राजनीति

माओवादी अध्यक्ष प्रचण्डद्वारा एमालेको महाधिवेशनको निम्तो ‘अस्वीकार’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेले उनकै गृहजिल्ला चितवनमा गर्न लागेको दशौँ महाधिवेशन उद्घाटनमा नजाने भएका छन् । एमाले केन्द्रीय कार्यालयले महाधिवेशनमा सहभागिताका लागि उनलाई दुई साताअघि नै खुमलटार पुगेर निम्ता बुझाएको थियो ।

कार्यालय सचिव शेरबहादुर तामाङसहितले दिएको निम्तालाई प्रचण्डले अस्वीकार गरेका छन् । तत्कालीन नेकपामा रहँदा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको विवादले उग्र रुप लिएपछि अहिले उनीहरु अलग अलग बाटोमा छन् ।

प्रचण्डले कांग्रेसलाई समेत मिलाएर ओली तथा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनाएको अवस्थामा उनी महाधिवेशनको उद्घाटन समारोहमा नजाने भएका हुन् । प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार बिहीबार अपरान्हसम्म एमाले महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्न जाने प्रचण्डको कुनै कार्यक्रम बनिसकेको छैन ।

एमाले महाधिवेशनलाई सम्बोधन गर्न पाँच दलीय गठबन्धनका शेरबहादुर देउवा, उपेन्द्र यादव र चित्रबहादुर केसी चितवनमा जाने भएका छन् । तर प्रधानमन्त्री देउवासहित तीन दलकै नेताहरु एमालेलाई शुभकामना दिन जाने भएपछि प्रचण्डमाथि पनि नैतिक दबाब परेको छ ।

यति हुँदाहुँदै पनि प्रचण्डले ओलीसँगको विगतको तिक्ततापूर्ण सम्बन्धलाई लिएर एमालेको मञ्चमा नउक्लिने मनस्थिति बनाएर बसेका छन् । प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले चितवन जाने नजाने निर्णय गरिनसके पनि अन्यत्रको कार्यक्रम भने तय भइसकेको छ ।

खुमलटार स्रोतले प्रचण्ड अन्तिम अवस्थामा चितवनमा नगएमा काभ्रेपलाञ्चोक जाने तालिका यसअघि नै तय भइसकेको छ । उनी काभ्रेका दुई गाउँपालिका आउन लागेको सूचना त्यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा पनि पुगिसकेको छ । त्यहीअनुसार जिप्रकाले उनका लागि डाँडापारिका गाउँमा सुरक्षा तयारी गरिसकेको छ ।

प्रचण्डको स्वागतमा बनाइएको पोस्टर

पछिल्लो समय उनी पार्टीको अधिवेशनदेखि देशका विभिन्न भागमा पुगेर उद्घाटन र शिलान्यासमा व्यस्त छन् । पाँच दलमा प्रधानमन्त्री जत्तिकै शक्तिशाली रहेको बताउँदै आएका उनले दुई सातायता चितवन, महोत्तरी, कैलालीसहितका स्थानमा पुगेर विभिन्न विकासे पूर्वाधारको शिलान्यास र उद्घाटन गरेका छन् ।

शुक्रबार कहाँ जाँदैछन् ?

अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवनमा ओलीले एमालेको दशौँ महाधिवेशन उद्घाटन गर्दै गर्दा काभ्रेको डाँडापारिका दुई गाउँपालिकामा हुनेछन् । उनी काभ्रेका विकट महाभारत र खानीखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रको गाउँपालिका सम्मेलन उद्घाटन गर्न हेलिकोप्टरबाट जाँदैछन् ।

माओवादी केन्द्र महाभारत गाउँपालिकाको सम्मेलन देवीटारमा हुँदैछ । त्यहाँ उनले बिहान ११ बजे सम्मेलनको उद्घाटन र सम्बोधन गर्ने कार्यतालिका छ । त्यसपछि उनी मध्यान्ह साढे १२ बजे छिमेकी खानीखोला गाउँपालिकाको तालढुंगा पुग्नेछन् । त्यहाँ पनि उनले माओवादी केन्द्र खानीखोला गाउँपालिका सम्मेलन उद्घाटन गर्ने छन् ।

माओवादी केन्द्रनिकट प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा खानीखोलाका स्थानीयबासी बुद्ध लोप्चनले प्रचण्डको स्वागतका लागि सबै तयारी पूरा भइसकेको बताएका छन् । ‘उहाँ (प्रचण्ड) डाँडापारिका दुईवटा गाउँपालिका सम्मेलनलाई सम्बोधन र उद्घाटनका लागि आउने गरी एक साताअघि नै कार्यतालिका बनिसकेको थियो,’ लोप्चनले भने ।

लोप्चनले शुक्रबारै प्रचण्डले दुवै गाउँपालिकाको सम्मेलन उद्घाटन गर्ने जानकारी दिए । लोप्चनका अनुसार प्रचण्ड डाँडापारिको खानीखोलामा पहिलो पटक पुग्न लागेका हुन् । खानीखोला र महाभारत जनयुद्धका समयमा माओवादीका पकड क्षेत्रका रुपमा चिनिन्थे ।