अन्तरवार्ता

उहाँले कस्ता व्यक्तिलाई संसदमा पठाउनुभयो ?

घाटसम्मै पद लिएर जाने प्रचलनलाई माले महासचिव सिपी मैनालीले पनि अनुशरण गरेपछि उक्त पार्टीमा विद्रोह भएको छ । केपी ओलीजस्तै सिपीमा पनि व्यक्तिवादी अहंकारवाद हावी भएको भन्दै गत हप्ता स्थायी कमिटी सदस्य कुलप्रसाद शर्मा फुयाँलको नेतृत्वमा विद्रोह भएको हो । उक्त विद्रोहमा तनहुँका नेता शंकर पोखरेल पनि सामेल भए, उनीहरू माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । सिपीसँग शंकरको सान्निध्य २६ वर्ष पुरानो हो ।

कांग्रेस र पञ्चको दबदबा हुँदा बुबा रामचन्द्र कम्युनिष्ट पार्टीमा सक्रिय थिए । बुबाको पदचाप पछ्याउँदै कम्युनिष्ट बने । पाल्पा र स्याङ्जाको सिमाना रामपुरमा अध्ययन गरे । ०५२ मा बाल अखिल, ०५३ मा पृथ्वी नारायण क्याम्पस शिक्षा कमिटी, प्राक, जिल्ला हुँदै ०५६ मा नेकपा माले पार्टीको सदस्यता लिए । ०५८ मा वामदेव गौतमहरू एमालेमा फर्कंदा पनि मालेमै रहे । केही समय राजनीतिबाट निष्क्रिय रहेका पोखरेल ०६५ फागुनमा मालेको गण्डकी अञ्चल ब्युरो सचिव हुँदै छैटौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुगे ।

यसका अलावा गण्डकी प्रदेश खेलकुद विभागका प्रमुख, बुद्धिजीवी विभाग सदस्य, सिपी संयोजक रहेको संघ प्रदेश स्थानीय विभागको सचिव भएर काम गरेका उनी सिपीको अहंकारवादी चिन्तन शैलीका कारण माले परित्याग गर्दै प्राप्त उपलब्धिको रक्षा, कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने र कम्युनिष्ट केन्द्र निर्माण गर्ने उद्देश्य साथ नेकपा एकीकृत समाजवादीमा समाहित भएको बताउँछन् । हाल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका शंकर पोखरेलसँग गरिएको कुराकानी :

 

  • आठौं महाधिवेशनको मुखमै पार्टीबाट राजीनामा दिनुभयो । झण्डै २६ वर्ष लामो सिपी मैनालीसँगको संगत एक्कासि छाड्नुपर्ने गरी त्यस्तो तिक्तता के पैदा भयो ?

– नेपाली कम्युनिष्ट आन्दोलन कसरी अगाडि बढ्नुपर्छ भन्ने नै अहिलेको मुख्य समस्या हो । हामीले निर्माण गरेको नेकपा माले र यसको वर्तमान नेतृत्व गणतन्त्रविरुद्ध अग्रसर भयो । सातौं राष्ट्रिय महाधिवेशनमा नेपाल चिन्तन नामक दस्ताबेज ल्याइयो । भलै यो देशको भौगोलिक अवस्था, रणनीतिक महत्व र राष्ट्रिय संवेदनशीलतालाई नजरअन्दाज गर्न सकिँदैन । नेपाली जनताको आन्दोलन उपनिवेशवादविरुद्धको होइन । जनताको अधिकार प्राप्तिको आन्दोलन हो । प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने हो ।

यसविरुद्ध गणतन्त्र मूर्दावाद, राजतन्त्र जिन्दावाद भन्ने हिजोका दक्षिणपन्थी शक्तिसँगको गठजोडसहित आठौं महाधिवेशनको कार्यक्रम, राजनीतिक प्रतिवेदन बन्यो । त्यसमा हामीले फरक मत राख्यौं तर छलफल गर्ने वातावरण बनाइएन । एक हप्ता अघिसम्म पनि अहिलेको महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज के हो भन्ने कुरा लुकाएर गणतन्त्र, प्राप्त उपलब्धिविरुद्ध लेखिएका राजनीतिक प्रतिवेदन कम्युनिष्टका नाममा ढाँटछलका रूपमा अगाडि लैजान खोजिएपछि आफैंले निर्माण गरेर यहाँसम्म ल्याएको पार्टी बाध्य भएर छाडेका हौं । विचार, कार्यक्रम, कम्युनिष्ट आन्दोलन अघि बढाउन र जनताको उपलब्धि रक्षा गर्नका निम्ति विद्रोह गरिएको हो, एकाएक छोडिएको होइन ।

  • सिपी मैनालीको आनीबानी र स्वभाव कस्तो पाउनुभयो ?

– सैद्धान्तिकरूपमा हिजो माले र एमालेबीचको विभाजनमा कुनै तात्विक भिन्नता थिएन । सैद्धान्तिक विचलन घुसाएर दक्षिणपन्थी धारलाई अघि बढाइएको हुँदा त्यो विचारमा विद्रोह गरेर निरन्तर अगाडि लगियो । अहिले नेतृत्व गर्ने कमरेड सिपी मैनाली, जसलाई कमरेड भन्ने बाध्यात्मक परिस्थिति छ । उहाँ कम्युनिष्ट आन्दोलनको झण्डामुनि हुनुहुन्छ तर नैतिक आचरण, कार्यक्रम र उहाँले ल्याएको दस्तावेज हेर्दा संकीर्ण र दक्षिणपन्थी धारमा पूर्णतः जानुभएको छ ।

मलाई यहाँसम्म पुर्याउने, यी विषयको ज्ञान हासिल गर्ने सकारात्मक योगदान रहँदा रहँदै पनि नेतृत्वले लिएको नीति गलत भइसकेपछि नीति, विचार प्रधान मान्न त्यता रहने कुरा भएन । प्राप्त उपलब्धि रक्षाका लागि नेकपा एमालेबाट माधव नेपालको विद्रोह भयो । त्यसैमा हामी पनि समाहित भएका हौं । आन्दोलनबाटै पलायन भएका होइनौं । नेकपा मालेबाट खास विचार लिएर एकीकृत समाजवादीसँग वैचारिक एकता गरेका हौं ।

 

  • पूर्वसांसद, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यहरू माले छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । त्यहाँ तपाईंहरूको पोजिसन के छ ?

– एकीकृत समाजवादी पार्टीमा विभिन्न चरण पार गरेका नेता हुनुहुुन्छ । काम गर्ने, क्षमता दक्षताका आधारमा जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभएको छ । केन्द्रीय, सचिवालय, पोलिटब्युरोबाट आएका केही साथीलाई केन्द्रीय कमिटी, धेरैलाई केन्द्रीय परिषद् र प्रदेश निकायमा रहेर काम गर्ने वातावरण बनेको छ । हामी पदभन्दा पनि विचारलाई नेतृत्व गर्न आएको हुँदा विचारलाई अघि बढाउँछौं ।

  • आठौं महाधिवेशनबाट सिपी मैनाली फेरि महासचिव बन्नुभयो । उहाँले रहरले नभई बाध्यताले महासचिवको भारी बोक्नुपरेको बताउनुभएको छ । मालेमा सिपीको विकल्प अरू नभएकै हो ?

– फरक मत र विचार राख्ने साथीहरूलाई आफूकहाँ राख्नै चाहनुहुन्न । म व्यक्तिगत रूपमा दोष दिन चाहन्नँ, कहाँ कस्ता मान्छे उहाँसँग छन् भनेर यो सब नेपाली जनताले हेरिरहेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपा मालेले लिएको उद्देश्य बेठीक थिएन तथापि किन निर्माण हुन सकेन भनेर जनताले हेरिरहेका छन् ?

  • नेकपा माले, सिपी मैनाली एउटा इतिहास बोकेको पार्टी तर किन जनतामाझ भिज्न सकेन, संगठन किन बन्न सकेन ?

– उहाँलाई लागेको भन्दा अर्काे कुनै विषय र तथ्य छैन, कम्युनिष्टभित्र म संस्था हो, म बोस हुँ । म कहाँ मान्छे आउँछन्, चढ्छन्, जान्छन् । मेरो उद्देश्य कम्युनिष्ट आन्दोलन निर्माण गर्ने होइन भन्ने संकीर्ण तुच्छ मानसिकता भएपछि कसको के लाग्छ र ? विभिन्न चरणमा उहाँलाई छोडेर जाने सबै अगतिला उहाँ मात्र सहज ? उहाँ मात्र बौद्धिक हो त ? नेपाली जनताले उहाँलाई पुनर्मूल्यांकन गरेर हेरेका छैनन् होला ?

  • केपी ओली र सिपी मैनालीको संगत गरेकाहरू भन्छन्, उहाँहरूको ‘नेचर’ मिल्छ ? स्थिति त्यस्तै हो ?

– सिपी कमरेडमा फरक मत राख्ने, द्वन्द्वात्मक ढंगले एजेण्डामाथि विमति राख्नेलाई खेद्ने संकीर्णता छ । त्यो कम्युनिष्ट पार्टीको चरित्र नै होइन, पहिलो उहाँ चरित्रबाट विमुख हुनुहुन्छ । दोस्रो, उहाँ पार्टीविरुद्ध लाग्नेसँगै आशक्त हुनुहुन्छ । पार्टी छाडेर गएकाहरूसँग के कारणले हो उहाँ यतिविधि आशक्त हुनुभएको ? उहाँले संसद्मा कस्ता व्यक्तिलाई पठाउनुभयो ? कि त उहाँ गैरराजनीतिक व्यक्ति हो, राजनीति बुझ्नुहुन्न वा त केही न केही चिजबाट आशक्त हुनुहुन्छ ।

त्यसमा डुब्दा जे प्रयोग गरेर आएका थिए तिनले छाडेर गए । सही सुझाव दिने मान्छेसँग उहाँ नजिक पर्न चाहनुहुन्न । हिजो गणतन्त्रको पक्षमा मत हाल्नुभएन, अहिले गणतन्त्र विरोधीसँग हिमचिम बढाउँदै हुनुहुन्छ । आज सिपी मैनालीलाई धेरैले राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको इतिहासको रूपमा हेर्छन् । तर मलाई लाग्छ पुष्पलाललाई नचिन्ने, आफैंले उठाएको आन्दोलनलाई अगाडि नबढाउने र कम्युनिष्ट आन्दोलनबाट विमुख हुने पात्र हो उहाँ ।

  • सिपीको पार्टीमा अब नाता गोता र आफन्त मात्र बाँकी छन् भनिन्छ । किन त्यस्तो स्थितिमा पुग्यो नेकपा माले ?

– नाता नपर्ने साथीहरू ल्याउँदा पनि अवसर पाएपछि उहाँलाई छाडेर गए । कि त उहाँ आर्थिक रूपमा कमजोर हुनुहुन्छ केही स्वार्थ लिएर ल्याउनुभएको थियो र उहाँको राजनीतिक उद्देश्यमा साथ दिएनन् वा त उहाँ राजनीति बुझ्नुहुन्न जनताले उहाँलाई धेरै राजनीतिज्ञ बनाइदिएका मात्र हुन् । मेरो अनुभूतिमा उहाँ दुबै पक्षमा कमजोर हुनुहुन्छ । उहाँसँग अहिले मामा, भाञ्जा, टीका लगाएका बहिनीहरूको संख्या धेरै हुँदै गएको छ । यो कम्युनिष्ट आन्दोलनमा दुःखद कुरा हो ।

  • आफन्त र नातागोता मात्र बोकेर सिपीले नेकपा मालेको जहाज कहाँ पुर्याउनुहोला भन्ने लाग्छ ?

– ०५४ सालमा हामी मालेको नीति बचाउन र बनाउन गएका थियौं । मालेले के गर्छ, कसो गर्छ त्यहाँ बस्ने साथीहरूले लिने चिन्ता हो । नेकपा मालेले कम्युनिष्ट विचार छाड्यो भनेर पार्टी परित्याग गरेको मान्छेले सो पार्टीको भविष्यको चिन्ता गरेर केही फाइदा छैन । माले पुनर्गठन हुँदा स्पिरिटलाई बोकेर आएका छौं । अब त्यो पुनर्गठन एकीकृत समाजवादीमा अघि बढाउनु छ ।

अझ मालेमा रहनुभएका सिपीको छद्मभेषी कम्युनिष्ट आन्दोलन बुझ्न चाहनुभएका, बुझ्दा बुझ्दै पनि कतिपय समस्याले त्यहीँ रहनुभएका कतिपय साथीलाई कम्युनिष्ट आन्दोलन, प्राप्त उपलब्धि रक्षाका लागि गोलबद्ध हुन आग्रह गर्दछु । सिपी कमरेडले अझै पनि चेत्नुभएको छैन । एक दिन चेत्नुहुन्छ ।

  • एकीकृत समाजवादीमा त्यस्तो के आकर्षण देख्नुभयो र सो पार्टी रोज्नुभयो ?

– केपी ओलीको व्यक्तिपरस्त कार्यलाई स्विकारेर माधव नेपाल उहाँकै टाङमुनि छिर्नुभएको भए वा दक्षिणपन्थी धारलाई स्वीकार्नुभएको भए उहाँको अगाडि अवसर थिए तर उपलब्धि रक्षाका लागि सबै चिज छाडेर नयाँ आन्दोलन अघि बढाउनुभएको हुँदा हामी पनि सो विचारमा समाहित भएका हौं ।

  • श्रममन्त्री किसान श्रेष्ठ तपाईंकै जिल्लाबासी, उहाँकै कारण माले छाडेर एकीकृत समाजवादीमा लाग्नुभएको हो ?

– कृष्णकुमार श्रेष्ठ किसानलाई गत निर्वाचनभन्दा अगाडि चिन्दैनथेँ । सफल व्यवसायीका रूपमा त नाम सुनेको थिएँ । म विद्यार्थी जीवनबाट आएको, उहाँ व्यावसायिक जीवनबाट । त्यस्तो घनिष्ट सम्बन्ध छैन । पार्टी संगठन, विधि, पद्धतिको हिसाबले अहिले एउटै कमिटीमा छौं । उहाँलाई विकासप्रेमी नेताका रूपमा अरूले चिन्छन् मैले पनि सोही रूपमा चिन्छु । यसबाहेक व्यक्तिगत सम्बन्ध छैन । (जन आस्थाबाट)