अफगानिस्तानमा दाउरा बेच्न प्रतिबन्ध

अफगानिस्तान । अफगानिस्तानमा तालिबानको इस्लामिक अमीरात (इमिरेट) सरकारले जंगल फाँड्न र दाउरा बेच्न प्रतिबन्ध लगाएको छ । तालिबानका शीर्ष प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारले दाउरा व्यापारलाई गैरकानुनी घोषणा गरेको जानकारी दिए । कसैले यो नियम उल्लंघन गरे कठोर सजाय दिइने पनि उनले स्पष्ट पारे ।

मुजाहिदले ट्वीट गर्दै जंगल फाँड्नु, दाउरा बेच्नु र यसको कारोबार गर्नु अपराध भएकाले सुरक्षाकर्मी र अधिकारीले रोक्नुपर्ने माग गरेका छन् । अफगानिस्तानको कुल क्षेत्रफलको ५ प्रतिशत भूभागमा मात्र जंगल छ । अधिकांश वन देशको पूर्वी पहाडी क्षेत्र हिन्दुकुश क्षेत्रमा रहेको छ । यो जंगल पश्तुन रहेको क्षेत्रमा छ ।

अफगानिस्तानमा खाना बनाउन ग्याँस र विद्युत् प्रयोग कमै गरिन्छ । अत्यधिक अफगानी दाउरा र कोइलामा खाना पकाउँछन् । विदेशी प्रतिबन्धका कारण ग्याँस र मट्टीतेलको अभाव भएका वेला गरिएको यो प्रतिबन्धले समस्या बढ्ने अनुमान छ । तालिबानले पश्तुनलाई खुशी पार्न यो नियम ल्याएको बताइएको छ । उनीहरूले जंगल बचाउनुपर्ने माग गर्दै आएका थिए । –एजेन्सीको सहयोगमा