१० औँ राष्ट्रिय महाधिवेशन सुरु

तस्बिरमा यस्तो देखियो एमालेको १० औँ राष्ट्रिय महाधिवेशन

५० ठाउँमा आकर्षक स्वागतद्वार

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनकाे नारायणगढमा रहेकाे नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।

नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनअघि स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा  झाँकीसहितका र्‍याली निकालिएको थियो ।

नदी किनारमा नअटेपछि ठाउँ–ठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता र कार्यकर्ताले महाधिवेशन हेरिरहेका छन् । महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन् ।

उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा र ब्यानर सजाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ ।

यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।