कुराकानी

‘अपेक्षाभन्दा धेरै विकास गरेका छौं’

राप्तीसोनारी गाउँपालिका ९ वटा वडामध्ये एक हो, वडा नम्बर ७ । यस वडाको केन्द्र फत्तेपुरको सर्रामा रहेको छ । जुन साविक फत्तेपुर गाउँ विकास समिति रहेको थियो । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ साविक फत्तेपुर गाउँ विकास समितिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ मिलेर बनेको हो । यस वडाको कुल जनसंख्या १०५९४ रहेको छ । स्थानीय तहको निर्वाचत २०७४ मा यस वडाको वडाध्यक्षको रुपमा रामलखन थारु १३४४ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

साढे चार वर्षको अवधिमा वडामा स्थानीय विकासको आधारशिला वडा भएको छ । वडामा पूर्वाधार, स्वास्थ्य, कृषि, शिक्षा लगायतका क्षेत्रमा पनि पहिलेभन्दा विकास भएको छ । वडाध्यक्ष थारुले आफूहरु आएपछि विकास भएको बताउनुभयो । यसै सन्दर्भमा निर्वाचनका प्रतिबद्धता कति पुरा भए, सोही अनुसार विकास भयो की भएन, यो अवधिमा कस्ता विकास भए र आगामी योजनाका विषयमा वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुसँग गरिएको कुराकानीको सम्पादित अंश :

-000-

वडाध्यक्षका रुपमा जननिर्वाचित भएपछि हालसम्मको अनुभव कस्तो रह्यो ?

जननिर्वाचित भएर वडाध्यक्षका रुपमा आइसकेपछिको व्यस्तता निकै बढेको महसुस हुन्छ । साँझ बिहान २४ सैं घण्टा मोबाइलमा घण्टी बजिहाल्छ । वडाध्यक्ष भएपछि फोनबाट जानकारी लिएर वडाको समग्र विकासका साथै नागरिकको दैनिकीसँग जोडिएर धेरै खटिनुपरेको छ । कहिलेकाँही त अध्यक्ष नभएको भए राम्रो हुन्थ्योजस्तो लाग्छ । निर्वाचित भएपछि वडाको विकासको गह्रुँगो भारी बोकिरहेको महसुस हुन्छ ।

वडाध्यक्ष हुनुअघि जतिबेला जहाँ गए नि हुन्थ्यो । अहिले भने नागरिकको कामका लागि जतिबेला जहाँ पनि खटिनुपर्ने अवस्था छ । धेरै समयमा नागरिकको घरदैलो र गाउँबस्तीतिरै हुन्छु । यस्तो अवस्थामा कार्यालयमा पुग्ने सेवाग्राहीको काम नरोकियोस् भनेर वडा कार्यालय बाहिर रहेका अवस्थामा सेवाग्राहीलाई अनुकुल हुने गरी आफू भएको ठाउँ बोलाउने या आफै सेवाग्राही भएको ठाउँमा पुग्ने गर्छु । निर्वाचनपछि मेरो व्यक्तिगत जीवन भएजस्तो लाग्दैन । निर्वाचनपछि मेरो जिन्दगी नै साझा भइसकेको छ ।

पहिलेको व्यस्तता र अहिलेको व्यस्ततामा के फरक छ ?

पहिलेको व्यस्तता भनेको जतिबेला पनि फुर्सद मिल्यो । अहिले त्यस्तो छैन । अहिले कुनै पनि काममा पूर्ण जिम्मेवारी निभाउनुपर्छ । कार्यालयमा सेवाग्राहीहरु समयमै पुग्छन् भन्ने कुराले आफुलाई पनि समयमै कार्यालयमा पुग्नुपर्छ । नागरिकका गुनासा धेरै आउँछन् । ती गुनासाहरुको सम्बोधन गर्नुपर्छ । पहिले कुनै एउटा पार्टीमा मात्रै आवद्ध थिए । कहिलेकाँही पार्टी काममा सहभागी भइन्थ्यो ।

स्थानीय तहको निर्वाचनमा मतदाताहरुले जनप्रतिनिधिका रुपमा चुनेर पठाएपछि अहिले एउटा पार्टीको मात्रै नभएर म साझा व्यक्ति भएकै कारण सोही अनुसारको पदीय मर्यादा र हैसियतले बस्नुपर्छ । जनप्रतिनिधि भएपछि आएको जिम्मेवारी सकेसम्म तत्कालै पुरा गर्ने गर्छु । मसँग पहिलेजस्तो फुर्सदको समय छँदैछैन । जनप्रतिनिधि भएपछि अहिले जिम्मेवारी बढेको छ । आएका जिम्मेवारीलाई पुरा गर्दै अघि बढेको छु ।

जनप्रतिनिधि नहुँदाको अवस्थामा मैले स्थानीय युवा वा अगुवा भएका नाताले आएको समस्या समाधानका लागि पहल गर्दै आए पनि अहिले भने आफैंले समाधान गर्नुपर्ने हुन्छ । जनप्रतिनिधि नहुँदाको समयमा पार्टी, संगठन बिस्तार, नागरिकका काममा सरकार र नागरिकबीच समन्वयको काम हुन्थ्यो भने अहिले आफैै कार्यान्वयन तहमा हुँदा पहिलेभन्दा अहिले जिम्मेवारी निकै बढेको छ । त्यतिबेला आज नगरे भोलि गरौंला भन्ने हुन्थ्यो भने अहिले आजको काम आजै गर्नुपर्छ भन्ने जिम्मेवारीबोध पनि भएको छ ।

वडामा के–कस्ता विवाद र समस्या आउँछन् ?

थुप्रै प्रकारको समस्या आउँछन् । ती समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो । किनकी समस्या समाधानका लागि बिशेष ध्यान दिन आवश्यक छ । झैझडा, जग्गा जमिन विवाद, सरकारी कार्यालयमा परेको मुद्दा, अन्य सामाजिक समस्याहरु दैनिकजसो आइरहन्छन् । कतिपय मुद्दा आफैंले मिलाएर पठाउने गरेको छु । नमिल्ने मुद्दाहरु स्थानीय तहमा रहेको न्यायीक समितिमा पठाउने गरेको छु ।

कतिपय व्यवहारिक विषयसँग जोडिएका सामान्य विवाद वा समस्याहरुमा दुवै पक्षलाई राखेर वडा कार्यालयमै मिलाउँछौं । सामान्य विवादमा दुवै पक्षका गुनासाहरु सुनेर समस्याको गहिराईमा पुगेर दुवै पक्षलाई जितेको महसुस हुने गरी समस्या समाधान गर्ने गरिएको छ । हाम्रो वडामा भने हालसम्म त्यस्ता कठिन खालका समस्या अझैसम्म आएका छैनन् । वडामा सामान्यतया घरायसी विवाद, सामान्य झै–झगडाका मुद्दाहरु आउँछन् । सबैखाले समस्या र विवादलाई जनप्रतिनिधि र पीडित तथा पीडकको पक्षबीच नै समाधान गर्ने गरिएको छ ।

साथै वडामा उपभोक्ता समितिमार्फत काम गराउँदा एक पटकमा कुरा नबुझिदिने, सबै कागजपत्रहरु कर्मचारीले नै मिलाइ दिनुपर्ने लगायतका समस्याहरु छन् र हामीले त्यसलाई सहजीकरण गर्दै नागरिकका कामहरु सर्वसूलभरुपमै गरिरहेका छौं । सामान्यतया वडाभित्रका सेवाग्राहीहरु कागजात बिना नै कार्यालय आउने समस्या पनि छ । अपूरा कागजपत्र साथै आवश्यक कागजपत्रहरु हेरेर त्यसलाई सच्याउन सुझाव दिने साथै सक्दो सहयोग गर्ने गरेका छौं ।

जनताको साथ सहयोग कत्तिको पाउनुभएको छ ?

हाम्रो वडामा जनप्रतिनिधिलाई धेरै नै सहयोग मिलेको छ । यहाँका नागरिकले प्रत्यक्षरुपमा मलाई सहयोग गरेको आभास गरेको छु । कहिलेकाँही कतिपयले सेवाग्राहीले असजिलो समेत बनाउँछन् । निर्माण गरिएको योजना वा कार्यक्रम मन नपरेपछि विवाद गर्ने, मन प¥यो भने सहयोग र साथ पनि दिन्छन् । एउटा वडाध्यक्षले समाजमा बिभिन्न बिचार भएका व्यक्तिहरुको चाहना पुरा गर्न असम्भव पनि भएकाले सहयोग पनि हुन्छ असहयोग पनि हुन्छ । तर अहिलेसम्म असहयोग भएको भन्ने छैन । बरु असहयोगभन्दा सहयोग नै धेरै छ ।

जनप्रतिनिधिका विषयमा नागरिकले गुनासो ल्याउने गरेका छन् कि छैनन् ?

समाजमा थुप्रै व्यवहार भएका व्यक्तिहरु हुन्छन् । सबै एउटै हुन्छन् भन्ने पनि छैन । कसको मस्तिष्कमा के सोंच आएको छ, थाहा हुँदैन । काम लिएर भेट्न आउने सबैको चित्त बुझ्छ भन्ने पनि छैन । यसरी कतिपयको चित्त बुझाउन पनि सकिँदैन । यो अवस्थामा चित्त नबुझ्दा गुनासो आउने गरेको छ । हालै कोरोना संक्रमणकाल बेला राहत वितरणमा निकै धेरै गुनासा आएका थियो ।

पक्की घर भएका व्यक्तिलाई कसरी राहत दिने ? जो सारै समस्यामा परेको छ त्यसलाई राहत दिने कुरामा साथ नदिएर हामीलाई पनि राहात चाइयो भनेर माग्नेहरुलाई हामीले राहत दिन सकेनौं । त्यतिबेला राहात नपाएको भन्दै धेरै गुनासाहरु आए । आफ्ना नजिकका व्यक्तिलाई राहात बाँडेको भनेर आरोप पनि लगाइयो, तर हामी ती कुराहरुलाई चिर्दै निरन्तर अघि बढ्यौं ।

यस्तै कतिपय अवस्थामा प्रक्रियागत कागजात नमिल्दा कार्यालयमा आउने सेवाग्राहीहरुको काम रोकिन पुग्छ । त्यस्तो अवस्थामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफूहरको काम रोकेको भन्दै सेवाग्राहीले आरोप लगाउने गरेको पनि सुन्नुपरेको छ । तर धेरैजसो कार्यमा जनताले नजानेको खण्डमा जनप्रतिनिधि र कर्मचारीले आवश्यक कार्यहरुमा सहयोग गर्ने गरेका छौं । सकेसम्म गुनासो नै नआउने गरी कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाएका छौं ।

निर्वाचनपछि वडामा भएका राम्रा प्रयास र समस्याहरु के–के छन् ?

यस वडालाई नमूना वडा बनाउन आवश्यक पर्ने सबै पूर्वाधारहरु तयार भएका छन् । वडाको सेवा क्षेत्रमा आवश्यकता अनुसार सामुदायीक विद्यालय छन् । दुई ठुला खानेपानी आयोजना निर्माण हुँदैछन् । बाँके जिल्लामै नमूना स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ । यी विशेष कार्यहरुले यस वडालाई थप चिनाएका छन् । अझै यो वडाको स्वास्थ्य क्षेत्रलाई नमूना बनाउने कामको सुरुवात गरिएको छ । यद्यपी यहाँको स्वास्थ्य अवस्था अन्य वडाको भन्दा धेरै राम्रो छ । वडाभित्रका सबै टोल र बस्तीमा विद्युतीकरण भएको छ ।

वडामा बस्ती विस्तार, जनसंख्या वृद्धिदर बढ्दै जाँदा सबैखाले आवश्यकताहरु पनि थपिँदै जान्छन् । यसले ती आवश्यकताहरु तत्कालै पुरा गर्न केही कठीन हुँदा स–साना समस्याहरु आउन सक्छन् । तर हामीले स्थानीय सरकारका रुपमा निर्वाचित भएर आएपछि सकभर नागरिकहरुले कुनै प्रकारका समस्या झेल्न नपरोस् भन्नेमा सचेत छौं । त्यति हुँदाहुँदै पनि कहिलेकाहीँ आफ्नो काबुभन्दा बाहिरबाट आउने समस्यालाई जतिसक्दो छिटो कसरी समाधान गर्ने भन्नेमा हामी तल्लिन हुन्छौं ।

हाम्रो वडामा स्थानीय सरकारको काबुभन्दा बाहिरको ठूलो समस्या राप्ती नदीको कटान र डुबान हो । त्यस्तै चुरेबाट आउने खहरे खोलाको पानीले बस्ती डुबान वडाकै ठुलो समस्या हो । साथै बजेट अभावले वडाभित्रका धेरै सडकहरु अझै स्तरीकृत गर्न बाँकी छ । गर्दागर्दै पनि बजेट अभावका कारण विकास निर्माणका कामहरु अधुरै छन् । सडकहरु स्तरोन्नती गर्न सकिएको छैन भने वडाभित्र शुद्ध खानेपानीको समस्या छ । वडाभित्र दुई वटा खानेपानी ट्यांकी निर्माण भइरहेकाले उक्त समस्या पनि अबको केही समयमै समाधान हुनेमा हामी विश्वस्त छौं ।

अन्त्यमा थप प्रसंग र विषयहरु केही छन् ?

नेपालमा संघीय संरचना लागु भएपछि अब प्रत्येक पाँच वर्षमा स्थानीय निर्वाचन हुने र त्यसले स्थानीय सरकार परिवर्तन गर्ने व्यवस्था छ । संघीय संरचना लागु भएपछिको पहिलो जनप्रतिनिधिका रुपमा हामी आएका हौं । हाम्रो पहिलो कार्यकाल नीति, नियम, स्थानीय कानुन निर्माण मै केन्द्रीत रह्यो । बजेट कार्यान्वयन अवसर र चुनौतीका रुपमा थियो । कार्यालय तथा कर्मचारी व्यवस्थापन पनि निकै चुनौतीपूर्ण थियो ।

यो पाँच बर्षको अवधिमा हामीले जति गर्नुपर्दथ्यो, त्यति गर्न नसकेकोमा हामीलाई कता कता असहज महसुस हुने गरेको छ । यद्यपी हामीले निर्वाचनपछि सबै क्षेत्रमा अपेक्षाभन्दा धेरै विकास गरेका छौं । निर्वाचित भएपछिको अवस्थामा देश तीन तहमा विभाजन गरिएको थियो । संघ, प्रदेश र स्थानीय तहमा कानुनहरु नै नबनेको अवस्था थियो । यसकारण पनि हामीले काम गर्न चाहे पनि कानुनी जटिलताका कारण समस्या भयो । तर पनि हामीले पहिलो पटक स्थानीय कानुनदेखि विकास निर्माणका सबै कामहरुको व्यवस्थापन जति गर्न सक्यौं, यसमा पूर्ण सन्तुष्ट छौं ।

यी यावत् समस्या र व्यवधानका बीचमा निर्वाचनपछिका एकाध बर्षहरु ती सबै कुराको व्यवस्थापनमा बिते । अब स्थानीय तहको निर्वाचन संघारमा आइपुगेको छ । अब निर्वाचित भएर आउने जनप्रतिनिधिले बाँकी रहेका अधुरा कामहरु गर्नुहुनेछ । आगामी निर्वाचनमा आफ्नो गाउँठाउँको विकासका लागि आम मतदाताहरु पार्टीभन्दा माथि उठेर इमान्दार, कर्मठ, विकासप्रेमी, शालिन र भद्र व्यक्तिलाई जिताउनुहुनेछ भन्नेमा विश्वस्त छु ।