होटल पर्यटन

स्तरोन्नतीतिर बाँकेका पर्यटकीय होटल, ‘चार तारे’ बन्यो ‘होटल सिटी प्यालेस’

होटल सिटी प्यालेसमा छिट्टै सञ्चालनमा आउन लागेको क्यासिनोले यहाँको अर्थतन्त्रलाई सहयोग गर्नेछ ।

भर्खरै

बाँके । बाँकेको नेपालगन्जमा ठुला होटलहरु स्तरोन्नती गर्ने होड नै चलेको छ । कोरोना महामारीका कारण दुई बर्षदेखि थिलोथिलो बनेको नेपालगन्जको होटल व्यवसाय अहिले बिस्तारै तङ्ग्रिँदै जान थालेको छ । बाँकेमा सामान्यदेखि ठुलाठुला होटल सञ्चालनमा आइरहेका छन् ।

कोरोना महामारीलाई छिचोल्दै पश्चिम नेपालको औद्योगिक र पर्यटकीय सहरका रुपमा रहेको नेपालगन्जमा होटल पर्यटनले तीव्र गतिमा फड्को मार्दै जान थालेको छ । कोरोना महामारीकै बीचमा स्तरोन्नती गर्दै नेपालगन्जको मुटु धम्बोझीमा रहेको होटल सिटी प्यालेसले चारतारे होटलको मान्यता पाएको छ ।

चारतारेको मान्यता पाएसँगै होटलले आफ्नो भौतिक संरचना सुधार गर्दै गुणस्तरीय, आधुनिक सुविधायुक्त बनाएको छ । २०७२ मा साततले भवनबाट सेवा सुरु गरेको होटलले गत महिनामात्रै चारतारे होटलको मान्यता पाएको होटलका प्रबन्ध निर्देशक लोकेन्द्र अर्यालले बताए । सिटी प्यालेस मात्र नभई बाँकेमा अन्य ठुला होटलहरु स्तरोन्नती भइरहेका छन् ।

चारतारे भएसँगै सिटी प्यालेसले आफ्नो स्वरुपमै परिवर्तन गरेको छ । कोरोना भाइरस संक्रमणले थला परिरहेको होटल, ब्यापार व्यवसायमा अनवरत सेवाभावले सेवा प्रदान गर्दै आएको होटल सिटी प्यालेस पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु होटलको साजसज्जा, अत्याधुनिक सुविधा, आरामदायी एवम् हस्पिटालिटीले आकर्षित हुने गरेका छन् ।

होटलले चारतारेको मान्यता पाएपछि आफ्नो स्वरुप परिर्वतन गरेसँगै होटलका हरेक स–साना कुरालाई सुक्ष्मरुपमा अध्ययन र निराकरण गर्ने गरेको होटल सिटी प्यालेसका प्रबन्ध निर्देशक लोकेन्द्र अर्याल बताउँछन् । सुरुवातमा ५० करोड लागतमा होटल निर्माण गरिएको प्रबन्ध निर्देशक अर्यालले जानकारी दिए ।

उनले भने, ‘चारतारेको मान्यताले यहाँबाट प्रदान गरिने सेवाको गुणस्तरता, पाहुनाको आरामदायी बसाई, रुची अनुसारको खानपान लगायतको विषयलाई सशक्तरुपमा परिस्कृत गरिएको छ ।’ चारतारेको मान्यता पाएपछि थप २५ करोड लागतमा यतिबेला होटलले पुरै मुहार फेरेको छ ।

सात तले भवनमा ६५ वटा कोठाहरु रहेका छन् भने थप ३० वटा कोठासहितको भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । होटलमा एक हजार जना व्यक्ति अट्ने बैंकट हल, झण्डै २०० जना अट्ने दुई वटा सेमनार हल, रेष्टुरेण्ट, सुनास्टिम जाकुजी, हेल्थ क्लब र स्पासहितको स्नानको ब्यवस्था छ ।

होटलमा स्विट, डिलक्स र सुपरडिलक्स गरी तीन तहका कोठाहरु ग्राहकलाई सुपथ मूल्यमा उपलब्ध गराइरहेको होटलका प्रबन्ध निर्देशक अर्यालले बताए । बाँकेको नेपालगन्जबाट पर्यटन प्रर्बद्धन गर्न होटल ब्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने पनि प्रबन्ध निर्देशक अर्याल बताउँछन् ।

उनी भन्छन्, ‘आन्तरिक तथा बाह्य पर्यटकका लागि पश्चिम नेपाल घुम्न नेपालगन्ज गेट–वेका रुपमा रहेको छ । यहाँ स्तरीय होटलले उहाँहरुको बसाई सहज र सरल बनाउन सहयोग गरिरहेको छ । यसैलाई मध्येनजर गरेर हामीले होटलको स्तरवृद्धि गरेका हौं ।’

नेपालगन्जबाट मानसरोवर, से–फोक्सुण्डो ताल, रारा, स्वर्गद्वारी, बाँके बर्दिया राष्ट्रिय निकुञ्ज, दैलेख तथा सुर्खेत धार्मिक एबम पर्यटकीय स्थलको अवलोकन, भ्रमण र दर्शन गर्न सहज र सरल हुने भएकाले पनि बाँकेमा होटल ब्यवसाय फस्टाउँदै गएको उनको दावी छ ।

प्रबन्ध निर्देशक अर्याल भन्छन्, ‘यसले नेपालगन्जसहित समग्र देशको आर्थिक कारोबारलाई सहयोग गर्छ ।’ पछिल्लो समय बाँकेको नेपालगन्ज क्यासिनो हबका रुपमा विकसित हुँदै गएकाले छिट्टै सिटी प्यालेसमा क्यासिनो सञ्चालन हुने बताउँदै उनले भने, ‘यहाँको अर्थतन्त्रलाई क्यासिनो सञ्चालनले सहयोग गर्छ ।’

क्यासिनोका लागि भारतीय आउने र उनीहरु यस क्षेत्रको पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेर जान्छन् । ‘नेपालगन्जमा ब्यापार व्यवसाय फस्टाउनु भनेकै समग्र पश्चिम क्षेत्रको लागि फाइदा हो । त्यसैले पनि नयाँ व्यवस्थापनसँगै अत्याधुनिक सुविधाबाट होटलको स्तरोन्नती गरिएको छ,’ अर्यालले भने ।

उनले होटलको नयाँ स्वरुप, ब्यवस्थापकीय तथा खानाका परिकार पस्किनु नै आफूहरुको विशेषता रहेको बताए । कोरोना भाइरस संक्रमणका पहिलो लहरमै होटल सिटी प्यालेसले आफ्नो सेवा बन्द गररे आइसोलेसन व्यवस्था गरेको थियो । पछि अन्य होटलहरुले समेत आइसोलेसनको व्यवस्था गरेका थिए ।

अस्पताल तथा आइसोलेसन केन्द्रमा विरामी भरिभराउ भइरहेका बेला होटल सिटीले न्यूनतम शुल्कमा आइसोलेसन व्यवस्था गरेपछि कोरोनाबाट संक्रमित थुप्रै विरामीलाई सहजता भएको थियो । कोरोनाका कारण लगभग शून्यमा झरेका नेपालगन्जका होटल व्यवसाय पुरानै लयमा फर्किन थालेका छन् ।

कोरोनाको जोखिमकै बीच खुला भएको बन्दाबन्दीपछि नेपालगन्जको होटल ब्यवसाय पुरानै लयमा फर्किन थालेको अर्याल बताउँछन् । बन्दाबन्दी सकिएपछि होटल व्यवसायीले लिएको घर भाडामा घरधनीसँग छुट गराएको थियो । यसो गर्दा नेपालगन्जका व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको थियो ।

यहाँका अन्य होटलले पनि नयाँ व्यवस्थापनका साथ काम गरिरहेका छन् । कोरोना कहरको अन्त्य भएको बिश्वाससँगै होटल व्यवसाय पुरानै लयमा फर्किन थालेको प्रबन्ध निर्देशक अर्यालले बताउँछन् । उनका अनुसार बाँकेका अन्य होटल व्यवसायीहरुले पनि आफ्नो होटलको धमाधम स्तरोन्नती गरिरहेका छन् ।

नेपालगन्जका होटल तथा पर्यटन व्यवसायलाई भारतीय पर्यटकले धानेका छन् । यहाँका होटल र सेवा सुविधा निकै स्तरीय छन् । यसैले पनि भारतीय पर्यटकहरुको आउजाउ चलिरहन्छ । नेपालगन्ज क्षेत्रमा रहेका ठूला र आधुनिक सुविधा सम्पन्न होटलको कारोबारले विस्तारै गति लिन थालेका छन् ।

नेपालगन्जमा रहेको होटल सिटी प्यालेससँगै होटल सोल्टी, स्नेह, बाटिका, सिद्धार्थ, सिग्नेट इन कृष्णा, स्टार लाइट लगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई नै आधार बनाएर सेवा सुविधाहरु प्रदान गरिरहेको पाइन्छ । यद्यपी उनीहरुले आन्तरिक पर्यटकलाई बढावा पनि दिइरहेका छन् ।

पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगन्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर सिटी प्यालेसले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो समय नेपालगन्जमा होटल पर्यटनको विकाससँग जोड्न खोलिएका मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगन्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्तिताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएपछि आन्तरिक तथा बाह्र पर्यटकको चहलपहल हुन थालेको छ ।

केही समय अघिमात्र नेपाल–भारत सीमानाका पूर्णरुपमा खुलेपछि भारतीय पर्यटकको आगमन विस्तारै बढ्दै आएको छ । यसैबीच नाटा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगन्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याउनु, नेपालगन्ज–पोखरा–नेपालगन्ज सोझो उडानसमेत गरिरहेको छ ।