सर्लाहीमा रोकिराखेको ट्याक्टरमा बस ठोक्किँदा २४ यात्रु घाइते

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९, सुकेपोखरीमा रोकिराखेको ट्याक्टरमा बस ठोक्किँदा बसमा सवार २४ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये रुपन्देहीको श्रीकटन गाउँपालिका–१२ की २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भीर छ । चौधरीलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा पठाइएको छ । अरू घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको जनाइएको छ ।

आज बिहान करिब सवा ४ बजे भैरहवाबाट वीरगन्जतर्फ जाँदै गरेको लु२ख ४७५७ नम्बरको बस बिग्रिएर सडकछेउमा रोकिराखेको उखु लोड भएको ज२त ७८१ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।