जीर्ण बन्दै राप्ती लोकमार्ग, यात्रा जोखिमपूर्ण

फाइल तस्वीर

भर्खरै

सल्यान । कर्णाली प्रदेशको सल्यान, रुकुमपश्चिम र दाङसम्म पुग्ने राप्ती लोकमार्ग तीन जिल्लाको ‘जीवनमार्ग’ मानिन्छ । यो लोकमार्ग जीर्ण भएको धेरै वर्ष भइसक्यो तर मर्मत र स्तरोन्नति गर्न कसैको ध्यान पुगेको छैन । दाङदेखि सल्यान–रुकुमसम्म पुग्ने राप्ती लोकमार्ग मर्मत र स्तरोन्नति नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको हो ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने भएपछि यस लोकमार्गमा यात्रा गर्ने यात्रुलाई मात्र होइन, गाडी चालकलाई समेत समस्या भएको छ । चालक जुद्धबहादुर खत्रीले बर्सेनि ठाउँठाउँमा सडकमा परेका खाल्डा पुर्ने काम भए पनि ठेकेदारको लापरबाही र सरोकारवाला निकायको बेवास्ताका कारण सडक गुणस्तरीय नभएको बताए ।

चालक नवीन रेउलेले कालोपत्रे गरिएको सडक अहिले कच्चीजस्तै भएको बताए । सल्यान रुकुम यातायात व्यवसायी प्रालिका अध्यक्ष अरविन्दकुमार राईले सडक स्तरोन्नतिका लागि सरोकारवाला निकाय गम्भीर नभएको बताए । स्तरीय सडक नभएकै कारण एक घण्टामा पुग्ने ठाउँमा अहिले तीन÷चार घण्टा लाग्ने गरेको उनको भनाइ छ ।

२०४० सालमा सम्पन्न भएको राप्ती लोकमार्गमा २०४४÷४५ देखि यातायातका साधन सञ्चालन भएको थियो । सडक सञ्चालनमा आएको झन्डै तीन दशकपछि मात्र कालोपत्रे गरिएको सो सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै सबै उप्किएपछि यातायात सञ्चालनमा कठिनाई भएको सल्यान रुकुम यातायात व्यवसायी प्रालिका अध्यक्ष राईले बताए ।