अनसनरत रुबी खान अस्पताल भर्ना

रुबीले भनिन्, ‘आन्दोलनकारीलाई झुट्टा मुद्दामा नफसाइयोस्’

काठमाडौं । नौं दिनदेखि आमरण अनसनरत रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । काठमाडौंस्थित माइतीघर मण्डलामा अनसनरत उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको हो ।

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बुझ्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए । काडमाडौं आएलगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा पक्राउ गरेको थियो ।

तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन् । सास फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनले अस्पताल लगिएको छ । अस्पताल जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुबीले अहिले पनि आन्दोलनरत आफूहरुको परिवारलाई धम्की आइरहेको बताइन् ।

उनले भनिन्, ‘आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी होस् र झुटा मुद्दामा नफसाइयोस् ।’ रुबीले दुबै घटनाको यथाशीघ्र छानबिन गर्न तथा अभियुक्तहरुलाई संरक्षण गरेको आरोप लागेका बाँकेका एसपी र डीएसपीलाई विभागीय कारबाही गर्न मागसमेत गरेकी छन् ।