भारतमा एकैदिन २ लाख ४७ हजारलाई कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अघिल्लो दिनको तुलनामा बुधबार २७ प्रतिशतले बढेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिन मंगलबारको भन्दा २७ प्रतिशत बढी हो। बुधबार कोभिड–१९ का कारण ३८० जनाको ज्यान गएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा बढी छन्। दैनिक संक्रमणदर १३.११ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या पाँच हजार ४८८ पुगेको छ।

हालसम्म भारतमा तीन करोड ५९ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोभिड–१९ का कारण चार लाख ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।