यार्सागुम्बाले दिएको पीडा

यार्साको मुल्य घटेपछि गाउँमा दाउरा बेच्दै महिला, पुरुषहरु भारततिर

बझाङ । पुस महिनाको मुटु कमाउने जाडो । त्यसैमा हिमपात भएको दुई दिन मात्र भयो । लेकाली भेगमा अझै पनि हिँउ पग्लन सकेको छैन । एकाविहानै घरखर्च चलाउनका लागि पिठ्युमा दाउराको भारी बोकेर बझाङको सदरमुकाम चैनपुर पुग्छिन् सुर्माकी राइमती बोहरा । चैनपुरबाट झण्डै ५ किलोमिटर टाढा पर्ने सुर्मा गाँउपालिका वडा नं. ४ बस्ने बोहरा, घर खर्च धान्नका लागि नै दिनहुँजसो दाउरा बिक्रीका लागि चैनपुर पुग्ने गर्छिन् ।

घरमा अन्य आयस्रोत नभएपछि परिवारको खर्च टार्न दाउराको भारीसँग दैनिकी बिताउने गरेको उनको भनाई छ । ‘परिवारमा कोही रोजगारी नै छैन । रोजगारीका लागि कि भारत जानुपर्छ । कि दाउरा बेच्नुपर्छ,’ राइमतीले भनिन्, ‘गाउँमा त्यतिधेरै उत्पादन हुँदैन । लेकाली भेग भएकाले गाउँमा राम्रो उत्पादन नहुँदा बर्षभरी खान पुग्दैन । दाउरा बेचेरै विहान वेलुका खान र छोराछोरीको पढाईका लागि दाउराको सहारा लिनुपर्ने अवस्था छ ।’

बोहराले महिनामा २० देखि २५ भारी दाउरा चैनपुर पुर्याउने गरेकी छन् । दाउरा बेच्नकै लागि सदरमुकाम चैनपुरदेखि ५ किलोमिटर टाढाबाट ४ बजे नै घरबाट हिँडेर ७ बजे चैनपुर पुग्ने गरेका छन् । जंगलबाट दाउरा बोकेर बजार पुर्याएको दाउराको भारीको मूल्य ४ सयदेखि ५ सयसम्म बिक्री गर्ने गरेको राइमतीसँगै दाउरा बेच्न हिँडेकी भेटिएकी अर्की महिला जुनकिरी बोहरा बताइन् ।

उनले भनिन्, ‘चिसोको समयमा बढी दाउरा बिक्री हुने र मुल्य पनि बढी पाइन्छ । ग्याँसहरु आएपछि होटलहरुमा पनि आजभोली दाउरा बिक्री हुन छोडेको र चिसोका कारण बजारमा बस्नेहरुले आगो ताप्नका लागि मात्रै दाउरा किन्ने गरेका छन् ।’ पिठ्युँमा दाउरा बोकेर बिक्री गर्न झिसमिसेमै सदरमुकाम चैनपुर पुग्ने सुनिता बोहराले पनि दाउराको भारीसँग साटिएको मेहनतले परिवारको खर्च राम्रैसँग चलाएको बताइन् ।

‘विहान दाउरा लिएर बजार जाने र आवश्यक सामान किनेर ल्याउने गरेकी छु । आवश्यक नभएको दिन पैसा बचत हुने गरेको छ,’ उनले भनिन् । सुनिताका श्रीमान राजेन्द्र बोहरा रोजगारीका लागि भारतमा छन् । भारतमा श्रीमानले दुख गरेर कमाएको पैसा खर्च गर्नुभन्दा खाली समयमा आफुले पनि कमाएर परिवारको खर्च चलाउँदा श्रीमानले पठाएको पैसा बचत गर्ने गरेको सुनिताले बताइन् ।

यार्साको मुल्य घटेपछि भारततिर

गत बैसाखदेखि असारसम्म स–परिवार यार्सा संकलनका लागि लेकतिर गएर यार्सा संकलन गरेको भए पनि हालसम्म यार्साको पैसा नपाएको सुर्मा गाँउपालिकाकी सुनिता बोहराले बताइन् । उनले भनिन्, ‘पाँच जनाको परिवार लेकमा गएर तीन महिनासम्म यार्सा संकलन गरियो । झण्डै आधा किलो यार्सा संकलन पनि गर्यौ । तर पैसा पाएको छैन । यार्साको मुल्य दोब्बरले घटेको छ । आफ्नो तीन महिनाको मेहनत पनि उठ्दैन । घाटा खाएर बेचेर के काम भयो ।’

अहिले घरखर्च चलाउन कै लागि सुनिताका श्रीमान भारतमा रोजागरी गर्ने गर्दछन् । यार्साबाट कमाई नै नहुँदा अहिले आफुहरु पनि घरखर्च चलाउनकै लागि भए पनि दाउरा विक्री गर्ने गरेको उनले बताइन् । केही वर्ष पहिले प्रतिकिलो १८ लाख रुपैयाँ विक्री भएको यार्सागुम्वाको मुल्य पछिल्लो दुई वर्षयता वृद्धि हुनुको साटो दोब्वरले घटेपछि कैयौं स्थानीयहरु रोजगारीका लागि भारततिर जान बाध्य भएका छन् ।

सुर्मा गाँउपालिका यार्सागुम्वाका लागि उर्वर भूमी रहेको र त्यहाँ बैसाखदेखि असार अन्तिमसम्म यार्साका लागि स–परिवार नै लेकतिर जाने गर्दछन् । यार्साबाट मनग्यरुपमा आम्दानी हुन थालेपछि लेकमा नै तीन महिनासम्म उतै बस्ने गरी जाने स्थानीयहरु पछिल्लो समय यार्साको मुल्य नै दोब्बरले घटेपछि पीडामा छन् । यार्साको मुख्य घटेपछि गाउँका पुरुषहरु भारततिर गएका छन् भने महिलाहरु दाउरा बेचेर परिवारको खर्च धानिरहेका छन् ।