ब्लग

दुर्गमता लुकाइरहेको राराको भव्यता

भर्खरै

तपाईंले अहिलेसम्म संसारको सबैभन्दा सुन्दर ठाउँमा पुगेको अनि यो समय सधैं रहिरहोस् जस्तो महशुष गर्नुभएको छ ? म त्यस्तो ठाउँमा पुगेको छु । मैंले नोभेम्बर महिनामा मुगु जिल्लामा रहेको रारा तालको भ्रमण गरें । समुद्र सतहबाट २,९०० मिटर उचाइमा रहेको रारा ताल मध्यपश्चिम नेपालमा रहेको देशकै सबैभन्दा ठूलो ताल हो । शान्त पहाडका बीचमा मन नै आह्लद्दीत तुल्याउने र जति वर्णन गर्दा पनि अपुरो हुने मनोरम दृश्य ।

जब तपाईं सुन्दर तालको छेउमा उभिएर चारैतिर हेर्नुहुन्छ, तपाईंमा अद्भुत अनुभूति उत्पन्न हुन्छ । नीलो आकाश, सल्लाका सग्ला रुखहरुको हरियाली, लहरै उभिएका हिउँले ढपक्क ढाकेका हिमाल, गहिरो अनि नीलो र झण्डै जम्न लागेको पानी साँच्चिकै मन्त्रमुग्ध पार्ने दृश्य आँखाले कैद गर्छ, हृदयका स्पन्दनमा तिनै दृश्यको मोहकता अनुभूत हुन्छ । म दिनभर रारा तालको किनारमा बसेर दिन ढल्केको हेर्न चाहन्छु ।

राराले दिनलाई कसरी स्वागत र बिदाइ गर्छ भनेर एकटकले हेर्न चाहन्छु । उक्त क्षेत्रमा घुम्दै गर्दा मलाई त्यस ठाउँको दुर्गमताले भने सताइरह्यो । रारा तालसम्म पुग्ने बाटो छिचोल्नका लागि म र साथमा रहेका केही पत्रकारहरुको टोलीले झण्डै ६ घण्टाको पैदल यात्रा गरेका थियौं । यो यात्राको दौरानमा एउटामात्र चिया पसल भेटीयो । उनीहरुले हामीलाई गुलियो फिका चियाले स्वागत गरे । त्यो क्षेत्रमा एउटा मात्र राम्रो होटल रहेछ ।

हिउँदको याम भएर पनि होला पानी बरफ भएर बस्थ्यो, बगेर धाराबाट पानी झर्न तापक्रम पनि केही उकालो लागेको हुनुपर्थ्यो । हिउँदको निकै ठण्डा बिहानीमा हामी बस्यौं र चियाको चुस्की लिन थाल्यौं, कालो रङ्गका राजहाँसका बथान तलाउमा नाच्न थाले । त्यो सुन्दरता हेर्दै हाम्रो समूह रारा साँच्चिकै ‘धर्तीको स्वर्ग’ नै हो भन्ने निष्कर्षमा पुग्यौं । त्यसपछि हाम्रो कुराकानीको विषय त्यस ठाउँको गरिबीतर्फ मोडियो ।

‘मुगु नेपालका पिछडिएका जिल्लाहरुमध्येमा पर्छ,’ नेपालकै पुरानो समाचारपत्र गोरखापत्रका वरिष्ठ पत्रकार जुनारबाबु बस्नेतले भने, ‘मानव विकास सूचकांकमा पनि कमजोर ।’ त्यो रात हामी रारा ताल क्षेत्रमै बस्यौं, त्यसपछि अर्कोदिन नजिकैको गाउँमा फर्कियौं । यसभन्दा अघि नेपाली सेनाले चलाएको सवारीको मज्जा लिन पाइएको थिएन, त्यसमा हामीले तालको चक्कर लगायौं । त्यो दिन सफा थियो र तालको निर्मल पानीमा शानदार हिमालय र कञ्चन आकाशको प्रतिबम्ब तैरिरहेको देखिन्थ्यो ।

बिनिता शाह खड्का

हामी चार घण्टा ओरालो लाग्यौं, बाटोभर एकजना मानिस पनि भेटिएनन् । न त त्यहाँ कुनै पसल वा गतिविधिहरु नै थिए । मैंले हाम्रो भरियासँग कुराकानी अगाडि बढाएँ । मेरो कुराकानीको उद्देश्य यस्तो चट्टानी पहाडी क्षेत्रमा जीवन कस्तो हुन्छ भनेर बोध गर्नु थियो । उनको नाम सिंहे बिक । उनको जीवनमा अहिलेसम्म गाउँबाट बाहिर गएका छैनन् । गत वर्ष त्यहाँ सडक निर्माण भएपछि १७ वर्षको उमेरमा उनले पहिलोपटक मोटर देखे । ‘तर मैंले अहिलेसम्म मोटर चढेको छैन,’ उनले भने ।

रारा ताल क्षेत्रबाट मुगु सदरमुकामसम्म पुग्न पाँच घण्टा हिंड्नुपर्छ । त्यस क्षेत्रको एकमात्र विमानस्थल वर्षमा ८–९ महिनामात्र सञ्चालन हुन्छ । सामर्थ्य भएका र सीमित मानिसहरुले मात्र विमान सेवाको उपयोग गर्न सक्छन् । यसका अतिरिक्त, यातायातका अन्य साधनहरुको उपलब्धता सीमित छ । महँगो, अनियमित र अविश्वसनीय साथै असुरक्षित पनि । एउटा स्कुले बालकको आमा हुनुको नाताले मैंले महशुष गर्न सक्छु, त्यहाँका बासिन्दालाई आफ्ना बालबच्चा विद्यालय पठाउन र स्वास्थ्य केन्द्रसम्मको पहुँचका लागि कति अप्ठेरो हुँदो होला ।

सागर बुढा, ताल्चास्थित हामी बसेको होटल नजिकका बासिन्दा हुन् । उनी ७ वर्षे बालक हुन् । उनी विद्यालय जान दैनिक डेढ घण्टा हिंड्नुपर्छ । सागर २ वर्षको हुँदा उनकी आमा बितिन् । ‘पक्षघात भएर उनको मृत्यु भएको थियो,’ होटलका साहुजी प्रेम बहादुर रावलले भने । प्रेम बहादुर सागरको अलिक टाढाको नाता पर्छन् । ‘सबैभन्दा नजिकको स्वास्थ्य केन्द्र पुग्न पनि तीन घण्टा हिंड्नुपर्छ । तर हामीले सागरको आमालाई त्यहाँसम्म पनि पुर्याउन पाएनौं,’ प्रेमबहादुरले दुखित मुद्रामा भने ।

उक्त क्षेत्रमा अहिले केही कामहरु देखिन पनि थालेका छन् । त्यस क्षेत्रका कृषि विज्ञ ३० वर्षे जगत बहादुर भामले राराबाट सदरमुकाम जोड्ने सडक निर्माण भइरहेको बताए । ‘मानिसहरु सडक बनेपछि विकास बस चढेर आउँछ भन्छन्, अब चाँडै हामी बसमा चढेर यात्रा गर्न सक्छौं,’ मुस्कुराउँदै उनले थपे । नयाँ निर्माण भएको सडकले मुगुलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नेछ ।

‘ग्रामीण सडक निर्माण र सुधारका लागि सञ्चालित सडक परियोजनाले स्थानीय बासिन्दाहरुको यात्राको लागत घटाउनेछ र अन्ततः नेपालका विपन्न समुदायसम्म विकासको लाभ पु–याउनेछ,’ एसियाली विकास बैंक (एडीबी)का सामाजिक विकास अधिकृत लक्ष्मीप्रसाद सुवेदीले अगाडि भने । यति सुन्दर र मनोरम हुनुको बाबजुद पनि रारा ताल भ्रमण गर्न वर्षमा २०० मात्र पर्यटक आउँछन् । अब के सडकले स्थानीय जनजीवन सहज बनाउनुको साथै रारा ताल घुम्न अझै धेरै आन्तरिक र बाह्य पर्यटकहरु आउँछन् ?

यो त समयले बताउने कुरा हो । अहिले, स्थानीयबासी उत्साहीत भएर सडक निर्माण सम्पन्न हुने दिन अधीरताका साथ पर्खिरहेका छन् । ‘हामीलाई कसले गरिब भन्छ ? हाम्रो सामुन्नेमा रारा ताल छ,’ भाम भन्छन्, ‘सडकले उक्त गाउँमा नयाँ सम्भावनाहरु उजागर गर्नेछ । अनि धेरै मानिसहरु आफ्नो जीवनकालमा रारा ताल भ्रमण गर्ने सौभाग्य प्राप्त गर्नेछन् । वास्तवमा हामीले डोर्नियरमा उड्दै राराको भव्यता हेरेर आनन्दीत हुने अवसर पायौं । अर्कोपटक, म परिवारसँगै सडकमार्गबाट राराको भ्रमण गर्ने आशा गर्दछु । (एडीबीको वेबसाइटमा प्रकाशित बिनिता शाह खड्काको यो ब्लग साभारसहित अनुवाद गरिएको हो ।)