्यवहार गर्ने, केके गर्ने, आफूलाई बढी किचकिच गर्ने मानिसहरुलाई सम्हाल्ने सम्मका काम गरिने उल्लेख गरेका छन् । पेशाले फ्रिल्यान्स फोटोग्राफर रहेका उनले अहिलेसम्म दर्जनौँ प्रस्ताव पाइसकेको बताए । यसरी अहिलेका युवा वर्गले परिवार सुरु गर्ने सम्बन्धी कतिसम्मको दबाब खेप्नुपरिरहेको छ भन्ने यसबाट पनि स्पष्ट हुन्छ ।

युवाहरु परिवारबाट टाढा रहँदा आफ्नै हिसाबले स्वतन्त्र जीवन जीउन पाउने भएपनि परिवारकहाँ पुगेपछि आफन्तहरुका व्यक्तिगत प्रश्नबाट उम्किन सक्दैनन् । त्यसरी परिवार आफन्तजन भेट हुँदा प्रेम सम्बन्धको विषय सबैका लागि ठूलो चासोको विषय बन्ने गरेको समाजविद् मु जेङ बताउँछिन् ।

उमेर बढ्दै जाँदा पछिसम्म सिंगल रहिरहनुले पनि उनीहरुलाई पारिवारिक जमघटका बेला केन्द्रमा पारिरहेको हुन्छ । जुन कतिपयका लागि लाज लाग्दो, अफ्ठेरो र दिक्क लाग्दो समेत हुने गर्दछ । अर्की एक टिकटक प्रयोगकर्ताले पनि आफूलाई २१२ डलर दिएमा सम्भावित ग्राहकको घरमा जाने र अतिरिक्त १३८ डलर दिएमा पकाएर समेत खुवाउन सक्ने बताइन् ।

त्यस्तै कतिपय प्रयोगकर्ताले चाहिँ भ्यालेन्टाइन्स डेका लागि पनि यो अफर जायज हुने बताए जुन यस चाड भित्रै पर्दछ । फेब्रुअरी १ देखि सुरु हुने चिनियाँ नयाँ वर्ष एकदम भव्य रुपमा १५ दिनसम्म मनाइने पर्व हो । (साउथ चाइना मर्निङ पोस्ट)