समाचार

कोरोनापछि बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै

बाँके । मौसम परिवर्तन भइरहेकै बेलामा बाँके जिल्लामा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएका छन् । केही महिना पहिलेसम्म कहर मच्चाएको कोरोनाको सङ्क्रमण निकै घट्दै गए पनि अहिले आएर जिल्लामा भाइरल ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामी बढ्दै गएको अस्पतालहरूले जनाएका छन् ।

अहिले गर्मी समाप्त भएर चिसो मौसम आउने समय रहेकोले ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामीको सङ्ख्या अत्यधिक बढेको भेरी अस्पतालका प्रवक्ता डा.सङ्केतकुमार रिसालले बताए । उनले अहिले कोरोनाका बिरामी निकै कम भइसकेको जनाउँदै तर भाइरल ज्वरोका बिरामी भने धेरै बढेको बताए ।

अहिले भेरी अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने बिरामी ठूलो सङ्ख्यामा आउने गरेका छन् । यसैगरी नेपालगन्ज र कोहलपुरका निजी अस्पतालहरूमा पनि हाल यस्ता बिरामी आउने क्रम बढेको अस्पतालहरूले जनाएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. आसिम किदवाइले अहिले दैनिक ५० देखि १०० को हाराहारीमा ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामी शिक्षण अस्पतालमा आउने गरेको बताए । उनले तीमध्ये अधिकांशलाई टाइफाइड देखिने गरेको हुँदा कोभिडको जोखिमसँगै अन्य जोखिम पनि रहेकोले सचेतना अपनाउन आग्रह गरे ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिका र वृद्धवृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेपछि घरघरमा बिरामीको सङ्ख्या बढ्दै गएको छ भने अस्पताल र क्लिनिकहरूमा समेत ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको छ । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपुर्याउँदा भाइरल ज्वरोको बिरामी बढेको चिकित्सकहरूको भनाइ छ । भाइरल ज्वरो ३ देखि ५ दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल निको हुन ७ दिन पनि लाग्ने गरेको छ ।