नयाँ पार्टी खोल्ने तयारीमा वामदेव

काठमाडौं । विभाजित नेपालका कम्युनिस्ट समूहबीच सधैँ कार्यगत एकताका पक्षधर वामदेव गौतम यतिबेला स्वयं एक्लिएका छन् ।

राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने नेता वामदेव केही समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । राष्ट्रिय सभाको बैठकमा उपस्थित भए पनि पछिल्लो समय त्यहाँ पनि उनले केही बोलेका छैनन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा छ दशक बिताइसकेका वामदेवले राजनीतिबाट सन्न्यास लिन लागेको हो त ? यो सम्भव लाग्ने प्रश्न पनि होइन। त्यसो भए के गर्दै छन् त, वामदेव ?

वामदेवलाई लामो समयदेखि राजनीतिमा साथ दिँदै आएका डीबी कार्कीका अनुसार उनी निष्क्रिय छैनन् बरु पुराना दस्तावेजको अध्ययन, पुनरावलोकन, नयाँ दस्तावेज लेखन तथा सम्पादन र सार्वजनिक जीवनका विशिष्ट व्यक्तिहरूसँग भेटघाट बढाइरहेका छन् ।

सम्भवतः माघसम्ममा कम्युनिस्ट कार्यदिशा तर गैरकम्युनिस्ट नामको ‘लोकतान्त्रिक शक्ति नेपाल’ दललाई जन्म दिने प्रयत्नमा उनी सक्रिय छन् ।

नेपालमा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध पार्ने प्रयास असफल भएपछि वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट बनाएर समाजवादको दीर्घकालीन यात्रा थाल्न ‘लोकतान्त्रिक शक्ति’ निर्माणमा वामदेव लागेको धारणा नेता कार्कीको छ, गोरखापत्रमा खबर छ ।