समाचार

नेपालगन्जका सडक र चोकमा छाडा चौपायाले सास्ती

बाँके । पश्चिम नेपालकै सबैभन्दा ठूलो सहर नेपालगन्जका विभिन्न प्रमुख सडक र चोकमा अहिले फेरि घोडा, खच्चर, गाईलगायत छाडा चौपायाको बिगबिगी बढ्न थालेको छ । सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चर र गाईले कब्जा गरेपछि सडक दुर्घटना बढ्नुका साथै आवागमन गर्ने सर्वसाधारणलाई समेत समस्या भइरहेको छ ।

उपमहानगरपालिकाले समस्याप्रति ध्यान नदिएकै कारण यो समस्या दोहोरिएको र बजारका सडकमा छाडा चौपाया बढेको गुनासो स्थानीयको छ । सहरको मुख्य चोक त्रिभुवन चोकमा सबैभन्दा बढी छाडा घोडा र खच्चरहरू जम्मा हुने गर्दा अहिले त्यहाँ दिनदिनै दुर्घटना हुने गरेको र आवागमनमा पटकपटक अवरोध समेत हुने गरेको स्थानीय सम्पन्न पाण्डेले बताए ।

उनले घोडा खच्चर पाल्नेहरूले दिनभरि आफ्ना चौपायालाई बजारमा छोड्ने गर्दा पटकपटक यस्ता समस्या आउने गरेकोमा उनीहरूलाई कारबाही हुनुपर्ने माग गरे । पशुचौपाया पालकहरूले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा चौपायाको बिगबिगी भएर गोबरमूत्रबाट दुर्गन्ध र फोहोर बढ्ने तथा दुर्घटना निम्तिने गरेको पनि पाण्डेले बताए ।

बजारका पसल र घरका अगाडि ती जनावरले गोब्य्राएर फोहोर गर्दा व्यवसायमा पनि असर परेको त्रिभुवन चोकका व्यवसायी इमरान जसगढले बताए । उनले तत्काल यो समस्या समाधान गर्न उपमहानगरपालिकासँग आग्रह पनि गरे । नेपालगन्ज उपमहानगरपालिकाको संयोजनमा हुने विभिन्न सेमिनार, बैठक र छलफलमा छाडा पशुचौपायाको व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने माग उठ्ने गरेको छ ।

अहिलेसम्म पनि मागका विषयमा उमनपाले ध्यान नदिँदा अहिले पनि जताततै चौपायाको हुल देखिँदै आएको छ । छाडा चौपाया राख्नका लागि कान्जीहाउस भए पनि त्यसको उचित प्रयोग हुनसकेको छैन । छाडा पशु चौपाया व्यवस्थापनका लागि ठूलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने माग पटकपटक गरिए पनि त्यसतर्फ समेत ध्यान नदिइएको स्थानीयको गुनासो छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले महानगरले निरन्तर यो समस्या समाधानका लागि काम गर्दै आएको जनाउँदै तर पाल्नेहरूको अटेरी र बेवास्ताले समस्या समाधान हुन नसकेको बताइन् । उनले छाडा चौपायालाई कान्जीहाउसमा पुर्याउने काम पनि निरन्तर जारी रहेको बताइन् ।