मेरो डायरी

नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला

भर्खरै

टोली नेता दीपक थियो । अहिले उसलाई नेपाली समाजले पत्रकार दीपक खरेल भनेर चिन्छ । ‘अपराध बीट’मा काम गर्ने पत्रकार भनेर अझ कतिपय ऊसँग थर्किन्छन् होला । दीपकहरु अपराध बीटभन्दा नाक खुम्च्याउँछन्, हामी बीट बिहीनहरुसँग । उनीहरुको सल्लाह हुन्छ, ‘सुरक्षा बीट’ भनौ न साथी । दीपकले धेरै ठाउँ चाहार्‍यो । जीवन संर्घषका लागि होइन्, इमानको पत्रकारिता गर्न । पछिल्लो पटक ‘नागरिक दैनिक’, ‘नेपाल खबर’ हुँदै ‘पर्दाफास’मा पुगेको छ । पर्दाफास अनलाइन उसले आफै सुरु गर्‍यो । अरुमा ‘जागिर’ खान्थ्यो । ‘सत्यसँग साक्षात्कार’ उसको नारा छ ।

०००

म उसको ‘बायोग्राफी’ लेखिरहेको छैन । ऊ बिना यो स्मरण अधुरो हुने भएकाले थोरै प्रसंग उल्लेख मात्र गरेको हु । तिहारमा म उसलाई सम्झिन्छु , त्यो भन्दा बढी नेपालगन्जलाई । त्रिभुवन चोकबाट थोरै पूर्ब हिन्दा रानितलाव आउँछ । अहिले सफासुग्घर होला । त्यो बेला निकै गन्हाउथ्यो । तर, त्यो बेलाको गन्ध पनि अहिले सुगन्धजस्तो लाग्छ । किनभने त्यो सँग जोडिएका छन्, अनेक–अनेक सम्झना । स्मृति–बिस्मृतीहरु आउँछन, जान्छन । ती निकै प्रितिकर छन्, अपार हार्दिक छन् । र, तिनले कहिलेकाही काली, कर्णालीको जस्तो छाल हानिदिन्छन् जिन्दगीमा ।

०००

रानितलावको छेउँमै थियो, महेन्द्र नमुना माध्यमिक विद्यालय । त्यो २०५१ साल तिरको कुरा होला । हामी सायद ९ कक्षामा पढ्थ्यौं । तिहार आउँदै थियो । हल्का चिसोले हान्न थालिसकेको थियो । दीपकले तिहारको बिदा हुनुभन्दा अघिल्लो दिन साउतिको श्वरमा सल्लाह होइन, आदेश झै गर्‍यो, ‘ए राजेन भोलिदेखि भैलो खेलौ बे ।’ उसले भनेपछि मान्नै पर्‍यो । तुरुन्तै टोलीको पनि घोषणा भयो । दीपक, म, रोशन, अभिराजलगायत एक दर्जन जति साथीहरुले सहमतिमा टाउँको हल्लायौं ।

०००

अलिक व्यवस्थित तरिकाले भैलो खेल्ने कुरा थियो, त्यसका लागि हामीलाई टाँगा चाहिन्थ्यो । सबैतिर पुग्न र सँगै जान त्यो जति राम्रो यातायातको साधन त्यो बेला अर्को थिएन । अझ नेपालगन्ज त टाँगाको सहर जस्तै थियो । नगर बस सेवा धेरै टाढाको कुरा भयो । कि रिक्सा, कि टाँगा । रिक्सामा थोरै मानिस अट्ने । टाँगामा सबैजना बस्न मिल्ने र त्यसमा माइकसहितको ‘साउन्ड सिस्टम’ हुने भएपछि त्यही रोजियो । टाँगा व्यवस्थापनको जिम्मा सायद रोशनले लिएको थियो ।

०००

पत्रकारिताका दौरान धेरै सहर, बस्तीहरु चहारियो । महेन्द्रनगर, बैतडीदेखि नेपालगन्ज र काठमाडौंसम्मै पुगियो । तर पनि निकै मौलिक सहर लाग्छ, नेपालगन्ज । बिबिधतायुक्त पनि । मधेसी, पहाडी, हिन्दू, मुस्लिम सबैको सरोबरी उपस्थिति छ । बिहानै बिपी चोकको मस्जिदबाट आवाज सुनिन्छ, ‘अल्ला हो अकबर…।’ बागेश्वरी मन्दिरमा घण्ट बजिरहेको हुन्छ, कान मै ठोकिन्छ, ‘हे राम हे कृष्ण…’ को त्यो श्वर । त्यो श्वर गुन्जिदा निद्रामा हुने त्यो उमेर र रहरको अहिले के कुरा गर्नु ?

अघि नै भनियो म नेपालगन्ज जस्तो बिबिधतायुक्त अर्को सहर भेटिँदन नेपालमा । बाहिर सडकमा निस्कदा अर्को धर्म, सम्प्रदाय र भाषाको मानिस भेटिन्छ । आफ्नै भाषा र लवजमा सोधिरहेको हुन्छ, ‘अरे दाजु, कहाँसम्म जानुहुन्छ के ?’ अहिले पनि त्यता जाँदा कहिलेकाही निर्धक्क भनिदिन्छु, ‘अरे जता मन लाग्छ त्यतै लानुस् के ।’ त्रिभुवन चोक, बिपी चोक, धम्बोझी चोक, कहिलेकाही रुपैडियासम्म पनि यसै जान मन लाग्छ, मनलाग्दी ।

०००

टाँगाको व्यवस्था भयो । हिनियो, सहर चहारियो । घर–घर पुगियो । भैलो खेलियो । अझ भट्याइयो, ‘यो घरैमा…।’ साना भुरा देखेर होला घरबेटी दाजु–दिदीहरुले झार्दैनन् त पैसो । लक्ष्मीको प्रबेश होस् भनेर कति भनियो, यता हामीलाई पैसो आउँदैन ? कसैले धेरैमा दिए, ५/१० रुपैया दिन्छन । तीन दिन यसरी नै बिते । साँझसाँझ जम्मा हुने, भैलो खेल्ने । अनि घर फर्किने क्रम चलिरह्यो । घरबेटीलाई खुसी पार्न केही साथीहरु त्यो बेलाको हिन्दी चलचित्र ‘रंगिला’को चर्चित गीत, ‘याही रे याही रे जोर मचाके नाचरे…, मिलके धुम मचारे…’ भन्दै मच्चिन्थे । अझ कतिपयलाई त रंगिला कै उर्मिला उपमा दिइन्थ्यो, आफूलाई अमिर खानसँग लुलना गर्दै ।

०००

तिहार सकियो, अघिल्लो दिन सबै जम्मा भए । महेन्द्र स्कूलकै छेउँमै थियो, बिज्ञान भवन । त्यहाँ एकजना साथीकै नातेदार कार्यरत थिए । ती तिहार बिदामा घर गएको मौका छोपेर हामी उनको निवासमा सुटुक्क छिर्‍यौं । चाबी, तालाको ‘जुगाड’ भइसकेको थियो । भैलो खेल्नुभन्दा अगाडीको योजना थियो, टन्न पैसा कमाउने र वनभोज जाने । पैसो गनियो । टाँगा, साउन्ड सिस्टमको हिसाब–किताब गरियो । जम्मा बच्यो, अढाई सय । अपेक्षा गरेभन्दा निकै कम थियो । अब के गर्ने ? सबैजना त्यो रात त्यही बाँस बस्ने र रमाइलो गफगाफ गर्ने योजना बन्यो । तर, घरमा खबर कसैले गरेका थिएनन् साथीहरुले भनेपछि मान्नैपर्‍यो भन्ने भाव धेरैमा देखियो ।

०००

त्यो रात धेरैलाई स्मरणीय होला, किनभने भोलिपल्ट अधिकांसले घरमा धुलाई भेटे । अहिलेको जस्तो माहोल थिएन, न फोन न सम्पर्क । एकातिर घर–परिवार चिन्तित । अर्कोतर्फ निष्फिक्री हामी । एउटाले भन्थ्यो, ‘अबे त्यल्लेत तलाई लाइन दिन्छ बे…।’ ‘प्रपोज हान, ‘बागेश्वरीमा लगेर बिहे गराउने जिम्मा मेरो ।’ अर्को रैथाने गुप्ता साथी भन्थ्यो, ‘नानपारा, बहराइच तिर मेरा इष्टमित्र टन्न छन् बे, दुई–चार हप्ता पालिहान्छन, त्यसपछि कौन चिन्ता छ ।’ तर अर्को दिन घर पुग्दाको चित्र–चरित्र बर्णन गर्न धेरैले सकेनन् । ‘गाली मात्रै होइन्, लाठी पनि खाएपछि धेरै दिनसम्म साथीहरुले न त रंगिलाकी उर्मिला सम्झिए, न लाइन मार्ने महेन्द्र माबिकी सहपाठी ।’ (राजेन्द्र नाथ/सीमारेखा)