विश्व सन्दर्भ

विश्वकै शक्तिशाली तस्बीर, जसले बेलायतमा मच्चायो हंगामा

हेर्दा सामान्य लाग्ने यो तस्बीर यतिबेला विश्वकै शक्तिशाली तस्बीरमध्ये एक बनेको छ । बेलायत गत वर्ष कोभिड–लकडाउनमा थियो र यो तस्बीर त्यही बेलाको बेलायती प्रधानमन्त्री निवासको हो । लकडाउनका बेला एकाघरका परिवारबाहेक अन्यसँग घुलमिल गर्न र अत्यावश्यक कार्यबाहेक बाहिर निस्किन नपाइने कानुन थियो ।

प्रधानमन्त्री निवासको यो गार्डेनमा भने एक दर्जनभन्दा बढ़ी मान्छेहरू जम्मा भएर ‘पार्टी’ गर्दै गरेको जस्तो दृश्य देखिन्छ । यद्यपि प्रधानमन्त्रीले यो ‘वर्क–मिटिङ्ग’ पछिको सामान्य ‘सिटिंग’मात्रै रहेको बताउँदै आएका थिए । अहिले यो इश्यु बेलायतको संसददेखि सड़कसम्म यतिठूलो बनिसकेको छ कि यसले प्रधानमन्त्रीको राजीनामा नआई सेलाउला जस्तो देखिन्न ।

टेबलमा कतिवटा वाइन ग्लास थिए, कतिवटा बोतल थियो, त्यहाँ उपस्थित मान्छेको बड़ी ल्याङ्वेज कस्तो थियो जस्ता एङ्गलबाट विश्लेषण र बहस भइरहेका छन् । प्रधानमन्त्रीले नै नियम कानुन उल्लङ्घन गरेकाले त्यतिबेला पुलिसले नागरिकमाथि गरेका सबै खाले जरीबानाको क्षतिपूर्ति दिनुपर्ने माग छ ।

नियन्त्रणबाहिर गइरहेको पेट्रोलियम र विद्युत मूल्य, दशकयताकै उच्च महँगी दर, उच्चतम सरकारी ऋण, युक्रेन सङ्कट लगायतका विषय त छँदैछन्, तर यो पार्टीको विषय नै यतिबेला राष्ट्रिय बहसको विषय बनेको देखिन्छ । यही विषयमा अन्तर्वार्तादेखि संसदसम्म सयौं पटक प्रधानमन्त्री बोरिस जोनसनले माफी मागिसकेका छन् । एउटै वक्तव्यमा दशपल्ट ‘सरी’ र एपोलोजी’ शब्द प्रयोग गरेको सुन्दा मलाई पनि अचम्म लागेको थियो ।

दिनदिनै उनलाई संसदमा याख याख पारेको दृश्य बड़ो रोचक देखिन्छ । यो सामान्य भाषामा भनिने पार्टीजस्तै भव्य त पक्कै थिएन भन्ने तस्बीरले पनि देखाउँछ । र यो कुनै बाहिरी रेस्टुरेन्टको जमघट पनि होइन । उपस्थित मान्छे पनि सरकारी कामकाजसँगै सम्बद्ध देखिन्छन् । अफिस र निवास एउटै भएपछि हामीले चिया खुवाएजस्तै बेलायती कल्चरमा वाइन अफर गर्नु सामान्य नै होला ।

तर सिङ्गो देश लकडाउनमा रहेको बेला कानुनको पहिलो पालना गर्नुपर्ने प्रधानमन्त्रीले नै कानुन तोड्नु र सरकारी बैठकसँग कुनै सम्बन्ध नहुने श्रीमतीहरू समेत त्यहाँ उपस्थित हुनुले ठूलो नैतिक सङ्कट त पारेको थियो नै, अहिले यो कानुनी सङ्कटका रूपमा विकास हुने लक्षण देखिन्छ । संसदमा प्रतिपक्षीदेखि आफ्नै सांसदले निकै कड़ा शब्दमा प्रश्न गर्ने र हरेक प्रश्नको प्रत्यक्ष सामना गर्नुपर्ने बेलायती व्यवस्था हेरेपछि हाम्रो देशमा प्रधानमन्त्री हुन धेरै सजिलो छ जस्तो लाग्ने ।

न पब्लिक प्रश्नको उत्तर दिनुपर्ने, न संसदलाई जबाफ फर्काउनुपर्ने । राजाले जस्तै वर्ष–दुई वर्षमा संसदको रोस्ट्रममा उभिएर एकपल्ट सम्बोधन गरे पुग्ने । त्यसमा पनि हाम्रो सम्बोधन भनेको त उही हो, तातो पानी पिउनुपर्छ, बेसार खानुपर्छ, कोरोना चट् हुन्छ । हाम्रो देशमा कोभिड़को समयमा विद्यालय बन्द थिए तर बालुवाटारमा हरेक दिन सयौं पार्टी कार्यकर्ता जम्मा भएर लौ आज सहमति भयो, ओलीले यस्तो कदम चाले, प्रचण्डले यस्तो धम्की दिए, पार्टी त फुट्ने नै भयोजस्ता खबर बाहिर आउँथे ।

पछि त सड़कमैं पुगेर हामी यहाँ छौं भन्दै भीड़ जम्मा गर्ने काम भयो । स्वयं प्रधानमन्त्रीले इतिहासकै धेरै मान्छे जम्मा गर्ने भन्दै प्रचण्डलाई नुहाउँदा नुहाउँदै साबुन सकिएको भाषण गर्थे । गोकुलदेखि ओम्नीसम्म काण्ड नै काण्ड थिए तर कुनै काण्डबारे प्रधानमन्त्रीले संसदमा कसैको प्रश्न सामना गरेर तथ्यपरक जबाफ दिएको देख्न पाइएन । अहिले त छ महिनादेखि एमालेले संसद नै बन्द गरेको छ । त्यसभन्दा अगाडि विघटन नै गरेको थियो ।

सांसदले एकसुका काम नगरी वर्शौंदेखि तलबभत्ता बुझ्ने देशमा तिनले प्रधानमन्त्रीलाई के प्रश्न गरून् । संसद खुलेको भए पनि देउबाले गर्ने भनेको बहस र छलफल होइन, सम्बोधन मात्रै हो । यसै पनि संसदमा सबैभन्दा कम उपस्थित हुनेमा एक पर्छन् देउवा । त्यो पनि कहिलेकाहीँ अर्कै विषयमा लेखेको टुक्रो पढ्ने बानी छ उनको । अरू त छोड्नुस्, यत्ति पढ़ेपछि हामीमध्ये धेरैको टाउको दुखी सक्यो । देशको अवस्था हेरेर होइन, मेरो नेताको अपमान किन गरिस् भनेर ! मैले पनि माफी मागेँ ल !

 

(नारायण गाउँलेको फेसबुक वालबाट)