कोरोना महामारी

जमुनाहा नाकामै ३८ हजार नेपालीको एन्टिजेन परीक्षण

बाँके । भारतका विभिन्न ठूला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन विगत दुई महिनाको अवधिमा स्वदेश फर्किएका दुई लाख ४८ हजारभन्दा बढी नेपालीको यहाँस्थित जमुनाहा नाकामा स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोनाको तेस्रो लहरको सम्भावनालाई ध्यानमा राखेर जोखिममा रहेका भारतीय ठूला सहरमा काम गरेर फर्किएका नेपालीको स्वास्थ्य जाँच गरी शङ्कास्पदको कोरोना परीक्षण गरेपछि मात्रै नेपालमा प्रवेश दिइएको हो ।

गत दुई महिनाको अवधिमा भारतबाट फर्किएका दुई लाख ४८ हजार ४१३ जनामध्ये ज्वरो र रुघाखोकी देखिएका ३७ हजार ९७० जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको बाँकेका कोरोना ‘फोकल पर्सन’ तेज ओलीले बताए ।

उनले परीक्षण गरिएकामध्येबाट ३९१ जनामा कोरोना पुष्टि भएको जनाउँदै तीमध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाइएको र जटिल अवस्था देखिएकालाई उपचारका लागि भेरी अस्पताल पठाइएको बताए ।

कोभिड महामारी पुष्टि भएकालाई नाकाबाटै अलग गरेर सुरक्षित रूपमा सम्बन्धित ठाउँमा पठाउन सफल भएकाले कोरोना सङ्क्रमण फैलिन नपाएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार सीमा नाकामा अत्याधुनिक हेल्थ डेस्क राखेर यतिधेरैको स्वास्थ्य परीक्षण नगरिएको भए अवस्था निकै जटिल पनि बन्न सक्ने थियो, तर भारतबाट आउने अधिकांशको स्वास्थ्य जाँच गरिएकाले सङ्क्रमण फैलिने जोखिम निकै कम भएको हो ।

भारतको गुजरातबाट फर्किएका सुर्खेत रामघाटका दीपक थापाले जमुनाहा नाकामा सबैको ज्वरो परीक्षण गरिएको बताए । उनले आफ्नो समूहमा रहेका कसैलाई पनि ज्वरो र रुघाखोकी भएको नपाइएकाले सहज रूपमा भित्रिन दिइएको बताए ।