धनगढीमा उपचाररत काेभिड संक्रमित महिलाको मृत्यु

कैलाली । धनगढी उपचाररत एक काेभिड-१९  संक्रमित महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज (शुक्रबार) मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज तीन सय ८३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ७३ जनाको पीसीआरमार्फत र तीन सय १० जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

कैलालीको त्रिनगर नाकाबाट भित्रिएका १८०, कंचनपुरको गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८६ र बैतडीको जुलाघाटबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिमका नाका भएर आज एक हजार ७९८ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण गर्ने गरिन्छ ।