डुडुवामा २ हजार २७० जेष्ठ नागरिकलाई कम्बल वितरण

बाँके । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो ।

गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल, च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । शुक्रबार ६७ जना गरि कुल दुई हजार दुई सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।

गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगञ्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८÷०७९ को पहिलोे त्रेमासिक साउनदेखि असोजसम्मको भत्ता वितरण भईरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एकएक वटा कम्बल र च्यवनप्राश वितरण गरि घरैसम्म पुर्याउने गरिएको छ ।

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।

वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले सामग्री हस्तान्तरण गरेका छन् । वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन ।