समाचार

राप्तीको बगरमा तोरी फूलेपछि…

बाँके । डेढ दशकअघि पञ्चराम यादवको परिवार छिटैपूर्वामा बस्थ्यो । राप्ती नदीको बाढीले पञ्चरामको उठीबास लगायो । पञ्चरामको परिवार विस्थापित भएर पाँजामा सरे । विसं २०७१ सालमा आएको ठूलो बाढीपछि राप्ती नदीले धार परिवर्तन गर्यो । छिटैपूर्वा, पिप्रहवा, सिम्रहना, टेपरीगाउँलाई छोडेर राप्ती नदी पूर्व–उत्तरतिर बग्न थाल्यो ।

राप्ती नदीको डुबान, कटान र पटानले बगर बनेको छिटैपूर्वामा फेरि खेती सुरु भएको छ । दशक बढी बालुवा थुप्रिएको आफ्नो खेतमा अहिले लहलह तोरी फूल्दा पञ्चराम मख्ख छन् । ‘खेती हुन थालेको दुई वर्ष भएको छ’, आफ्नो खेतको तोरी देखाउँदै पञ्चरामले भने, ‘हेर्नुस् न, कति राम्रो तोरी फुलेको छ, हेर्दा नि लोभलाग्दो छ । राप्ती नदीले धार परिवर्तन गरेपछि हाम्रो जीवनको धार लयमा फर्किन थालेको छ ।’

पञ्चरामको भौतिक शरीर त पाँजामा बस्छ । मन, मस्तिष्क छिटैपुरुवामै हुन्छन् । बिहान उठ्नेबित्तिकै छिटैपुरुवामा आउने पञ्चराम साँझ परेपछि मात्रै पाँजा फर्कन्छन् । ‘मेरो जग्गा यतै छ । दिनभरि काम यतै हुन्छ । पाँजामा त सुत्नमात्रै जान्छु,’ पञ्चरामले भने, ‘जीवन नै यतै छ ।’ राप्ती नदी बग्दासम्म पञ्चरामको खेतमा कुनै उत्पादन हुँदैनथ्यो । राप्ती नदीले धार परिवर्तन गरेको केही वर्षसम्म पनि पञ्चरामले आफ्नो जमिनमा कुनै खेती गरेनन् ।

बरु उनको जमिनमा अरुले खेती गर्यो । पछिल्लो दुई वर्षदेखि पञ्चरामले आफै खेती सुरु गरेका छन् । पाँजामा बस्ने राकेश यादवको अवस्था पनि पञ्चरामको जस्तै छ । राकेशको पनि जग्गा छिटैपुरुवामा छ । राकेशको केही जग्गामा अझै अर्कैले खेती गरिरहेको छ । राप्ती नदीको डुबान, कटान र पटानले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कुन जग्गा कसको हो, छुट्याउन गाह्रो भएपछि जसले सक्छ, उसले नै खेती गर्ने गरेको किसानहरु बताउँछन् । यस्तो बाहुबलीको शिकार केही वर्ष पञ्चराम र राकेश भए ।

डेढ दशकअघि राप्तीमा ठूलो बाढी आउँदा छिटैपुरुवा, टेपरी, सिम्रहनाका ४६ घरपरिवारलाई सामुदायिक वनमा लगेर राखिएको थियो । त्यहाँबाट केही पाँजामा सरे । कोही आफ्नो पुरानो ठाउँमा फर्किए । राप्ती नदीले धार परिवर्तन गरेपछि यी आधा दर्जन गाउँका मानिसले ठूलो राहत पाएका छन् । छिटैपुरुवा छेउबाट अहिले डुडुवा खोला बगिरहेको छ । डुडुवामा पनि वर्खामा ठूलै बाढी आउने गर्दछ ।

राप्ती नदीले धार परिवर्तन गरेपछि डुडुवाको भलले ठूलो नोक्सानी पु¥याएको छैन । केहीको जग्गामा भने अहिले डुडुवा बगिरहेको छ । टेपरीका मुनिजर यादवले आफ्नो खेतमा डुडुवा खोला बगिरहेको बताए । बाटोपारि घर बनाएर बसेका यादवले बाटोपारि बगेको डुडुवा र त्यसको आसपासको जग्गा आफ्नो भएको बताए । यादवको परिवार दुई वर्ष हजरत सामुदायिक वनमा गएर बस्यो । जग्गा यतै थियो । एक कठ्ठा दिएर राखेको सामुदायिक वनमा यादवलाई बस्न मन लागेन ।

जग्गा छुट्याउँदै गाउँपालिका

राप्ती नदीले बगर बनाएको होलियाको तटीय क्षेत्रको जग्गालाई गाउँपालिकाले छुट्याउन सुरु गरेको छ । बगर भएकाले सबै उस्तै देखिँदा क–कसको जग्गा हो भन्ने विवाद भएपछि गाउँपालिकाले पिलर राखेर जग्गा छुट्याउन सुरु गरेको हो । पालिकाले अहिले साँध किल्ला छुट्याइरहेको छ । राप्ती नदीले धार परिवर्तन गरेपछि खेती हुन थालेकाले स्थानीयले आ–आफ्नो जग्गा छुट्याइदिन आग्रह गरेका थिए ।

आफ्नो खेतमा जोत्न जाँदा अर्काको समेत जग्गा समेटिने समस्या भएर ठूलो विवाद भएपछि गाउँपालिकाले चासोका साथ जग्गा छुट्याउन थालेको छ । भारतले सन् १९८५ मा लक्ष्मणपुर बाँध र २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि राप्ती नदी तटीय क्षेत्रमा डुबान, कटान र पटान सुरु भएको थियो । पछिल्लो समयमा भारतले दशगजामै सटाएर सडकजस्तो बाँध बनाएपछि नेपालतर्फ डुबानको जोखिम अझ बढेको छ ।