आजबाट थारु समुदायको ठूलो पर्व माघी सुरु

पश्चिम तराईका थारू बस्तीमा माघीको रौनक

फाइल तस्वीर

बाँके । पश्चिम तराईका थारू बस्तीमा माघीको रौनक छाएको छ । थारू बस्तीमा युवा र वृद्धवृद्धाहरु थारू पहिरनमा सजिन थालेका छन् । पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू अधिकांश गाउँबस्तीमा माघीको चहलपहल बढेको छ ।

कोभिड–१९ सङ्क्रमण फेरि पनि बढ्दै गएका कारण यस वर्ष महोत्सव, मेला र भीडभाड गरेर नाचगान नगर्ने निर्णय गरिए पनि माघीको तयारीमा लागेका बाँकेका अधिकांश थारू पुरुष सुँगुर खोज्नेदेखि लिएर अन्य काममा व्यस्त छन् । महिलाहरू रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुनाटपरी खुट्नमा व्यस्त छन् ।

पश्चिम तराईका जिल्लाका अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्ने लगायत कामको चटारो छ । पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू गाउँमा अहिले माघीकै लागि घरघरमा सुँगुर बाँधेका देखिन्छन् भने महिलाहरू दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् ।

माघीअघि नै सुँगुर काट्ने, रोटी पकाउने लगायतका काम गर्नुपर्ने हुँदा त्यसैमा ब्यस्त रहेको बाँके मैटहवाका दीपेन्द्र चौधरीले बताए । उनका अनुसार आफूहरूको संस्कृतिअनुसार सुँगुर मार्ने, माछा मार्ने, रोटी पकाउने लगायतका काम एक हप्ता अगाडिबाटै सुरु हुन्छ । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ ।

यस वर्ष कोभिड–१९ महामारीका कारण मेला, महोत्सव र भीडभाड गरेर नाचगान नगरी आ–आफ्नो बस्तीमा माघी मनाउने निर्णय भएको बाँकेका थारू अगुवा राजेन्द्र चौधरीले बताए । वर्षभरिको दुःख र श्रमलाई बिर्सदै थारू समुदायका बालबालिकादेखि वृद्धवृद्धाहरू अहिले माघीको तयारीमा जुटेका छन् । कोही गीत र नृत्यको तयारीमा जुटेका छन् ।

धेरैले घर सिँगारिसकेका छन् । आजदेखि पुस २९ देखि सुरू हुने सप्ताहव्यापी माघी पर्व थारू बस्तीमा सुरू भइसकेको छ । माघी पर्वका लागि थारू समुदाय अन्नपात कुटानी, लत्ताकपडा किन्ने र सरसफाइ गरिसकेका छन् । यतिबेला घर लिपपोत गरी सिँगारिएका छन् भने बस्ती सरसफाइ गरी चिटिक्क पारिएका छन् ।

थारू नाचगानले थारू बस्ती गुञ्जायमान बनेका छन् । मुलुकका विभिन्न स्थान वा विदेशमा रहेका थारू समुदाय माघ उत्सव मनाउन घर फर्किरहेका छन् । पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइने माघलाई मिठो खाने र राम्रो लगाउने उत्सवका रूपमा लिइन्छ । मघौटा नाच यो पर्वको अर्को विशेषता हो । नाचमा बूढादेखि बालकसम्म सहभागी हुन्छन् ।

‘माघी सुरु भएसँगै मीठो खानपिनका साथै घरघरमा गएर सकिया नाच गाएर रमाइलो गर्ने गर्छन्,’ बाँकेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारुले भने । उनका अनुसार यसै दिन ठूलाबडा वा आफन्तसँग आशीर्वाद लिने चलन छ । सन्तान नभएका व्यक्तिले शिवजीसँग सन्तानको वर माग्ने परम्परा पनि रहेको उनले बताए ।

भेटघाट र रमाइलो गर्ने तथा वर्षभरका लागि योजना पनि बनाइने भएकोले माघीलाई थारु समूदायले विशेष उल्लासका साथ मनाउने गरेको वडाध्यक्ष थारुले बताए । ‘माघीमा खानपान, नाचगान र भेटघाट मुख्य कुरा हो,’ उनले भने, ‘विशेषगरी मान्यजनबाट आशिष लिएर नयाँ काम सुरु गर्न माघीले सिकाएको हो ।’

यो पर्वमा ढिकरी, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने चलन छ । माघीको स्वागतको निम्ति यसको अघिल्लो रात ‘जिता मरना’ गरिन्छ । सो रात उनीहरूले सखिया नृत्य प्रदर्शन गर्छन् । भोली माघ १ मा नदी र जलाशयमा गएर लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का लुटाउने प्रचलन रहेको छ ।

नदी, खोला, तलाउमा नुहाएर सेतो चामलको टीका लगाउने र घरमा आएर आफ्ना चेलीबेटीका लागि नुन, चामल, दाललगायत कोसेलीका रुपमा छुट्याउने गर्दछन् । जसलाई थारुहरू ‘निसराउ’ भन्दछन् । संक्रन्तिको भोलिपल्ट दाजुभाइ आफ्ना दिदीबहिनीलाई निसराउ दिन जाने चलन छ ।

आफ्ना साथीसंगीसित एकआपसमा माघीको शुभकामना आदानप्रदान भइरहेको छ । घर–घरमा मासु, ढिक्री र जाँड खान दिएर पाहुनालाई स्वागत, सत्कार गर्न सुरु भएको छ । माघीको अवसर पारेर महत्वपूर्ण योजनाहरू निर्माण गर्ने प्रचलन छ । माघीको अवसरमा थारू समुदायले आ–आफ्नो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् ।

माघको दोश्रो दिनलाई ‘माघी डेवानी’ भनिन्छ । त्यस दिन गाउँका ‘भल्मन्सा’ अर्थात् बडघरकोमा भेला भएर वर्षदिन गरिएका क्रियाकलापको समिक्षा, गाउँको सामूहिक कामको आयव्यय विवरण सार्वजनिक गर्ने र नयाँ बरघर छनोट गर्ने चलन छ । यो क्रम थारु गाउँमा एक सातासम्म चल्छ । थारु संस्कृति र परम्परासित पनि बडघर प्रथा जोडिएको छ । माघी नयाँ वर्ष पनि भएकोले यसैबेला बडघर, चिराकी र गुरुवा छान्ने काम हुन्छ ।