कोरोना महामारी

ओमिक्रोनको संक्रमण बढ्दै गए ‘स्मार्ट लकडाउन’

ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न थालेपछि अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए ‘स्मार्ट लकडाउन’ गर्ने तयारी गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको हो ।

बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केहि क्षेत्र मात्र बन्द गर्ने गरि स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बताए ।

उनले पहिलेजस्तो सबै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केहि स्थान वा केहि क्षेत्रमात्र बन्द गर्नेगरि स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताए ।

भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परिक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

त्यस्तै स्थानीय तहमा नै कोरोना संक्रमितको उपचार गर्ने गरि स्थानीय निकायले व्यस्था गर्ने र त्यसकोे खर्च केन्द्र सरकारले व्यहोर्ने गरि तयारी गरिएको उनले बताए । बैठकमा कोरोनाबिरुद्धको खोप अभियानलाई तीव्रता दिन र बुष्टर डोजको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको मन्त्री खतिवडाले जानकारी दिए ।

बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान नै चलाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोना नियन्त्रण र उपचारका लागि सरकारले उचित व्यवस्थापन गरेको दाबी गरे ।

ओमिक्रोन बढ्न थालेपछि अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

विज्ञप्तीमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन उल्लेख गरेको छ । मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

त्यस्तै मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्ट पृष्टि भएको छ ।

पुस महिनामा एक हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेको मन्त्रालका प्रवक्ता संगीता मिश्राले जानकारी दिएका छन् । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । योसँगै नेपालमा ओमिक्रोन पृष्टि हुनेको संख्या २७ पुगेको छ । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ३१ ह्जार ५२ जनामा कोारेना पृष्टि भएको छ । जसमध्ये आठ लाख १३ हजार ७०९ जना संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा ११ हजार ६०२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्युदर १.४ प्रतिशत रहेको छ ।

मन्त्रालयको तथ्याङक अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । जसमध्ये पाँच हजार २८६ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आईसोलेसनमा ४५५ जना रहको मन्त्रालयले तथयांकमा उल्लेख गरिएको छ । त्यस्तै मन्त्रालयका अनुसार संक्रिय संक्रमित मध्ये आइसियुमा ८१ जना र १५ जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।