डुडुवाका किसानलाई बगर खेती गर्नुपर्ने बाध्यता

बाँके । बाँकेको डुडुवा गाउँपालिकाका किसान बगर खेतीमा लागेका छन् । किसानले बगरमा लगाएको तरबुजा, खरबुजाका बिरुवा उम्रिन सुरु भएको डुडुवा–१ का किसान राजितराम मौर्यले बताए । उनले बगरमा सखरखण्ड, आलु, तोरी लगायतका खेती पनि भएको जानकारी दिए ।

बगरमा सिजनअनुसार परबर, करेला, तरबुजा, खरबुजा, सखरखण्ड आलु लगायतका खेती पनि हुने गरेको छ । डुडुवा–३ मा सबैभन्दा धेरै बगरखेती भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले जानकारी दिए । बगरमा तोरी, मसुरो लगायतका बालीको पनि राम्रो उत्पादन हुन थालेको उनले बताए ।

बर्सेनि राप्ती नदीमा आउने बाढीले नदी छेउका धेरै खेत बगरमा परिणत हुँदै गएपछि किसानलाई बगर खेती गर्नुपर्ने बाध्यता भएको हो । बाँके जिल्लामा हाल नदीले कटान गरेको खेतीयोग्य जमिन करिब १०० बिघा रहेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए । राप्तीको किनारका सिधनीय, गङ्गापुर र डुडुवा लगायतका क्षेत्रको धेरै जग्गा बगरमा परिणत भएकाले त्यहाँ बगर खेती हुँदै आएको छ ।