जयपृथ्वीका १३ विद्यालयलाई ‘निशुल्क सेनेटरी प्याड’

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाभित्रका १३ वटा विद्यालयमा निशुल्क पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको छ ।

किशोरीहरुको शैक्षिक गुणस्तर उकास्न र किशोरीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले हियर नेपालद्घारा सञ्चालित किशोरी तथा महिला परियोजना अन्तरगत नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको छ । नगरमा रहेका ९ आधारभुत विद्यालय र ४ वटा माध्यामिक विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ ।

जसमा बालमन्दिर आधारभूत विद्यालयमा ४८, देवस्थली अधारभूत विद्यालयमा १६ बालविकास माविमा ५१, धौलदेउ आधारभूत विद्यालयमा ३ सुर्मा आधारभूत विद्यालयमा २०, नमुना आधारभूत विद्यालयमा १३, पाण्डु माविमा ७९, बाल विकास आधारभूत विद्यालयमा ७, नारायण माविमा ७५, भैरव आधारभूत विद्यालयमा, १०, लुयाटा आधारभूत विद्यालयमा २२, शिशु आधारभूत विद्यालयमा २१ र निलखट्टी माविमा २७ जना महिनावारी हुने किशोरीलाई प्रतिकिशोरी ५ पिसको एउटा प्याकेट सेनेटरी प्याड वितरण गरिएको हियर नेपालकी स्टाप नर्स पार्वती ऐडीले बताइन् ।

उनले भनिन्, ‘महिनावारी हुने किशोरी तथा छात्रा मात्र नभएर उनीहरुका आमाहरुलाई पनि गाउँमै गएर सेनेटरी प्याड वितरण गरिएको छ । जसमा ३९२ जना महिनावारी हुने किशोरीका साथै किशोरीका आमाहरुलाई पनि उक्त प्याड वितरणका साथै प्याड प्रयोग गर्ने तरिकासमेत सिकाएका छौं ।’ विद्यालयमा नै सेनेटरी प्याड वितरण गरिएपछि किशोरीहरुलाई बीचमै पढाइ छोडेर घर फर्कनुपरेको छैन ।

जयपृथ्वी नगरपालिकाका १३ विद्यालयमा अध्ययन गर्ने करिब ६२७ जना किशोरीहरु रहेकोमा ३९२ जना महिनावारी हुने किशोरीहरु रहेका छन् । विद्यालयमा सेनेटरी प्याड वितरण गरेपछी आफुहरुलाई विद्यालयमा आउनमा सजिलो भएको नारायण मावि पिमीमा अध्यनरत किशोरी आरती सिंहले बताइन् । उनले भनिन्, ‘सेनेटरी प्याड नहुँदा टेबुलमा बस्न अफ्ठ्यारो हुने, ब्लड बग्ने भएका कारण विध्यालयमा आउन लाज लाग्थ्यो । बीच कक्षामै घर जानुपर्ने बाध्यता थियो । अहिले सेनेटरी प्याड पाएपछि ब्लड सेनेटरी प्याडमै रोकिने भएकाले पुरै कक्षा पढ्न पाएका छौं ।’

सिंहका अनुसार यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल छुटेको छैन । विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफूजस्तै किशोरीलाई सजिलो भएको उहाँको भनाइ छ । संस्थाले विद्यालयहरुमा महिनावारी हुने किशोरीहरुलाई र उनका आमाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ भने अन्य विद्यालयमा अध्ययन गर्ने तथा महिनावारी नहुने किशोरी र तिनका आमा र किशोरलाई पनि किशोरा अवस्थामा हुने परिवर्तनका विषयमा १ दिने कक्षा पनि दिएको र किशोरकिशोरी सम्वन्धी किताबहरु पनि वितरण गरिएको संस्थाका जिल्ला संयोजक नारायणप्रसाद जोशीले बताए ।

महिनावारिको समयमा विद्यालय जाँदा विमला सिंहको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । संस्थाले विद्यालयमा प्याड वितरण गरेपछी प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि बीचमै कक्षा छोडेर जानुपर्ने नभएको बताए । उनले भने, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कति पल्ट आफू बसेको बेञ्चमा लागेको र आफूलाई अप्ठ्यारो महशुस हुन्थ्यो । अहिले फेर्नलाई झन्झट हटेको छ ।’

विद्यालयमा प्याड वितरण सुरु भएपछि विद्यालय आउने किशोरीहरूको सङ्ख्या बढेको नारायण माविका शिक्षक दिनेश शाहीले बताए । उनले भने, ‘अहिले पढाइमा कुनै वाधा पुगेको छैन । अहिले विद्यालय ढुक्क साथ आउन सकिने अवस्था छ ।’ संस्थाले विद्यालयमा किशोरीहरुलाई प्याड वितरण तथा किशोरकिशोरीहरुलाई किशोरावस्थाका बारेमा कक्षा दिएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति बढेको छ भने उनीहरूको शैक्षिक स्थिति पनि सुधार हुने अपेक्षा गरिएको समेत शाहीले बताए ।

साथै अविभावकहरुले उक्त कक्षाले किशोरकिशोरीहरुको व्यवहारमा समेत परिवर्तन भएको बताएका छन् । संस्थाले निशुल्क वितरण गरेका सेनेटरी प्याडहरु २ बर्षभन्दा बढी समयसम्म प्रयोग गर्न मिल्ने संस्थाले जानकारी दिएको छ । संस्थाले सबैगरी ६२७ किशोर, ४२३ जना किशोरी र ४४ जना शिक्षक गरी जम्मा १ हजार ९९ जनालाई किशोरकिशोरी सम्वन्धी कक्षा दिएको छ ।