नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा

फाइल तस्वीर

सर्लाही । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी छ । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सो सबस्टेशन बनाइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको करिब रु.४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५÷०७६ देखि यसको निर्माण सुरु भएको हो । सबस्टेसनका प्रमुख निरन्जन साहले लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको भए पनि चालु आव भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए ।

अबको एक महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको उनले बताए । सबस्टेसन निर्माण भएपछि हरिपुर, मलङ्गवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युतसम्बन्धी समस्या समाधान हुने प्रमुख साहले जानकारी दिए । जिल्लाका तीन सबस्टेसन ३३/११ केभिएका मात्र रहेका कारण विद्युतसम्बन्धी समस्या आएको थियो ।

अब यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिइएको छ । हाल जिल्लामा रहेका तीनवटा सबस्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउनु परेको छ । नवलपुर सबस्टेसन निर्माण भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ ।

बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताए । सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङ्गल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई दृष्टिगत गर्दै जिल्लामै सबस्टेसन निर्माण भइरहेको कार्यालय प्रमुख साहले बताए ।

उनका अनुसार निर्माण सम्पन्न भएपछि ढल्केवर ग्रिड शाखाबाट सेवा सञ्चालन हुने छ साथै हरिपुर र मलङ्गवा सबस्टेसनलाई नलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गरिनेछ । आव २०७८/०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी पावाटेक वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।

जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याउनका लागि सबस्टेसन निर्माणको काम गरिएको र अबको करिब एक महिनमा निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि एच.पी लामाले बताए । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ ।

नवलपुरमा रहेको सबस्टेसनमा १३२/३३ को ६३ एमभिए र ३३/११ को १६ एमभिएका गरी दुईवटा ट्रान्सफर्मरबाट जिल्लाको विद्युत् आपूर्ति परिपूर्ति हुने निर्माण कम्पनीले जनाएको छ । अहिले जिल्लामा ३३/११ केभिएका क्षमता रहेका सबस्टेसन छन् । अहिले जिल्लाको विद्युत् भार थेग्न नसकिरहेको सबस्टेसनका प्रमुख साहले बताए ।

जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेसन निर्माणको काम भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।