कुराकानी

सधैं अभाव र राज्यको उपेक्षामा परेको कर्णालीमा प्रचुर सम्भावना

भर्खरै

काठमाडौंंको बुढानिलकण्ठ स्कुलमा एसएलसी र काठमाडौंंमै आइएस्सी अध्ययनपछि म पाइलट कोर्स गर्न अमेरिका गएँ । कर्णालीमा जन्मेको मेरा लागि अमेरिकामा गएर पढ्ने अवसर पाउनु सौभाग्यको विषय थियो । अमेरिकाबाट फर्केपछि मलाई एसियन एयरलाइन्समा जागिरको ‘अफर’ थियो तर म नेपाल वायुसेवा निगममा जागिर खान चाहन्थेँ । पाइलटको जागिर नखाएर म हुम्ला पुगेँ ।

त्यतिबेला २०४६ सालको आन्दोलन उत्कर्षमा पुगेको थियो तर हुम्ली जनता प्रजातन्त्रको उत्सव मनाउने हैसियतमा थिएनन् । हुम्लामा पहिलो पटक वामपन्थी र कांग्रेस पार्टीको स्थापना भयो । २३ वर्षको उमेरमा मैले कांग्रेसको जिल्ला सभापति बन्ने मौका पाएँ । अमेरिकामा पढे पनि मलाई किन–किन हुम्लामै गएर जनताको सेवा गर्ने रहर लाग्यो । त्यसैक्रममा राजनीतिमा जोडिएँ ।

०४९ सालको स्थानीय चुनावमा म जिविस सभापतिमा लडेको थिएँ तर काका वीरजंग शाहीसँग पाँच भोटले जिविसको सभापतिमा पराजित भएँ, तर पछि म जिविस सभापति बनेँ । मेरो सपना कर्णालीलाई आत्मनिर्भर बनाउने हो । सडक लगायत भौतिक पूर्वाधारको विकास गर्न सके कर्णाली अन्य प्रदेशभन्दा सम्पन्नशाली बन्ने निश्चित छ किनभने यस क्षेत्रमा मात्र २१ हजार मेगावाट विजुली उत्पादन गर्न सकिने सम्भावना छ । प्रचुर सम्भावना भए पनि कर्णालीका जनता परनिर्भर छन् ।

दाताको चामल कार्यक्रमका कारण कर्णालीका जनता परनिर्भर भइसकेका छन् । शहरमा सम्पन्न व्यक्तिको आकर्षण बनेको कोदो फापर छाडेर हुम्ली जनता भात मात्र खाना हो भन्ने अवस्थामा आइपुगे । सन् २००५ मा मैले एउटा लेख लेखेँ, ‘डन्ट किल कर्णाली विथ योर एड’ शीर्षकमा । मेरो आशय के थियो भने कर्णालीलाई परनिर्भर होइन, आत्मनिर्भर बनाऔँ । कर्णाली नदीको किनारमा ठूला उर्वर फाँट छन् तर सिंचाइ अभावमा ती फाँट बाँझा छन् ।

कर्णाली समृद्धिको आधार

च्याउ, झ्याउ र स्याउ कर्णालीको मुहार फेर्ने माध्यम हुन् । कर्णालीको ‘गुच्छे च्याउ’ जसको मूल्य प्रतिकेजी ३०÷३५ हजार रुपैया पर्छ, यसका लागि बजारको कुनै समस्या छैन । कर्णालीको गुच्छे च्याउको अन्र्तराष्ट्रिय बजारमा ठूलो माग छ । कर्णालीका जिल्लामा यसको व्यापक र व्यवसायिक खेती गर्न सकिन्छ । यसमार्फत कर्णालीमा बार्षिक करोडौं डलर भित्र्याउन सकिन्छ । गुच्छे च्याउ (मर्चेरा) एक किलोको ३० हजार रुपैयाँ पर्छ ।

त्यो हाम्रो ठाउँमा मात्र सुन्छ । त्यहाँ राज्यले विज्ञलाई पठाइ दिनुपर्यो । कर्णाली समृद्धिको दोस्रो सम्भावना भनेको स्याउ नै हो । काठमाडौंमा ५ हजार किलोमिटर टाढा अष्ट्रेलिया र चीनबाट स्याउ आइरहेको छ । नेपाल स्याउका लागि परनिर्भर छ तर बाटो अभावमा कर्णालीको स्याउ कुहिएर गएको छ । कर्णालीमा स्याउको व्यावसायिक खेती गर्ने सम्भावना प्रचुर छ । मुस्ताङमा एउटा व्यक्तिको स्याउ फार्मबाट ७० लाखमा स्याउ विक्री भएको खवर आएको थियो ।

कर्णालीमा पनि हामीले त्यस्ता स्याउ भिलेज नै स्थापना गर्न सकिन्छ । कर्णालीको अर्को संभावनाको क्षेत्र भनेको झ्याउ अर्थात जडीबुटी हो । कर्णाली जडीबुटीको खानी नै हो । कर्णालीमा यति महत्वपूर्ण जडीबुटी उपलव्ध छ, तर कुहिएर गएको छ । नेपालको जडीबुटीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधनका क्रममा पनि कुरा उठाउनु भएको थियो । कर्णालीका बहुमूल्य जडीबुटीलाई ‘हाइ भ्यालु लो भोल्युम’ बनाएर निर्यात गर्न सकिन्छ ।

कर्णालीमा वार्षिक करोडौं रुपैयाँको यार्सागुम्बा निर्यात हुन्छ । यसबाट पनि कर्णालीको कायापलट सम्भव छ । यस अतिरिक्त कर्णालीको फापर, सिमी र रातो मार्सी धान अहिले शहरमा धेरै माग भएको वस्तु बनेको छ । उच्च भेगको रातो मार्सी चामल एक जुन मधुमेह भएका रोगीका लागि औषधी सरह मानिन्छ । रातो मार्सी एक किलोले यहाँ तीन किलो बासमती चामल आउछ । यस्ता उत्पादनमार्फत कर्णालीको मुहार फेर्न सकिन्छ । तर सिंचाइ अभावमा कर्णालीका फाट उजाड बनेका छन् ।

सधै अभाव, राज्यको उपेक्षा

धेरै सम्भावना भए पनि कर्णालीका सबै जिल्लामा बाटो पुगेको छैन । तराईका जिल्लामा ६ लेनको बाटोको कुरा उठ्दा कर्णालीका जिल्लामा दुइ लेनको बाटो बन्न सकेको छैन । विकास भनेको मुख्य कुरा बाटो रहेछ । कर्णालीका लागि अहिलेको लागि सबैभन्दा महत्वपूर्ण कुरा बाटो नै हो । बाटो भएपछि विकासका अन्य संभावना आफै खुल्न थाल्छन् । कर्णाली विगतदेखि नै उपेक्षाको शिकार बन्न पुग्थ्यो । काठमाडौं लगायत देशका अन्य ठाउँमा घर घरमा टेलिफोन पुग्दा कर्णालीका जिल्लामा एउटा टेलिफोन पुग्नु ठुलो कुरा भयो ।

कर्णालीका जनता अहिले पनि राज्यका आधारभूत सुविधाबाट समेत वञ्चित छन् । विकास शहरमा केन्द्रीत हुदा कर्णाली सधै पिछडिएको छ । २१ औ शताब्दीको युगमा पनि कर्णालीका गाउँका जनताले राज्यको तर्फबाट न्युनतम सुविधा पाउन सकेका छैनन् । हुम्लाको लीली गाविसका जनताले एक दिन प्रश्न गरे, नून सुन र उन (कपडा) चाही चाइनाको, कानून मात्र नेपालको किन मान्ने ?

एकपटक लगानी सधै प्रतिफल

देशको भूगोल जति कर्णालीमा छ, तर विकास जति जनसंख्याले लिने भयो । कर्णालीले १५ प्रतिशत क्षेत्रफल ओगटेको छ, जनसंख्या ३ लाख ८८ हजार चानचुन छ । राज्यले कर्णाली विशेष ठाउँ हो भनेर सडक सञ्जाल विस्तार गरिदिए मात्र पनि धेरै कुरा आफै विकास हुदै जाने थियो । कर्णालीमा एक पटक लगानी गर्यो भने त्यहाँबाट आउने मात्र छ । करिव करिव २१ हजार मेगावाट विजुली निकाल्न सकिन्छ । तर कर्णाली राज्यको विभेदको शिकार बनेको छ ।

अहिलेको सरकारमा कर्णालीको एउटा पनि मन्त्री छैन, एकजना राज्यमन्त्री मात्र छन् । कमसेकम एउटा पहुँच भएको मन्त्रालय कर्णालीले पायो भने त्यहाँको विकासमा मद्दत पुग्ने थियो । डा.अरुणा उप्रेतीले कर्णालीको अनाजको बारेमा लेख्दै आउनुभएको छ, कर्णालीको अनाज यति महत्वपूर्ण भनेर लेख्नु भएको थियो । अन्य बुद्धिजीवीले पनि कर्णालीको उत्पादनको बारे लेखिदिए मात्र त्यहाँका जनताले उत्पादनमा लाग्ने थिए । तर कर्णालीलाई कुहिएको चामल बाँडेर परजीवी बनाइयो । कर्णालीको खाद्यान्न औषधी रहेछ, कोदो फापर, कावुलो औषधी रहेछ । तर विडम्बना कर्णालीका मान्छे कोदो खादा खस्रो भयो भनेर चाउचाउमा पल्किए ।

कामका लागि खाद्य कार्यक्रमले गर्दा कर्णालीका जनताको मानिसको स्वाद फेरियो, तर उत्पादन कम भयो । सुन्धारामा चिकेन ढिँडो खाँदा २ सय रुपैयाँ पर्छ, जबकि बासमती चामलको भात खादा डेढ सय मात्र । यो कुरा कर्णालीका जनतालाइ बुझाउन सक्नु पर्यो । हुन त चामल बाँड्ने नीतिको विरोध गर्दा त्यहाँका जनता मसँग रिसाए । तत्कालका लागि विरोध भएपनि कर्णालीलाई आत्मनिर्भर र विकास गर्न चामल बाँड्ने होइन उत्पादन गर्ने प्रविधि सिकाउनु पर्यो ।

कर्णालीको उत्पादनले मात्र चामल नपुग्ला त्यसका लागि तराईको चामल पहाडमा पठाउने, पहाडको कोदो फलफुल तराइमा पठाएर नै देश आत्मनिर्भर बन्ने हो । विश्वमा कहीँ पनि सबै कुरा एकै ठाउमा उत्पादन हुने त होइन । कर्णालीको सिमी यति राम्रो छ, जसको माग बढिरहेको छ । फापर औषधीको रूपमा विकास हुन थाल्यो । बजेटको फिगर हे¥यो भने कर्णालीमा लगानी भएजस्तो देखिन्छ । तर एक करोड बजेटको मध्ये ७५ लाख त भाडामै सकिन्छ । हालै अखबारमा आएको थियो, कर्णालीमा चामल ढुवानी गर्न ४८ करोड लगानी भएछ । हामीले चामल होइन पानी भनेका छौं ।

कर्णालीको तीरमा फाट छ, तर सिंचाइ नभएर छटपटाइरहेको छ । त्यहाँको जमीनलाई उर्भरा बनाउँदा मात्र पनि कर्णालीलाई खान पुग्छ । गतवर्ष नेपालले २ अर्बको कोदो भित्राएको रहेछ । त्यो कोदो कर्णालीले उत्पादन गर्न सके २ अर्ब बाहिरिने थिएन । यसका लागिपनि व्यबसायीक खेती गर्नुपर्यो । एकै जनाले गाईभैसी, भेडा च्याङ्ग्रा र खच्चड पाल्ने होइन । एक जनाले एक थोक उत्पादन गर्ने नीति बनाउनुपर्यो । (कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग गरिएको कुराकानी ।)