बझाङको मष्टा गाउँपालिकामा ११ वडा पु¥याइने

बझाङ । सुदुरपश्चिम प्रदेश मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पु¥याउने र अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पु¥याउने निर्णय भएको बताउनुभयो ।

हाल मष्टामा ९ वटा वडा र रामारोशनमा हाल ७ वटा वडा रहेका छन् । उहाँले भन्नुभयो, ‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ ।’

तत्कालीन अवस्थामा एउटा गाविस एउटा वडा बनाइएको र हाल भौगोलिक विकटता रहेकाले वडाको सङ्ख्या बढाउन पालिकाले सिफारिस गरेको मष्टा गाउँपालिकाका उपाध्यक्ष भगवती बोहराले बताउनुभयो ।

व्यवहारिक रूपमा काम गर्न तथा जनतालाई सेवा दिन असहज भएकोले ठुला वडा विभाजन गर्न गाउँ सभाबाट निर्णय भएको उपाध्यक्ष बोहराको भनाइ छ ।

हाल बझाङ जिल्लामा १२ पालिका र ९४ वडाहरु छन् । मष्टामा वडा विभाजन भए वडाको संख्या ९६ पुग्ने छन् । अछाममा १० पालिका र ९१ वडा छन् । रामारोशनमा वडा विभाजन भए जिल्लामा वडाको सङ्ख्या ९६ पुग्नेछ ।