कांग्रेस बाँके क्षेत्र नंं १ को सभापतिमा पोषण केसी विजयी

बाँके । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नं. १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा संस्थापन इतरका पोषण केसीले संस्थापन पक्षका माधवराम खत्रीलाई ४७ मतान्तरले हराएका हुन् ।

६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन् । सचिवमा केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा केसी प्यानलबाट रामबहादुर रावत र खत्री प्यानलबाट दिपेन्द्र उप्रेती निर्वाचित भएका छन् ।

क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि छनौट गर्न हिजो भएको मतदानमा ६०१ मत खसेको थियो । ६०५ जना मतदातामध्ये ४ जना अनुपस्थित रहेका थिए । निर्वाचनमा पोषण केसी र माधवराम खत्री नेतृत्वका दुई प्यानलबीच चुनावी प्रतिष्पर्धा भएको थियो ।