एमालेको १० औँ महाधिवेशन

एमालेमा कति छ भीम रावलको शक्ति ?

चुनाव जितिन्न भन्ने रावललाई थाहा छ, तर पनि उनले ओलीसँग भिड्ने घोषणा गरेर एमालेमा ओलीको शेखी झारेका छन् ।

भर्खरै

काठमाडौँ । पार्टीभित्रकै प्रतिपक्षी नेताका छवि बनाएका भीम रावलले अध्यक्ष केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिरहँदा उनले पार्टी मुख्यालय प्रयोग गर्नसमेत पाएनन् ।

आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको र कार्यलय प्रयोग गर्न लागेको शुरुमा उनले महासचिव इश्वर पोखरेललाई जानकारी गराएका थिए । तर महासचिव पोखरेलले उनलाई केन्द्रीय कार्यालय पूरै महाधिवेशन तयारीका काममा ब्यस्त रहेको र कार्यकक्षहरु पनि खाली नरहेको जानकारी गराए । त्यसपछि उनले उम्मेदवारी घोषणाका लागि स्थान रोजे, रिपोटर्स क्लवको भृकुटीमण्डपस्थित कार्यालय ।

त्यसपछि उनले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो अध्यक्षको उम्मेदवारी घोषणा गरे । एमालेभित्र ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने गरी गृहकार्य भइरहेका बेला रावलले ओली विरुद्ध उम्मेदवारीको घोषणा गरेका हुन् । २३ कार्तिकमा गृहजिल्ला अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै रावलले आफू अध्यक्षमा उठ्ने उद्घोष गरिसकेका थिए ।

‘ओली स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी दिन उपयुक्त सम्झेको छु,’ रावलले घोषणा सभामा भने ।

ओलीले फेरि एमाले अध्यक्षमा नदोहोरिने घोषणाको सम्मान गर्नका लागि आफू अगाडि बढेको उम्मेदवारी घोषणामा रावलले बताएका छन् । उनको अध्यक्षको घोषणाले ओलीलाई तात्विक फरक त पर्दैन । तर पनि सर्वसम्मत पदाधिकारी चयन गर्ने र आफु अध्यक्षमा सर्वसम्मत हुने गरी एमालेमा ओलीको विकल्प अहिले छैन भन्ने सन्देश दिने ओलीको चाहनामा भने ठेस लागेको छ ।

रावलको शक्ति कति ?

एमाले महाधिवेशन शुरु हुन अव ५ दिनमात्रै वाँकी रहँदा रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमार्फत ओलीलाई पुनः अध्यक्ष बनाउने, उनकै नेतृत्वमा पार्टीको शक्ति विस्तार गर्ने र आगामी निर्वाचनमार्फत ओलीलाई नै सत्ताको नेतृत्वमा लैजाने ओली पक्षका नेताहरुको दाउमा रावलको उम्मेदवारी घोषणाले ओली एमालेभित्र निर्विकल्प नेताका रुपमा नरहेको सन्देश दिएको छ ।

माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरुले अलग पार्टी बनाएको, बामदेव गौतमहरुले पार्टी छोडेको घोषणा गरेकाबेला अब ओलीले चाहँदासम्म एमालेभित्र कुनै नेता ओलीविरुद्ध उभिन नसक्ने दावी ओलीका नेताहरुले बताउँदै आएका थिए । एमालेभित्र ओलीलाई शक्तिशाली बनाउने र निर्विकल्प नेताका रुपमा चित्रित गर्ने एमाले ओली टिमको प्रयासमा रावलको उम्मेद्वारी घोषणाले धब्बा लागेको छ ।

ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेसँगै एमालेभित्र मात्र नभई वाहिर पनि रावलको एमालेभित्र कत्ति शक्ति होला ? लेखाजोखा शुरु भएको छ । एमालेको आठौं महाधिवेशनमा उपाध्यक्षमा पराजित रावल ९ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी बनेका थिए । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको प्यानलबाट उपाध्यक्षमा निर्वाचन जितेका रावल नेपालले पार्टी विभाजन गरेर गएपछि पनि एमालेमै रहेका थिए ।

१० बुँदे सहमति गरेर पार्टीभित्रै रहेका उनले त्यसको हुवहु कार्यान्वयनमा नेतृत्वले इमान्दारिता नदेखाएको बताउँदै आएका छन् । सुदूरपश्चिममा एक समय भीम रावल वलिया थिए । पार्टीले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने निर्णय गर्दासम्म सुदुरपश्चिमका प्रदेश सांसदहरुले भट्टकै पक्षमा मतदान गरेका थिए । त्यसवेला सम्म रावल सुदुरपश्चिममा बलिया थिए ।

ओलीलाई पनि रावल शक्तिशाली रहेको भान परेको थियो । तर जव माधव नेपालले पार्टी फुटाए । त्यसपछि भने रावलको साथमा एमालेका प्रदेश सांसदहरु रहेनन । माधव नेपालतिर लागे । उनी प्रदेशमै कमजोर बने । सुदूरपश्चिम प्रदेशसभामा तत्कालीन नेपाल पक्षमा १७ सांसद थिए । उनीहरु सबैले रावललाई नेता मानेका थिए । तर, पार्टी विभाजनमा तीमध्ये १३ जनाले नेपाललाई साथ दिए । ३ प्रदेश सांसद मात्रै रावलको पक्षमा रहे ।

आफ्नै गृहजिल्लामा पनि रावल निकै कमजोर बने । प्रदेशसभामा अछामका ४ एमाले सांसदमध्ये ३ जना मना साउद, दुर्गाकुमारी कामी र बलबहादुर सोडारीले रावलसँगको सम्वन्ध तोडे । त्यक्तिमात्रै होइन, रावलको सबैभन्दा निकट रहेर लामो समय काम गरेका उनको गृह जिल्ला अछामका जिल्ला अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पनि उनीसँगको सम्वन्ध तोडे ।

माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजे । त्यसपछि भने ओलीले पनि सुदूरपश्चिममा रावलको पकड गुमेको देखेर रावलको सट्टा लेखराज भट्टलाई नै निरन्तर अगाडी सारिरहे । यसले रावलको शक्ति एमालेमा कमजोर बनेको एमाले नेताहरु नै बताउँछन् । १० वुँदे सम्झौता गरेर एमालेमै रहेका आफ्नै समुहका १० नेताहरुमध्ये पनि घनश्याम भुसालबाहेक उनीसँग अहिले अन्य नेताहरु नजिक छैनन् ।

१० भाईमै प्रष्ट तीन धार देखिएको छ । रावल र भुसालको मत मिलेपनि योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य लगायतका नेताहरु अहिले ओलीसँगै मिलेर जानुपर्ने पक्षमा खुलिसकेका छन् । अन्तर्वार्ताहरुमै उनीहरुले ओलीको अहिले एमालेमा विकल्प नरहेको भन्दै सर्वसम्मत ओली अध्यक्ष बन्ने बताइरहेका छन् । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताहरु मौन छन् ।

उनीहरु रावल र भुसालको ओलीसँग भिड्न अहिलेको तरिकासँग सहमत छैनन । यसवाट पनि उनले १० भाईकै साथ र सहयोग पाउने सम्भावना अति कमजोर छ । महाधिवेशनमा एमलेले १९९९ प्रतिनिधी सहभागी गराउने बताएको छ । महाधिवेशन प्रतिनिधी छनौटमा एकछत्र ओलीमय देखिएको छ । महाधिवेशन चयनमा पूर्व माओवादी धारबाट वढीमा २०० र १० वुँदे पक्षधरवाट बढीमा ३०० मात्रै प्रतिनिधी महाधिवेशनमा चयन भएका छन् । बाँकी प्रतिनिधी सबै ओलीका छन् ।

१० वुँदे पक्षधरबाट छानिएका झण्डै ३०० प्रतिनिधीमा पनि रावलको पक्षमा कति खुल्छन् ? अहिले भन्न सकिने अवस्था छैन । तर त्यसमा उनको पक्षमा आधा पनि अर्थात १५० पनि नहुने एमाले स्रोतले बताएको छ । महाधिवेशन प्रतिनिधी सर्वसम्मतका नाममा एकलौटी गरिएको आरोप पनि रावलको छ । कैलालीमा उनले समानान्तर रुपमा महाधिवेशन प्रतिनिधी छानेका छन् । तर त्यसरी छानिएकालाई केन्द्रीय कार्यालयले बैधता दिने नदिने ठेगान छैन ।

जसले गर्दा पनि रावल ओलीका अगाडी निक्कै फिक्का हुने देखिएका छन् । रावल निकट मानिने जिल्ला समन्वय समितिका संयोजक सूर्य थापालाई प्रतिनिधि नबनाएपछि रावल निकटले समानान्तर प्रतिनिधि समेत बनाएको थियो । यसले पनि देखाउँछ रावल एमालेमा निक्कै कमजोर देखिएका छन् । तर पनि उनले जति भोट ल्याएपनि उनको उम्मेदवारी एमालेभित्र अर्थपूर्ण भने हुनेछ ।

सन्देशपूर्ण उम्मेदवारी

रावल आफैलाई लागेको छ, उनले महाधिवेशनबाट ओलीलाई जित्न सक्दैनन । ओलीका अगाडी महाधिवेशन प्रतिनिधीको संख्याका आधारमा फुच्चे मात्र हुन्छन् । उनीसँग विगतमा झै शक्तिको स्रोतका रुपमा न माधव नेपाल छन्, न सुदूरपश्चिम । तै पनि उनले अध्यक्षमा ओलीसँग भिड्ने गरी उम्मेदवारी घोषणा गर्नु आफैमा अर्थपूर्ण हुनेछ । उनको उग्र क्रान्तिकारीपन र लगत्तै नेतृत्वसँग सम्झौता गर्ने आत्मसमर्पणवादी चरित्रका कारण पनि उनको साख गिर्दाे छ ।

अहिले उनले घोषणा गरेको अध्यक्षको उम्मेदवारी पनि आफु उपाध्यक्ष या वरिष्ठ उपाध्यक्षमा सुरक्षित हुने अवतरणका लागि मात्र भएको बताउने हरु पनि एमालेभित्रै छन् । तर रावलले आफुलाई भरोसा गर्न र पार्टी जिम्मा दिन ओलीसँग पनि आग्रह गरेका छन् । रावल साच्चै अध्यक्षमा ओलीसँग भिड्ने लाइनमा टिकिरहे भने ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने एमालेको योजनामा व्रेक लाग्ने छ । एमालेमा ओलीलाई चुनौति कुनै नेताले दिन सक्दैनन भन्नेमा भने रावलले चुनौति दिएका छन् । (मेरो न्यूज)