प्रदेश राजधानीमै बम पड्किँदा दुई जना घाइते

सुर्खेत । सामुदायिक वनमा घाँस काट्दै गर्दा वेवारिसे बम पड्किएर कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दुई जना घाइते भएका छन् । बेवारिसे बम पट्किदा घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा गुराँश गाउँपालिका–६, दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर–७, ईत्राममा बस्दै आएकी २१ वर्षीया लिला नेपाली र उनका भाई १४ वर्षीय नरेश परियार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आज विहान कटकुवा सामुदायिक वनमा घाँस काट्दै गर्दा वेवारिसे बम पड्केर उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार घाइते दुवै जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेको स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । जंगलमा वेवारिसे पड्किएका वमहरु पुराना हुन वा कसैले नयाँ राखेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।